भारतीय स्वतन्त्र पत्रकार रवीश कुमारले बाेलिरहने शब्द हाे, ‘गोदी मिडिया’। यी मिडिया भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबाट परिचालित छन्। त्यसाे त टेलिभिजन पत्रकारितामा गोदी मिडियाको प्रभाव बढ्दो छ। तथ्य र तर्कमा हाेइन गाेदी मिडिया आरएसएस–भाजपा–माेदीकाे मुखपत्र हुन्। हिन्दू राष्ट्रवादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र भाजपाले 'हिन्दूत्व'काे नाममा भारतभर घृणा फैलाइरहँदा 'गाेदी मिडिया' सँगैसँगै दाैडिरहेका छन्।
०००
अयोध्यामा कम्युनिष्ट! यो शीर्षक सुनेर मोदी प्रचारक र गाेदी पत्रकार रिसले चुर हुन्छन्। समर्थकहरू आफ्नै मुख कुच्याउन थाल्छन्। ताजतक, जीन्यूज, टाइम्स नाउ, रिपब्लिक टीवी, इन्दिया टुडे, एबीपी न्यूज़, सुदर्शन न्यूज़, सीएनएन-न्यूज़ १८ जस्ता मिडियाहरू अज्ञानी साबित गर्न तम्सिन्छन्। गोदी अर्थात् माेदी मिडियाका पत्रकार मात्रै कहाँ हो र, कहिलेकाहि त शीर्षकले आम–मानिसलाई पनि अचमित पार्न सक्छ।
०००
रामजन्मभूमि अयोध्या शहरलाई प्राचीन कालमा कौशल देश भनिन्थ्यो। याे हिन्दू राजनीतिक कार्यकर्ताहरूकाे ‘इपिसेन्टर’ मानिन्छ। तर, यहाँ वामपन्थीहरू कसरी र कहाँबाट आइपुगे? चासाे हुने नै भाे। आरएसएसकाे चर्को आलोचना खेपिरहेका कम्युनिष्ट नेता पनि अयोध्याबाट उम्मेदवार बनेका छन्। यी वामपन्थी नेताले आजकल खूब् प्रचार पाएका छन्। त्योपनि बिना लगानी, देशैभर।
रामजन्मभूमि अयोध्यामा भारतीय कम्युनिष्ट पार्टीका नेता सूर्यकान्त पाण्डे चुनावी मैदानमा छन्। उनी हँसिया–हथौडाको प्रचार गर्दै टोल–टोलमा छिरेका छन्, ताकि अयोध्याको अन्य परम्परा पनि जीवित रहोस्। तर, अहिले पाण्डेको प्रचार ज्यादै भएपनि चुनाव चाहिँ अघिल्लोपल्ट नै लडिसकेका हुन्।
सन् २०१७ को निर्वाचनमा २ हजार ५ सय मत प्राप्त गरेर धरौटी गुमाएका उनी फेरि यहिक्षेत्रबाट वामपन्थी जोशका साथ जनतामाझ उत्रिएका छन्। त्यसो त हिन्दूत्वको राजधानी अयोध्यामा निर्वाचन लडेर के क्रान्ति गर्न चाहन्छन्? उनीमाथि प्रश्नको चाङ छ।
पाण्डे भन्छन्, ‘उदार हिन्दूवादीले कट्टर हिन्दूवादीसँग चुनाव लड्न सम्भव छैन। यस्तो अवस्थामा कम्युनिष्ट पार्टीले जनतालाई भविष्यमा आइपर्ने खतराबारे साम्प्रदायिक नाराविना सचेत गराउनैपर्छ। हामी चुनाव लडिरहेका छौं ताकि अयोध्याको एकतर्फी दृश्य बदलियोस्।’
उनी अयोध्या शहर भारतीय धर्मको प्रतीक मान्छन्। हिन्दु, बुद्ध, जैन, शिख र इस्लामलगायतकाे आस्थाकेन्द्र ठान्छन्। पाँच जैन तीर्थकरहरू पनि अयोध्यामै जन्मिएकाे बताइन्छ। ‘गुरु नानक देव यहाँ आए, यो गुरुद्वारा हो,’ उनी भन्छन्। अयोध्यामा नौगाजी बजार छ। यहाँ इब्राहिम शाहको चिहान छ। मानिसहरूले उनलाई मक्का खुर्दको रूपमा लिन्छन्।
भारतीय सर्वोच्च अदालतले गरेकाे बहुचर्चित राममन्दिर–बाबरी मस्जिदको फैसलाबारे उनका अनेककौं टप्पणी छन्। पाण्डे भन्छन्, ‘मन्दिर भत्काएर मस्जिद बनेको कुनै प्रमाण छैन। तर, मस्जिद भत्काउनेहरू दोषी छन्। अदालतको तर्फबाट फैसला रामजन्मभूमिको पक्षमा आयोजस्तो देखियाे बाबरी मस्जिदलाई पनि जग्गा दिने निर्णय भएको छ। यति स्पष्ट निर्णय हुँदाहुँदै भारतीय जनता पार्टीले यहाँका मुस्लिमलाई किन निशाना बनाइरहेको छ।’
०००
वास्तवमा आजको अयोध्यामा कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ। तर, कम्युनिष्टहरू यसक्षेत्रमा बेलाबेला सफल पनि भएका छन्। अयोध्याकै बाबुजी भनेर चिनिने मित्रसेन यादव एकताका कम्युनिष्ट पार्टीका शीर्ष नेता मानिन्थें।
उनी भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट सन् १९७७, १९८० र १९८५ मा तीनपटक निर्वाचित सांसद बने। एकपटक मिल्कीपुर र दुईपटक बिकापुरबाट। यसबाहेक उनी सन् १९९१ मा फैजाबाद जिल्लाबाट लोकसभामा निर्वाचित भएका थिए।
अन्ततः उनी वर्गसंघर्षको राजनीतिसँग डराएर र जातीय राजनीति गर्ने दलमा आवद्ध भएको कम्युनिष्ट नेताहरू बताउँछन्। यादव समाजवादी र बहुजन समाज पार्टीबाट एक–एकपटक लोकसभामा चुनिए। तर अयोध्या क्षेत्रमा कम्युनिष्ट पार्टी र क्रान्तिकारी आन्दोलनको इतिहास भारत स्वतन्त्र हुनुभन्दा अघिबाटै सुरु हुन्छ।
सन् १९६७ मा राजबली यादव आमसिन निर्वाचन क्षेत्रबाट सांसद बने। तर, उनीमाथि अनेकौं आरोप लग्दा सजाय पाएर जेल पुगे। पार्टीले यादवको सदस्यता खाइदियो। लगतै उनको ठाउँमा पण्डित शम्भुनाथ सिंह सांसद बने। उनी पनि कम्युनिष्ट नै थिए। राजबली यादव निकै लोकप्रिय र क्रान्तिकारी नेता मानिन्थें। र, आफूलाई भारतीय चर्चित माक्र्सवादी दाबी गर्ने आचार्य नरेन्द्र देवले पनि सन् १९४८ मा अयोध्याबाटै उपनिर्वाचन लडे। तर, भारतीय कांग्रेसले हरायो।
०००
हालका उम्मेदवार सूर्यकान्त पाण्डे र अयोध्यामा कम्युनिष्टको चर्चा गरौं– कम्युनिष्ट आन्दोलन खस्किनुको मुख्य कारण भाजपाले अयोध्यालाई हिन्दुत्वको प्रयोगशाला बनाउनु नै मानिन्छ। तर, यत्तिमात्रै होइन सन् १९९३ मा सपा र बसपाको गठबन्धन बनेपछि यहाँका दलितहरूले एकैपटक कम्युनिष्ट छाडे। त्यसको दुई वर्षपछि मित्र सेन यादव पनि समाजवादी पार्टीमा प्रवेश गरे।
अयोध्या राजनीति जातीय र धर्ममा घिनलाग्दो तरिकाले विभाजित छ। तर, सूर्यकान्त पाण्डे वर्गीय राजनीतिको जादु खोजिरहेका छन्। आन्दोलनको गौरवशाली अतीतबाट उत्साहित छन्, उनी। समाजकाे एकता भंगा गर्न लागिपरेका अतीवादीविरुद्ध लडिरहेका छन्। चुनावमा जीत–हार भइरहन्छ। तर, रामजन्मभूमि अयोध्यामा क्रान्तिकारी विचार बाँडिरहेका छन्।
र, मानिसहरू भन्छन्, ‘अयोध्यामा कम्युनिष्ट, अयोध्यामा सूर्यकान्त पाण्डे...! अरे, भाइ के भन्दैछौं!’