आदरणीय आन्दोलनकारीज्यूहरु,
सादर प्रणाम।
म यो भारी मनले केही शब्द कोर्दैछु। 'देशभक्ति'को आडमा तपाईंजस्ता धेरै मानिसहरूलाई (जो, आफ्नो देशको उन्नतिको लागि सेवा गरिरहेका छन्) चोट पुर्याउनु भएकाे छ। तर, तपाईं जस्तो नभई ती मानिसहरूले उद्देश्य पूरा गरिरहेका छन्।
आइतबारको 'शान्तिपूर्ण विरोध'मा घाइते भएका धेरै पत्रकार साथी र प्रहरीहरु मेरो कारणप्रति सहानुभूति राख्छन्, भन्नेमा म विश्वस्त छु। हामी सबै देशका सेवक मात्रै हौं। जो आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौं। हामीले कुनै पनि तरिका, आकार वा रूपले तपाईंलाई विरोध गर्न/बन्द गर्न आग्रह गरिरहेका छैनौं, मात्र हामी तपाईंलाई हिंसाको बाटो नअप्नाउनुस् र सहारा नलिन र दोहोरो झडपको बीचमा परेका मानिसहरूको बारेमा पनि सोच्न आग्रह गर्दैछौं।
तपाईंको 'शान्तिपूर्ण विरोध'को पहिलो करिब ५ घण्टाको अवधिमा मैले धेरै प्रहरी अधिकारीहरूलाई टाउकोबाट रगत बगेर अस्पताल डौडाइरहेको प्रत्यक्ष देखें। त्यही संख्यामा पत्रकारहरूलाई आपतकालीन कोठामा लगिरहेको थियो। हामी पत्रकारले तपाईंको सन्देश सम्प्रेशण गर्न पर्ने हो तर कलम, कागज र क्यामेरा समाउनै गाह्राे भएकाे छ। हामीमाथि ढुङ्गा, इँटा र लाठीको वर्षाले अत्यन्तै पीडा भइरहेकाे छ।
मेरा संगी पत्रकारहरू जस्तै, म दंगाको पहिलो घण्टामै घाइते हुन पुगें। तर, यो मामूली भन्दै आफ्नो जीवनको वेवास्ता गर्दै म आफ्नो कर्तव्यप्रति निष्ठावान रहिरहेर समचार संकलनमा तल्लिन भएँ, श्रव्यदृश्य र तस्विर कैद गरिरहें। अचानाक तपाईं आन्दोलोनकारीले वर्षाएको इँटाले मेरो देब्रे हातको औँला, देब्रे खुट्टामा ढुङ्गा, हातमा लठ्ठी र टाउकोमा अन्य धेरै भागमा निरन्तर प्रहार भेटिरहे। तर, म आफ्नो पेसामा निरन्तर लागिरहेँ।
त्यो दंगामा तपाईंले प्रहार गरेको प्रक्षेपणले मलाई पटक–पटक हानियो तर म निरन्तर लागिरहेँ, वस एकनासले। तपाईंका एकजना साथीले मलाई नदेखेसम्म एउटा इँटा उठाएर मलाई हान्दासम्म मैले आफ्नो काममा खटिरहें। त्यसपछि म आफ्नो जीवनरक्षाको लागि भागेँ र 'ढुंगा आयो' भनेर वेसरी चिच्याउँदै वरपरका सहकर्मी पत्रकार मित्रहरुलाई चोट नलागोस् भनेर खवारदारी गरें।
ज्यान जोगाउन भाग्दा भाग्दै म सडकमा छरिएका ढुंगाका टुक्रामा चिप्लिए र मेरो कम्मर मड्कियो र घाईते भएँ। मलाई अत्यन्त पीडा भयो। पत्रकार मित्रको सहयोगमा खञ्च्याङखञ्च्याङ गर्दै मुश्किलले त्यो रणमैदानबाट सुरक्षित ठाउँमा अवतरण गर्न सफल भएँ।
अहिले म मेरो ओछ्यानमा लम्पसार परिरहेको छु। घुँडाको ढिस्को, मड्किएको कम्मर र सुन्निएको औंलाले मेराे शरिर मुनिका भाग चलमल गर्न असहज महसुस गर्दै सकिनसकी मेरो निराशा र भावहरु तपाईं माझ पोख्दै छु।
तैपनि म तपाईंलाई विरोध बन्द गर्न आग्रह गरिरहेको छैन। तपाईंलाई जे सही लाग्छ त्यो गर्न सक्नुहुन्छ र यो तपाईंको अधिकार हो। आखिर हामी सबै स्वतन्त्र देशमा बस्छौं। तर, कृपया बर्बरता बाटो नलिनुस्, हिंसाको सहारा नगर्नुहोस्, जुन तरिका पट्टक्कै सही होइन। र, यदि तपाईंले मलाई तपाईंको हिंसा-मेलामा नआउन आग्रह गर्नुभयो भने म नम्रतापूर्वक नाई भन्नेछु, किनकि तपाईं जस्तै म पनि एक देशभक्त हुँ र यो देशका जनताको सेवा गरिरहेको छु।
धन्यवाद
उही तपाईंंद्वारा घाइते बनाइएको
एक अस्वस्थ पत्रकार