पल शाह-गायिका प्रकरण: नाम र पैसाको पछाडि लाग्दा गुमेको ‘मानवीयता’

Breaknlinks
Breaknlinks

गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ। म्युजिक भिडियोमा चर्चित शाहविरुद्ध जाहेरी परेकाले पनि यो विषयलाई चासोका साथ हेरिएको हो।

नेपालमा रसिया र युक्रेनको युद्धको चर्चालाई पनि यो प्रकरणले छायाँमा पारेको छ। यद्यपि नेपालमा फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा ‘न्यायाधीश’ बन्नेहरूको कमी छैन। बाहिर आएका केही अडियोसँगै सुनिएका कथाको भरमा सामाजिक सञ्जालमा फैसला गर्नेहरू दिन प्रतिदिन बढ्दो छन्।

नाबालिग गायिकाले जबर्जस्ती करणी कसुरमा उजुरी दिएपछि अभिनेता शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन्। उनलाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ।

यो प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन्। तर, कानुनी दायरामा पुगेको विषयमा केही कथित सामाजिक अभियन्ता र पलका फ्यानहरू भने जथाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्ने अभियानमा लागेका छन्। आफू प्रहरी नियन्त्रणमा पर्नुअघि पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिक ‘साइबर बुलिङ’ को सिकार बनेकी थिइन्।

जाहेरीको गम्भीरता नबुझ्नेहरू

पलले गत आइतबार तनहुँ पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरे। उनले त्यसअघि नै आफूले आत्मसमर्पण गर्ने जानकारी भिडियोमार्फत गराइसकेका थिए। त्यसैले त्यहाँ युट्युबरसँगै कथित सामाजिक अभियन्ता नहुने कुरै भएन।

आइतबार प्रहरीले पललाई न्यायिक हिरासतमा लिएसँगै सोमबारदेखि त्यहाँ भीडभाड नै भयो। क्यामेरा बोकेर प्रहरी कार्यालयको गेट अगाडि उभिनु, पललाई भेट्न आउने-जानेहरूको बयान लिनु र पलको समर्थनमा माहोल बनाउनुजस्ता काम सोमबारदेखि नियमित हुँदै आएका छन्।

यतिमात्र होइन्, त्यहाँ नाराबाजीसमेत भयो। पल शाहलाई रिहा गर, दुर्गेश थापा मुर्दावादलगायतका नारा लाग्दै गर्दा त्यहाँ नाबालिग पनि थिए। जसले कथित अभियन्ताले लगाउने नारा दोहोर्याउने गर्थे।

नाबालिकालाई बलात्कार गरेको आरोपमा न्यायिक हिरासतमा रहेका शाहको पक्षमा नारा लगाउने कार्य त्यहाँ मात्र नभई काठमाडौंका केही स्थानमा समेत भए। अहिले युट्युब र टिकटक हेर्ने हो भने यी र यस्तै भिडियो छ्यापछ्याप्ती पाइन्छ। यी भिडियोहरू ट्रेन्डिङमा समेत छन्।

एक नाबालिगले आफूलाई अन्याय परेको भन्दै कानुनमार्फत न्यायका लागि अगाडि बढ्दा पनि यस्ता भिडले उनलाई लान्छना लगाइरहेका छन्। बालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ। विशेषतः फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन।

सामाजिक सञ्जालमा चरित्र हत्या 

आफूलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहेको छ। खासगरी टिकटकमा उनलाई लाञ्छित गरी अत्यन्तै आपत्तिजनक भिडिओहरू पोस्ट भइरहेका छन्।

पीडितका लागि होइन, पीडकका लागि न्यायको माग भइरहेको छ। विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन्। मीटू र जिरो टोलरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायविरुद्ध आवाज उठाउने केही अभिनेत्रीहरूसमेत यी नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ’मा मौन छन्।

पलविरूद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि उनले प्रहरीबाट लुक्दै आफूलाई चारजना व्यक्तिहरू दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका थिए। त्यसपछि सुरु भयो ती नाबालिकामाथिको साइबर बुलिङ। भन्न र सुन्न नसकिने प्रतिक्रियाले ती नाबालिकाको मनस्थिति कस्तो भयो होला ? यो कसैले सोचेका छैनन्।

कथित अभियन्ता भनिने पुन्य गौतमलगायतका समूहलाई आफू हिट हुनुछ भने युट्युबरलाई ‘डलर’ कमाउनु छ। त्यसैले त पलले आत्मसमर्पण गरेको समाचार बाहिरिनेबित्तिकै कथित अभियन्तासँगै युट्युबर रातारात त्यहाँ पुगेका छन्।

उनीहरूले न जाहेरीको गम्भीरता बुझेका छन्, न त अपराधको। उनीहरूले बुझेका छन् त, भ्युजको भाषा। जसलाई भ्युज प्राप्त हुन्छ, जहाँ दर्शकको भिड हुन्छ, युट्युबर र पुन्य गौतम जस्ता अभियन्ता पुगिसकेको हुन्छन्।

एउटी नाबालिकाले हिम्मत गरेर आफूविरुद्ध भएको अन्यायको निन्दा गर्दै न्यायका लागि कानुनी बाटो अपनाउँदा उनले सामाजिक सञ्जालमा अपराध गरेझैँ फैसला सुन्नु परिरहेको छ। यस्ता घटनामा ती नाबालिका मात्र पीडित हुँदिनन्, उनीझैँ दबिएर रहेको आवाजलाई बाहिर ल्याउने सोच बनाएका यतिकै हराउँछन्।

आज ती नाबालिकालाई भइरहेको ‘साइवर बुलिङ’ देख्दै गर्दा भोलि कुनै नाबालिग वा बालिगले आफूविरुद्ध भएका यस्ता गम्भीर प्रकृतिका अपराधको बारेमा बोल्दा न्यायका लागि अगाडि आउला ? यी र यस्तै धेरै गम्भीर प्रश्नहरू उब्जिएका छन्।

परिवारलाई पार्ने असर

सामाजिक सञ्जाल चलाउनु हुन्छ भने तपाईंलाई भन्नै पर्दैन, केही दिनयताको ट्रेन्डिङ विषयको बारेमा। नाबालिकाले अभिनेता शाहले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि यो विषय अहिले ‘टक इस्यु’ बनिरहेको छ। केही समय अगाडिसम्म एमसीसीको बारेमा धारणा व्यक्त गर्नेहरू अहिले आफ्नो बुझाई र फैसला यसै प्रकरणमा सुनाउन व्यस्त छन्।

चिया पसल होस् या शैलुन वा जमघट हुने कुनै वातावरणमा यो विषयले स्थान पाउने गरेकै छ। यस्ता घटनामा पीडितको पहिचान गोप्य राखिन्छ। किनकि त्यसपछिको समयमा उसले यस्तै समाजमा आफूलाई राख्नुपर्ने हुन्छ। तर, यहाँ नाम अगाडि ल्याउन होडबाजी छ। नाबालिकाले दिएको जाहेरीमा काल्पनिक नाम प्रयोग भए पनि यहाँ पीडितको नाम खुलाउनेको कुनै कमी छैन। विधागत पत्रकारहरूले समाचारसँगै सामाजिक सञ्जालमा लेख्ने स्टाटसमा नाबालिकाको नाम देखिन्छ।

हाम्रो कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबर्जस्ती करणी (बलात्कार) गरेको मान्छ। पलले जब आफूविरूद्ध षड्यन्त्र भएको भन्दै केही अडियोसहित सार्वजनिक गरे। त्यसपछि उनका समर्थकहरू पलमाथिको आरोप ‘डाइभर्ट’ गर्न र अनुसन्धानलाई प्रभाव पार्न लागिपरेका छन्। दमौलीमा भेला भएका यी कथित अभियन्ता र केही युट्युबरहरू यसलाई आफ्नो प्लेटफर्ममा ल्याउन कत्ति पनि ढिला गर्दैनन्। कारण पाइने भ्युज र त्यसले जेनरेट गर्ने डलर नै हो।

तर, यस्ता घटनामा नाम मुछिँदा भोलि समाजमा भोग्नुपर्ने पीडाको ख्याल कसैलाई छैन। त्यसो त यति सोच्ने चेतना हुँदो हो त उनीहरूले यस प्रकरणलाई यसरी सामाजिक सञ्जालमा ल्याउने नै थिएनन्। जाहेरीमा आरोपी भनिएका पल न्यायिक हिरासतमा छन् भने पीडित नाबालिका बाहिर। यी दुइसँगै यिनको परिवार छ।

यिनीहरूले मिडिया र त्यसमा आउने गसिप साथै युट्युबमा बन्ने भिडियोले उनका परिवारमा कस्तोे प्रभाव परिरहेको होला ? यसतर्फ कसैले सोचेका छैनन्। पीडित र पीडक भनिएका परिवार र आफन्तहरूले युट्युब र टिकटकमा आउने भिडियोहरूसँगै सामाजिक सञ्जालमा हुने भद्दा टिप्पणीका कारण के कस्ता समस्या भोगिरहेका छन् ? यसतर्फ भिडियो मेकरले सोचेका छैनन्। न्युज कारखाना

(प्रस्तुत आलेख लेखकको व्यक्तिगत विचार हो। यसमा समाचार एजेन्सीको कुनै सम्बन्ध छैन)

प्रकाशित मिति: : 2022-03-03 16:00:00

प्रतिकृया दिनुहोस्