युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छ : पुटिन

File Photo
File Photo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन्।

मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे।

उनले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताए। ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु।’

यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो। युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन।

रुसी हमलामा हजारौंको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशहरुमा शरण लिएका छन्। युक्रेन संकटका कारण रुस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ।

युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रुसी पक्ष चकित परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरुले दाबी गरेका छन्। तर, रुसले भने यसलाई अस्वीकार गर्दै आएको छ। बरु प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन्।

‘सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो। यसले विकासमा सहयोग गर्नुका साथै ठूलो उपलब्धी प्रदान गरेको थियो,’ पुटिनले भने। एजेन्सी

प्रकाशित मिति: : 2022-03-12 11:29:00

प्रतिकृया दिनुहोस्