माओवादीले पश्चिम पहाडबाट सुरू गरेकाे सशस्त्र जनयुद्धसँगै हुर्किएँ, म।
पश्चिम नेपालका पहाडी भेगतिर माओवादीहरु हाबी हुँदै थिए। ती रोल्पा, रुकुम हुँदै हाम्रो गाउँसम्म आइपुगेका थिए। जोशिला, फुर्तिला। मर्न र मार्न तयार जनमुक्ति फौजी आँगनभरि बारुदको बिस्कुन लगाएर के कनाउँथे कुन्नि ? कोही बन्दुक सफा गर्थे। कोही सिलौटाले आँगनमा सुकाएको बारुद पिन्थे। के–के गरेका हुन् ? म बुझ्दिनथें।
नबुझे पनि उनीहरुको गतिविधि रमाइलो लाग्थ्यो। केटाकेटी हो, चकचक गर्न त मन लागि हाल्छ। नजिक पर्दापर्दै बन्दुकसम्मै पुग्थें। ‘चलाउनु हुँदैन’ बन्दुक छुन खोजेको मात्रै के हुन्थे, रोकिहाल्थे।
कहिलेकाहीँ बिस्कुट, चाउचाउ पनि दिन्थे। चकलेट पनि।
त्यति धेरै सम्झिन्नँ।
तर, तिनीहरु जे गर्थे। मलाई खुबै मन पथ्र्यो। टेस (स्वाद) मानिमानि म हेर्थे।
‘आमा तपाईं बस्नुस् हामी बनाउँछौं खाना’ आमा अँगेनामा आँगो सल्काउन थालेकी मात्र के हुन्थिन्, उनीहरुमध्ये एक जना अघि सरिहाल्थ्यो। हप्तादिन जति बसे भने घाँस काट्न पनि जान्थे। हाम्रो आँगनभरि। चुल्होमा। खेतबारी सबैतिर। हामी सँग भएको सबै चिजमा उनीहरु पुगेका थिए।
यसो गर्याैं बा। उसो गर्यो बा।
मेरो दाइ–दिदी थपिएका थिए। बा आमाका छोराछोरी।
युद्धका कुरा मात्रै हुन्थेन। कहिलेकाहीँ सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्थ्यो। रगत नै उमाल्ने जनवादी गीतहरु हामीले सानोमा खुबै मन परायौं।
जे होस्, ठूलो भएपछि माओवादीमा लागेर हिँड्नुपर्छ। केटाहरु कुरै कुरामा कहिलेकाहीँ भन्थे। जंगलबाट बन्दुकको आकार निकाल्न मिल्ने रुख काटेर ल्याउथ्यौं। त्यसैले युद्धका खेल पनि खेल्थ्यौं।
शान्ति सम्झौता हुनु अघिसम्म गाउँमा माओवादीहरुको राम्रै जमघट हुन्थ्यो। उनीहरु आउथे। जनताका छोराछोरी हौं, भन्थे। काममा पनि सघाउथे। ठूलो भएपछि क्रान्तिमा लाग्नुपर्छ भन्थे। हाम्रै घरमा कैयौं रात काट्थे।
त्यसपछि यो क्रम बिस्तारै पातलियो। हाम्रो घरमा सेल्टर बसेका केही मारिएको खबर पछि थाहा पाएर आमा निकै भावुक हुनुभएको थियो। जीवीत रहेकाहरुको पनि पत्तै भएन।
कहाँ गए होलान् ?
कहिलेकाहीँ प्रसंगवश उप्किँदा छापामारमध्येकी एक जना गर्भवती थिइन्। आमाले हाम्रैमा बस भन्नु पनि भएको थियो। पछिसम्म पनि उनले खाना खायो होला कि खाएन होला ? भन्दै सुर्ताउथिन् आमा।
त्यसपछि के–के राजनीतिक घटाक्रमको विकास भयो ?
त्यसको चासो हुने कुरो पनि भएन। पढाइतिरै ध्यान भयो।
जे सुकै होस्। नेपाल बन्द र चक्काजाम बाहेक युद्धकै कारण स्कुल बन्द हुनु परेको थिएन।
गाउँको पढाइ सकेर म सहर आएँ। सहरतिरै छु। गाउँ जाने मेसो वर्षदिनमा, त्यो पनि चाडबाडमा मात्रै जुर्छ। बरु, सहर नजिकका गाउँ जान सजिलो छ।
हालैको एक बिहान पोखरा नजिकको गाउँ सिक्लेस पुगेको थिएँ। म सहित केही साथीहरु बिहानै सिक्लेस जाने गाडी चढेका थियौं।
फराकिलो बन्दै गरेको कच्चि बाटो पार गर्दै सिक्लेस पुग्दा बिहानको ११ बजेको हुँदो हो। अक्करे भीरमा स्काभेटरले झण्डै एक घण्टासम्म रोक्यो। बस अघि बढ्न नसकेपछि हामी केही समय पैदल हिँडेर सिक्लेस पुग्यौं।
चिसो बिहानमा नाकमुख छोपनी गरी भिरेको गलबन्दी र ज्याकेट पैदल हिँड्दा भारी हुँदै थिए। भोक र तिर्खाले आलसतालस हुँदै हामी सिक्लेस पुग्यौं।
तपाईंलाई थाहै छ।
सिक्लेस गुरुङ गाउँ हो। सम्भवत सबैभन्दा धेरै जनसंख्या भएको गुरुङ गाउँ।
‘यहाँहरुलाई सिक्लेसमा स्वागत छ’
तपाईंहरुलाई स्वागत गर्न आँतुर सिक्लेसको वारीपट्टीको गेटमा ठूलो अक्षरमा लेखिएको छ। तपाईं पढेर मुस्कुराउनु हुनेछ। फोटो खिच्नु हुनेछ। अब अघि बढौं।
गाडीबाट ओर्लिनेबित्तिकै तपाईं आँखा यसै हतारिन्छन्। अनि, औलाहरु क्यामेरा थिच्न सलबलाइहाल्छन् ? सबैभन्दा पहिला के खिँचु ? क्लिक ... क्लिक...।
सिक्लेसका हरेक चिजलाई तपाईंलाई लोभ्याउनेछ।
सिक्लेस छिरेपछि सबैन्दा पहिला अन्नपूर्ण संरक्षित क्षेत्र (एक्याप) र म्युजियमको भवन देखिनेछ। मास्तिरपट्टी चिटिक्का घरहरु। म्युजियम नजिकै स्मारक छ।
यो हो ‘शान्ति स्मारक’
सशस्त्र जनयुद्धलाई ब्रेक लगाएर माओवादी र सरकारबीच भएको शान्ति सम्झौता, १२ वर्ष पुगेको उपलक्षमा ३ वर्षअघि स्थापना गरिएको यो शान्ति स्मारक अहिले बेवारिसे अवस्थामा छ। टाढाबाट हेर्ने हो भने तपाईंलाई लाग्दैन यो शान्ति स्मारक हो। यस्तो लाग्छ, यो केबल ढुंगाको प्रतिमा हो।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि निकै सजधजका साथ यो स्मारक उद्घाटन गरेका थिए। मादी गाउँपालिकाको १० लाख रुपैयाँको लागतमा बनेको यो शान्ति स्मारक उद्घाटन कार्यक्रममा संयोगवश म पनि उपस्थित थिएँ। पहिलो पटक खादा र मालाले पुरिएका प्रचण्डलाई मैले त्यही देखेको थिएँ।
पोखराबाट मोटर चढेर शान्ति स्मारक उद्घाटन गर्न सिक्लेस आइपुगेका प्रचण्ड शान्ति स्मारक उद्घाटन गर्दा प्रचण्ड निकै भावुक देखिन्थे। युद्ध बिसाएर शान्ति सम्झौतासम्म पुग्न सिक्लेसले दिएको आश्रयप्रति प्रचण्डले आभार प्रकट पनि गरेका थिए। शान्ति स्मारक उद्घाटन गर्दै सिक्लेसको विकासका लागि वचन दिएका प्रचण्ड त्यसपछि सिक्लेस फर्केका छैनन्। न उनका कार्यकर्ता फर्के। उनले उद्घाटन गरेर गएको स्मारकमा लेउ जमिसक्यो। अहिले वरिपरि लगाइएका फूलहरु पनि पानी नपाएर मुर्झाएका छन्। तर, विषम समयमा आश्रय दिने गाउँ सम्झेर प्रचण्ड सिक्लेस फर्केनन्।शान्त सिक्लेसमा राता सिपाही
प्रचण्ड सार्वजनिक हुनुअघि नाम मात्रैका हाउगुजी थिए। कोही भन्थे,‘प्रचण्ड मान्छे नै छैन। डर देखाउन उसको नाम मात्रै हो।’ कोही ‘भारतको चाल हो’ भन्थे।
वास्तविकता तब सार्जजनिक भयो। जब सिक्लेसबाट प्रचण्ड सार्वजनिक भए। हुन पनि दशकसम्म युद्ध हाँकेर पनि गुमनाम प्रचण्ड त्यतिबेलासम्म रहस्यका पात्र नै थिए। तत्कालीन गृहमन्त्री कृष्ण सिटौला माओवादीलाई शान्ति प्रक्रियामा लैजान सिक्लेस आएका थिए। प्रचण्डलाई लिन सिटौला सिक्लेस पुगेका थिए। पछि, शान्ति स्मारक उद्घाटन गर्न प्रचण्डसँगै सिक्लेस पुगे।
‘उनीहरुको जत्था पूरै गाउँमा थियो। डर नहुने त कुरै आएन। सयौं, हजारौंको सैनिक जत्था थियो। टोल, समाज घर सबै उनीहरुकै कब्जामा थियो,’ स्थानीय गेहेन्द्र गुरुङ युद्धकालीन दिन सम्झिन्छन्।
‘प्रचण्ड आका छन् रे !’
गाउँमा हल्ला थियो। साताव्यापी कार्यक्रम गर्ने गरी माओवादीका शीर्षस्थ नेताहरु शीर्ष नेताहरु सिक्लेमा थिए।
‘माओवादी शान्ति सम्झौतामा जाने रे!’
छलफलहरु भइरहेको थियो। अहिलेको एक्याप भएको भवनमा प्रचण्ड र तत्कालीन माओवादी नेता बाबुराम भट्टराई बसेका थिए। उनीहरुलाई जनमुक्ति फौजीले पहरा दिई रहेका थिए।
‘ल, हाम्रो साताव्यापी प्रशिषणको अन्तिम दिन हो। तपाईंहरु सबै जना भाषण सुन्ने, नेताहरु हेर्ने, नाँचगान हेर्न आउनुहोला सांस्कृतिक कार्यक्रम छ आउनुहोला,’ शान्तिप्रक्रियामा जानुअघि गाउँलेहरु सबैलाई निम्तो गरेका थिए। पूरै क्याम्प बनाएर बसेका थिए, माओवादी फौजी र कार्यकर्ता।
‘पूरै गाउँ उनीहरुको कब्जामा थियो भनौं न, प्रचण्ड अनि बाबुराम लगायतका नेता एक्याप भवनभित्र बसे। अरु, सेना कार्यकर्ता गाउँ गाउँमा बसेका थिए,’ गेहेन्द्र अघि सुनाउँछन्।
त्यतिबेला सेना आएर दोहोरो भिडन्त हुने हो कि भन्ने डर ! माओवादीसँग प्रतिकार गरे उनीअरुको आँखी भइने ! त्रासै त्रास, डरै डरको थियो अवस्था। गाउँकाले केही भन्न सक्ने अवस्था थिएन।
शान्ति सम्झौता हुनुअघि बृहत फेला डाँके माओवादीले। शीर्ष नेताको भाषण, क्रान्तिकारी नाँचगान।
तत्कालीन गृहमन्त्री कृष्ण सिटौला डाक्टर शेखर कोइराला माओवादीलाई वार्ताको लागि काठमाडौं लैजान सिक्लेस आए। रहस्यका पात्र प्रचण्ड सिक्लेसबाट पहिलोपट सार्वजनकि भए।
‘वार्ताको लागि जाँदै छन् रे ! अब शान्ति हुने भयो। प्रचण्ड यस्तो रैछ’
गाउँकाले यस्तै कुरा गरे।
पश्चिम पहाडका गाउँबाट धेरै जसो युवाहरु युद्धमा होमिए पनि सिक्लेसबाट भने कोही पनि युद्धमा सामेल भएका थिएनन्। जनयुद्धमा सहभागी हुन युवाहरुलाई पिएलए बनाउन प्रयास पनि भए। स्कुल, युवा क्लबको खेलमैदानमा प्लाटुन जस्तो बनाएर परेड पनि खेलाए। तर, लिएर गएको छैन। यहाँको कोही पनि युवा त्यो बेला जनयुद्धमा हिँडेनन्।
कार्यकर्ताहरु आउने जाने त भइरहन्थ्यो। तर, प्रचण्ड नै आए रे भन्ने त कहिले सुनेनन् गाउँकाले। ‘बाबुराम आएर गाउँको सिरानमा शिव मन्दिर भन्ने छ। त्यहाँ बसे रे भनेर पनि हल्ला सुनिन्थ्यो,’ गेहेन्द्र अघि थप्छन्।
शिव मन्दिरमा बाबुराम भट्टराई जोगीको भेषमा बसेका लख पनि रहेछ सिक्लेसमा।
माओवादीका शीर्ष नेता देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पाण्डे लगायतका नेताहरु आए पनि साताव्यापी कार्यक्रम लिएर प्रचण्ड नै आउँलान् भन्ने गाउँलेले सोचेका थिएनन्।
पल्लो ताङतिङ गाउँसम्म पनि तालिममा त गएका थिए रे ! तर, ल हामी पनि लाग्नुपर्छ हिँड्नुपर्छ भनेर युद्धमै हिँड्ने कोहीले पनि गरेनन्। दिलो ज्यान दिएर, बन्दुकै बोकेर कोही पनि हिँडेको उदाहरण छैन।
०५६, ५७ तिरबाट माओवादीहरुको गाउँमा प्रवेश सुरु भएको थियो। फाट्टफुट्ट। ५९, ५९ तिर झन बढी भयो। क्रान्तिको कुरा गरे। जनताको सरकारको कुरा गरे। गाउँलेहरुले पत्याए। कमसेकम त्यो बेला।
६०, ६१, ६२ तिर त झन बढी भयो। सिक्लेस ठूलो गाउँ हो। सांस्कृतिक गाउँ हो। यो ठाउँ सुरक्षित पनि भएर शान्ति प्रक्रियामा जानका लागि यही ठाउँ रोजे होलान् माओवादीहरु।
कताबाट आए ? कसरी आए ? कसैले पत्तै पाएनन्। आएर हप्ता दश दिन सिंगो गाउँ नै उनीहरुको कब्जामा भयो।
‘हाम्रो ठूलो कार्यक्रम छ भनेर भन्थे कार्यकर्ताहरुले। ठूलो नेताहरु आउँदै छ। वार्ता हुन पनि सक्छ। सरकार धक्का खाएर वार्ताको लागि यही आउन पनि सक्छ भनेर भन्थे। हुन सक्छ भनेर भन्थे,’ गेहेन्द्र सुनाउँछन्।
प्रचण्ड, बाबुराम जसता शीर्ष नेताहरु दश वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा लैजानु आफैंमा सिक्लेको लागि ठूलो कुरा हो।
नेताहरुको मुखबाट त्यस्तो केही सुन्न पाइएन।
युद्ध भनेपछि आफैंमा डरलाग्दो त हुने नै भयो। जनयुद्धले नेपालमा जे ल्यायो राम्रै ल्यायो कि जनयुद्ध राम्रैका लागि लडेका रहेछन् भन्ने महसुस गरेका छन्, यहाँका स्थानीय बुद्धिजिवीहरुले।
शान्ति प्रक्रियामा गएकै कारण सिक्लेसमा शान्ति स्मारक पनि बन्यो। त्यसको अनावरणका लागि प्रचण्ड आए। आफैंमा राम्रो पक्ष भइहाल्यो।
नेपालमा दश वर्षे जनयुद्धपछि शान्तिको बिजारोपण गर्ने गाउँ कुन हो ?
इतिहासमा लेखिइसकेको नाम हो, सिक्लेस। राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा चिनिने त भइहाल्यो। वास्ता नगर्नेले नगरे पनि सिक्लेस शान्तिप्रक्रियासँग जोडिन्छ। जनयुद्धले केही न केही परिर्वतन ल्याएको छ। तर, उथलपुथल जनयुद्धले गर्दा ठूलो परिवर्तन आएको त केही पनि छैन। शान्ति सम्झौतामा जानुअघि माओवादी प्रचण्ड सिक्लेसमा भएकाले शान्ति स्मारक बन्यो। शान्त थियो सिक्लेस अहिलेसम्म शान्त छ।
कच्चि बाटो हुँदै सिक्लेस आएका प्रचण्ड फर्किदा हेलिकप्टरमा चढेर गए। बिहान पनि उनलाई हेर्न गाउँका स्थानीय काम छाडेर आए।
शान्त सिक्लेसमा दोस्रो चोटी पुगेका प्रचण्डले उनलाई हेर्न आएका स्थानीयतिर पुलकित हुँदै हेरे। ‘अहिले आउँदा सबै जना गाउँलेहरु देखेर सिक्लेस साँच्चिकै ठूलो रहेछ’ आफ्नो अघिको भीड हेर्द प्रचण्ड पुलकित बनेका थिए।
पश्चिम नेपालमा जसरी मगरहरु जनयुद्धमा लागे। त्यसरी नै गुरुङहरु पनि लाग्छ भनेर आएका हुन् कि भन्ने अनुमान गर्छन् सिक्लेसी। शान्ति प्रक्रिया अघि जनयुद्धमा पनि होमिएन। पछि पनि त्यस्तो लागेको छैन। राजनीतिबाट निरपेक्ष नै छ, सिक्लेस।
शान्ति प्रक्रियापछि नेताहरु त्यसरी आएनन्। देव गुरुङ कास्कीको नेता भए। एकपटक चुनावमा भोट माग्न आएका देव एकपटक क्होलासोथर जाने कार्यक्रममा बाटो परेर एकै छिन छिरेका थिए। त्यसपछि सिक्लेसले उनको पैतालाको पदचाप छामेको छैन।
सिक्लेसबाट शान्ति प्रक्रिया सुरु भएको हो। त्यहाँ जानुपर्छ। भनेर नेताहरु प्रचण्डले शान्ति स्मारक अनावरण गरेपछि आएको त्यस्तो उदाहरण छैन।
शान्ति स्मारक छ भन्ने मात्रै छ। यसको अपनत्व छैन। हुन त त्यो शान्ति प्रेमी नेपाली सबैको हो। नेपाली सबैको हो। तर, बनाउन त बनायो गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएर गाउँपालिकाले बनायो। वडाले हेर्ने कि, एक्यापले हेर्ने कि गाउँपालिकाले हेर्ने ? अत्तापत्तो छैन। आँडैको म्युजियम छ त्यसैको मातहत राख्ने कि भन्ने अन्योल छ।
‘अपनत्व भन्ने कम छ। हुन त सारा शान्तिप्रेमीको गहना त हो। तर, कसको हो ? कसले स्याहार गर्ने भन्नेमा ध्यान पुगेको छैन। बनाउन त बनायो। सिमेन्ट र ढुंगाको मिश्रण थुपारेको जस्तो छ,’ गेहेन्द्र अघि थप्छन्।
घुमन्तेहरु कहिलेकाहीँ शान्ति स्मारक बारे चासो राख्छन्।
हैन, प्रचण्ड यहीबाट गएको रे !
साँच्चिकै हो ?
म्युजियममा राखिएका शान्तिप्रक्रियाको दस्तावेज फोटोहरु पनि म्युजियमहरु हेर्छन्। चासो राख्नेहरु। के–के भएको थियो, भनेर सोध्छन्।
सिक्लेसीहरु उही पुराना प्रचण्डको बखान गर्छन्।
सार्वजनिक हुँदा प्रचण्ड यस्ता थिए। मोटा जुँगा भएका। पाताला ख्याउटे!
सरी, सिक्लेस
फेरिएका प्रचण्ड फेरि फर्केर कहिले सिक्लेस आउँदैनन्...।