गण्डकीका कानुनमन्त्री थापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर 

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धि परीक्षण सम्पन्न भएको हो। कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन्।

मन्त्री थापाले गण्डकी प्रदेशसभा सदस्य (सांसद) हुँदादेखि नै आफूले पाउने तलब, भत्तावापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन्। मन्त्री भएपश्चात पनि सो क्रम जारी छ।

कार्यक्रमलाई उदघाटन गर्दै मन्त्री थापाले आफू नागरिकको समस्यामा सधैँ साथमा रहेको बताए। नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने सवालमा आफू सधैँ प्रतिबद्ध रहेको भनाई उनको छ।

‘नागरिकको सबै भन्दा महत्वपूर्ण आधारभूत आवश्यकत्ता भनेकै स्वास्थ्य हो। मानिस स्वस्थ रहे अन्य क्रियाकलापमा अगाडि बढ्न सक्छ। समाज विकासको आधार हो, स्वास्थ्य क्षेत्र। आज आफूले प्रदेश सरकारबाट पाउने तलब, भत्तावापतको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउँदा खुशी लागेको छ,’ मन्त्री थापाले भने।

प्रकाशित मिति: : 2022-03-13 17:41:00

प्रतिकृया दिनुहोस्