कहिले मेटिएलान् ‘जनयुद्ध’का डोवहरू?

तत्कालीन माओवादीले ‘सशस्त्र विद्रोह’ सुरू गरेको ठ्याक्कै २८ वर्ष पूरा भएको छ। देशको शासन सत्ता बन्दूकको नालबाट फेर्ने उद्देश्य बाेकेर २०५२ फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर माओवादीले युद्धको सुरू गरेको थियो।

करिब १० वर्षसम्म चलेको सशस्त्र संघर्षबाट भनेजस्तो सत्ता हातमा नआएपनि अन्ततः माओवादी शान्ति प्रक्रियाकाे बाटाे हुँदै सिंहदरबार छिर्याे। फलस्वरूप देशमा जनआन्दोलनपछि माओवादीको सहयोगमा राजतन्त्रको अन्त्य भई, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयाे।

लगतै, पहिलो संविधानसभाको निर्वाचनबाट माओवादीले झण्डै बहुमतसहितको सरकार बनायो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री बने।

०००

प्रचण्डले सशस्त्र विद्रोहका क्रममा देखेका र जनतालाई देखाएका सपना भने पूरा हुन सकेनन्। अहिलेसम्म तीनपटक प्रचण्ड प्रधानमन्त्री भए। पटकपटक माओवादीसहितको गठबन्धनमा सरकार बन्याे र अहिले पनि प्रदेश र केन्द्र सरकारकाे नेतृत्वकर्ता माओवादी नै छ। तर माओवादीले देखाएका सपना न पूरा भए, न हुनेवाला नै छन्। छन् त केबल कथित ‘जनयुद्ध’ का डोवहरू मात्रै छन्।

माओवादीले गरेको सशस्त्र द्वन्द्वबाट देशमा १७ हजारले अकालमा ज्यान गुमाए भने हजारौं अंगभंग, टुहरा भए। हजारौं बेसाहारा भए, हजारौंको सिउँदो पुछियो। उनीहरूको पीडा र अहिलेको अवस्था दर्दनाक छ। यो पीडा न कसैले भुलाए, न तभुल्न सकिन्छ, न सरकारले सम्झन्छ।

यति मात्र हैन ‘जनयुद्ध’का डोवहरू समाजमा यति गाडिएका छन् कि त्यो कहिल्यै नमेटिने गरी। ‘जनयुद्ध’कै कारण अंगभंग भएका र परिवारबाट दैनिक मानसिक तनावका कारण अहिले पनि कतिपयले आत्महत्या गर्न बाध्य छन्।

माओवादीले देखाएको सपनामा भुलेर आफ्नो जिन्दगी नै बर्बाद बनाएकाहरू अहिले पनि अलपत्र अवस्थामा छन्। त्यो सपना न कहिल्यै पूरा हुन्छ, न माओवादीले उनीहरूको संरक्षण गर्न सक्छ।

यस्तै रोल्पामा ‘जनयुद्ध’कै अर्काे उपज बनेको छ ‘गौ हत्या प्रकरण’। माओवादीले ‘युद्ध’कालमा गाई काटेर खान सिकायो, ‘त्यसबेला उनीहरूले कुनै कारबाही हुँदैन, हाम्रो सत्ता आए गाई काटेर खाने व्यवस्था मिलाउछौं’ भने। तर दुर्भाग्य अहिले यही कारण सोझासाझा रोल्पालीहरू वर्षेनी जेल जानुपरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्क हेर्ने हो भने ‘युद्ध’पछि सयौं मान्छेहरू गाई काटेकै भरमा जेल जानुपरेको छ भने कतिपयले लाखौं धरौटी बुझाएर निक्लेपनि मुद्दा खेप्न बाध्य छन्। यी र यस्तै ‘जनयुद्ध’का डोवहरू कहिले मेटिएलान्?

प्रकाशित मिति: : 2024-02-13 11:38:00

प्रतिकृया दिनुहोस्