रुसमा अझै पनि दैनिक एक लाख ५० हजार नयाँ सङ्क्रमित

रुसमा कोरोनाभाइरसबाट अझै पनि दैनिक एक लाख ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन्। 

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा एक लाख ५२ हजार ३३७ जना नयाँ सङ्क्रमित भएका हुन्।

यो सङ्ख्या यही फेब्रअरी २ पछिकै सबैभन्दा कम हो। यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक करोड ५५ लाख २२ हजार ७५६ पुगेको छ।

त्यसैगरी रुसमा कोरोनाका कारण अहिलेसम्म तीन लाख ४६ हजार २३५ जनाको मृत्यु भएको छ। तीमध्ये ७३५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

सरकारी अधिकारीहरुका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म एक करोड २४ लाख ९२ हजार ७३२ जना सङ्क्रमणमुक्त भएका छन्।

पछिल्लो एक दिनमा भने एक लाख २७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका हुन्। रुसमा कोरोनाभाइरसबाट सबैभन्दा धेरै सङ्क्रमित मस्कोमा रहेका छन्।

राजधानी मस्कोमा पछिल्लो एक दिनमा चार हजार ९९७ जना नयाँ सङ्क्रमित भएका छन्। मस्कोमा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या भने २६ लाख ६९ हजार १८६ रहेको छ। 

प्रकाशित मिति: : 2022-02-21 21:28:00

प्रतिकृया दिनुहोस्