बा म हजुरको किरिया गर्दिनँ

Breaknlinks
Breaknlinks

बा'ले भन्नु भयो,‘मैले फेरेको सासले तँलाई कति दिन पुग्छ ? फोक्सो मेरो बिग्रेको हो र सास नलिने चै तेरो नली ?

ती शून्यताका दिनहरु थिए। शून्यता आफैंमा पूर्णता थिएन, जसरी फिजिक्स र आध्यात्मका अध्येता सहजै प्रस्ट्याउँथे। जसै मैले नभोगेको ज्वारभाटा मेरो आँखाको छेउबाट बगेको समुद्रले पत्तो नपाएको होस्। बा अस्पतालको २०८ नम्बर बेडमा उत्तानो पल्टिरहनुभएको थियो। म छेउमा टुलुटुलु हेरिरहेको थिएँ। गर्धन झुकाई स्टुलमा बसेर बा'को कानैनेरी सास पुग्ने गरी मुख्यौटो लगाई बसेको म। ५८ वर्ष पूरा हुनै लागेका बा'लाई भीरबाट आफैं लडेकादेखि लडाइएका सम्मका घटनाहरु आँखा सामु नाङ्गो नाच देखाएर गए।

‘तँलाई जन्माउँदा म २५ वर्षको थिएँ। र, अहिले ५८ मा छु। बितेका ३३ वर्षहरू न त एकै प्रहरमा नाचे, न एकै प्रहारमा नचाइए। जसै रावणले शिवस्तुति वाचन गरे त्यसमा आफैंले ताण्डब पनि गरे। शिवजीले के गरे के गरेनन्, यो फरक कुरा हो। बा'को व्याख्या उहाँका सबैखाले भूमिका र ती सबै जायज नाजायज मौनताहरुप्रति मुखौटो लगाएर हाँसेकाहरुप्रति थियो। जसले शनै–शनै आफैंलाई दुत्कारे।

र, दुत्कारेनन् भने पनि बा'लाई कहिल्यै महसुस भएन कि उहाँको प्रतिक अगाडि कुनै क्षण पनि ती स्वघोषित स्वाभिमानधारीहरु खडा हुन पाउनेछन्।

जेठो भनेर जन्मिएपछिका जति क्रिया उपक्रियाहरुमा मैले प्रतिक्रिया जनाएँ, त्यति त मलाई  सहज थिएन नै र बा'लाई सह्य पनि थिएन। अरूहरूका निम्ति म पण्डितको छोरो भए पनि बा'का निम्ति सधैँ नास्तिक भएँ र मैले बा'का जीवनका कैयौँ दोसाधहरूमा झोक्किएर भनेको छु,‘बा म हजुरको किरिया गर्ने हैन्।’

जब बा'ले माघको ठिहिर्‍याउने ठण्डीमा अस्पतालको शैय्याको सम्मुखमा रहेको झ्याल बाहिर चियाएर भन्नुभयो,‘यो भदौमा पनि कस्तो जाडो भएको ?’

मैले रक्तसञ्चार कम हुँदै गएर लोती बनेका ती हातको गहुँगोरो छाला सुम्सुम्याउँदै भनेँ,‘बा यो माघ हो, भदौ होइन’

विस्मित तर संसयपूर्वक बा'ले भन्नुभयो,‘खै पात्रो र चस्मा ल्या त ?’। व्यग्रता प्रस्ट थियो र खुम्चिएको निधारले पर हेर्दै गरेको जस्तो देखिन्थ्यो।

‘यो अवस्थामा पनि के हेर्नु परेको त्यो पात्रोमा ? अहिले हुँदैन’ मैले इन्कार गरेँ।

‘मेरो अन्तिम अवस्था हो, यो। थाहा छैन्, अर्को जन्ममा तेरो र मेरो के नाता हुनेछ। र, यो पनि जान्दिनँ कि, मैले चिन्छु कि चिन्दिनँ। तर, पनि भेट, एकाकार र मुलाकात अवश्य हुनेछ चिन्ता नगर्नू’ बा'ले केही सम्झेजस्तो गरी सुनाउनुभयो। सबै जनाको बारेमा कुरा गरे पनि आफ्ना नाजायज पीडा कहिल्यै सुनाउनुभएन। न त सुनाउनुभयो ती जायज अप्ठेराहरु नै।

एकमहिने अस्पताल बसाईको कुनै एकदिन अस्पतालबाट निस्केपछि म सरासर गौशाला पुगेँ। उदेश्य विहीनझैँ चक्रपथ घुम्ने गाडीभित्र छिरेँ। मेरो उदेश्यको चिन्ता कसैलाई किन होस् र निरुत्साहित नै देखिए पनि उत्साह भरिदिनुपर्ने सहजता पनि कहाँ उपलब्ध थियो र ? मैले आफ्नो चेतनालाई धुलिसात पारे पनि अथवा त्यो चेतनाको उचाई सगरमाथाझैँ उचो बनाए पनि लक्षणको अभावमा थिएँ, मात्र लत्रेको अनुहार र केही भावविशेषले।

कोही कहाँ दोषी करार हुन्छ र यहाँ ? न त कसैले सजाय दिने, न त दण्डित गर्ने। न आगमन सहज छ, यहाँ न विदाई नै। शून्यविहीनातालाई शून्य सम्झेर शून्यहिनातामा बसेको थिएँ। चर्को ध्वनि, अटेसमटेस र कोलाहलमा पनि मभित्र सन्नाटा छाएको थियो। भयानक बहुलापन र निस्काम अश्रुधारा एकाकार थिए। अबसादमाझैँ थिएँ, म। डेरा जाने मनै भएन र लागेँ घाटतिर। जहाँ कोही गल्दै थिएँ, कोही जल्दै थिए र कोही पोल्दै थिए। फेरि अर्को मनले सोचेँ, ‘म आज कोही मरेको तमाशा हेर्दै छु। भोलि यी सबैजना मेरा बा मरेको तमाशा हेर्ने छन्।

तँले गरेको पूण्य अथवा पाप तेरै जीवनकालमा नै फर्केर आउँछु, भनेर गिज्याइरहने कर्ममा विश्वास लागेर नै हो गलेर लखतरान म शिवताण्डव हेर्न र सुन्न पुगेँ, घाटपारि।

म के अर्थमा कुन क्रियाहरूमा संग्लग्न छु र यसको प्रभाव के छ भनेर सोच्ने स्थितिमा रहिनछु। सम्पूर्ण अतित र वर्तमान बिर्सिएको म भविष्य पनि सोचिरहेको थिइन। यो कस्तो चित्त र मनोदशा हो ? कुनै चिन्ताबिनाको मेरो दिमागले सारा ब्रह्माण्डको बोझ उठाइरहेको थियो। कसैको आर्तनादले नछोएको र कुनै अठ्ठाहसको छिद्रमा पनि घुसेर अवसाद मुक्त हुने लक्षण थिएन, ममा। कुन बेला सुरू भयो र कुन बेला अन्त्य ? कुन बेला कसले कसरी गाए, चित्कारे थाहा छैन। भीडले डोर्‍याएर जसै मलाई आरती नजिक पुर्‍याे। तातो अनुभव भयो र एउटा भावले समात्यो, यो के हुँदैछ ? मैले आरतीको आगोले तातेर रातो भएको भाडोको तिखो बिटमा पाखुरा डामेँ र प्रतिक्रिया पाएँ,‘म जिउँदै छु।’

शनै–शनै गल्दै गएका बा'को एउटा यात्रा तय थियो। यात्रा सुन्दर छ, अनेक छ तर गन्तव्य, थियो उही मृत्यु। लुग्लुग्याउने बाँसका टुप्पामा उक्लेर घाँस काट्न सिपालु बा'लाई एकदिन अञ्जानमै सोधेको थिएँ, बा,‘डर लाग्दैन ?’

‘‘डर भएर त थाहा हुन्छ, म जिउँदो छु भन्ने, नत्र त मुर्दाझैँ हो, जिन्दगी।’ बा’ले दार्शनिक जवाफ दिनुभएको थियो। म केही नबुझिकन नै मुस्कुराएको थिएँ।

माघ शुक्लपक्ष भीमाएकादशीको बिहानै बा'ले अन्तिम सास लिनुभयो। मेरो किशोर अवस्थामा भीमझैँ खन्चुवा, मोटा र बलवान हुनुहुन्थ्यो, बा। दुई घण्टाको यात्रा गरी जजमानको घरबाट असिनपसिन भएर घर पुग्ने बित्तिकै एक गाग्री चिसो पानी घुट्क्याउने बा'ले डाक्टरले देहत्याग भएको घोषणा गर्नुभन्दा एक घण्टा अगाडि आफ्नो जिन्दगीको अन्तिम घुट्को पानी पिउनुभयो।

किरिया खर्च नभएर किरियागोठमै अश्रुधारा बगाइरहेको जजमानलाई आफ्नै घरबाट सबै किरिया सामाग्री र पैसा लिएर किरिया गोठबाट उम्काइदिएर घर फर्किने, बा। तिनै बा'को अन्तिम आँसु आमाले आफ्नो हातले पुछिदिनुभयो र भित्तामा जोतिएका आँखाको ढकनी बन्द गरिदिनुभयो।

उसो त जिन्दगीका अन्तिम घडीहरूमा उहाँको योजनाझैँ थियो, देहात्याग तर प्रत्यासित पनि थिएन।

'मेरो आयु ५८ वर्षको हो र म वैशाख अथवा माघमा मर्छु। सबैलाई एकचोटी पर्छ र व्यहोर्नु पनि पर्छ। मैले कसैको ऋण खाएको छैन। मर्ने बेलामा धेरै ऋण लगाएर उपचार नगर्नू', माघको २ गते बा'ले सम्झाउनुभयो। ३ गते छटपटी बढ्दैजाँदा बा'ले भन्दै हुनुहुन्थ्यो,'एकैछिनमा सबै ठिक हुन्छ भनेर। तर, मैले बा'लाई अस्पताल लगेर गएँ। त्यसपछि कहिल्यै केही ठिक भएन। बा कहिल्यै फर्किनुभएन। ५८ वर्षको वैशाखमा जोगिएका बा'लाई माघले छोडेन।

'निको भएर आएछु भने फागुनमा भेटौँला नभए त खै ?' आँखाको टिलपिले आँसु पुछ्दै बा'ले पुस ६ गते काठमाडौंमा उपचारका लागि निस्किदा भन्नुभएको कुरा सम्झिएँ, बा'का समकक्षीले। मलाई अघि राखेर खुब रोए उहाँका दुई/चार साथी, दाजुबहिनी र भतिजाहरु।

ती स्वघोषित स्वाभिमानधारीहरु पनि आए, किरियापुत्री बसेको बेला। जसै बा'को दृढता थियो ठिक उसैगरी किन आए थाहा भएन तर जसै आए, बसुञ्जेल आँखा झुकाएर बसे र १० मिनेटपछि उठेर हिँडे।

‘बा म हजुरकाे किरिया गर्दिनँ, भन्ने म उहाँको अगाडि जहिल्यै नास्तिकझैँ देखिएँ। उहाँको अनुपस्थितिमा आस्तिक भए र सम्झेँ बा यहींकहीं बसेर मलाई संग्कल्प गराउँदै हुनुहुन्छ, जौं, तिलकुश पानी लिएर। हुनु र नहुनुको आभाषमा कति धेरै विरोधाभाष रहेछ, यहाँ। बा जिउँदै हुँदा मरिसक्नु भयो कि भनी  सोच्दा पनि किन आँशु झर्दैन ? बा अचेल हुनुहुन्न र पनि सोच्छु यही कहीँ हुनुहुन्छ तर पनि भक्कानिन्छ, विह्वल मन। मौन छ शक्ति तर डोर्‍याउँदै छ अनुपस्थितताको कोलाहलमा, हरेक दिन र साँझहरुमा। जब सुनिदैनन् वरिपरि संस्कृत श्लोकहरु। त्यो गन्ध र पदचापहरु।

माया प्रेमका गीतहरुमा, हरेक बिहानी स्पर्शहरूमा, पूर्वजहरूका कथनहरूमा र मैले समाउने हरेक धार्मिक पुस्तकमा बा'को गन्ध छ, पदचापहरू छन् र बाँकी छन्, केवल छिन्नभिन्न अभावहरू।

प्रकाशित मिति: : 2022-03-13 18:28:00

प्रतिकृया दिनुहोस्