अग्रज कलाकार जयनन्द लामाको निधन

File Photo
File Photo

अग्रज कलाकार जयनन्द लामाको निधन भएको छ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। उनको शव खुट्टा गाडीमा र टाउको घोप्टो परेको अवस्थामा घरकै गेटमा भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थल हेर्दा गाडीबाट ओर्लने क्रममा लडेर निधन भएको जस्तो देखिए पनि यसै भन्न सकिने अवस्था छैन। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। 

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गीति नाटकमा गरी दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामा पछिल्लो समयमा एक कुशल कलाकारका रूपमा लोकप्रिय थिए। उनी डार्क कमेडीका विशिष्ट कलाकार थिए।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमार्फत् अभिनय यात्रा सुरू गरेका थिए। उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। उनले केही चलचित्रको निर्देशन पनि गरेका थिए।  

उनी लोकसंगीत क्षेत्रका एक अध्यता र अनुसन्धानकर्ता पनि थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँ–गाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्।

उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

प्रकाशित मिति: : 2022-02-23 08:27:00

प्रतिकृया दिनुहोस्