बाटो निर्माणपछि किसानलाई सहज

File Photo
File Photo

जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको  सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएपछि उनीहरूमा खुसी छाएको छ। दुई गाउँ जोड्ने बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए। 

बाटो निर्माणपछि पशुचौपायदेखि स्थानीयवासीले उत्पादन गरेको स्याउ, सिमी र तरकारी बजारसम्म लैजान सहज भएको वडाध्यक्ष कलिबहादुर रावतले बताए। लिहीबाट लर्मीगाउँसम्म १० हजार ५० मिटर ग्रामीण बाटो निर्माण भएको उनको भनाइ थियो। कृषि उपजलाई बजारसम्म पु¥याउन समस्या भएकाले सोे बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले बताए। बाटो निर्माण भएपश्चत् लिही र लर्मीगाउँका नागरिकलाई आवतजावतमा  सहज भएको हो। बाटोको समस्याले गर्दा मानिस मर्दा मलामी जान, विवाहमा जन्ती जान र अस्पतालसम्म बिरामीलाई स्टेचरमा राखेर लैजान समस्या भएकाले  स्थानीयवासीको गुनासोपछि गैरसरकारी संस्था पेस नेपाल जुम्लाको सहकार्यमा सो बाटो निर्माण गरिएको वडाध्यक्ष  रावतले जानकारी दिए। 

गाउँमा उत्पादन भएका स्याउ, सिमी, आलु र फापरलगायत रैथाने बाली बाटोकै समस्याले किसानले बिक्री गर्न पाएका थिएनन्। भारी बोकेर हिँड्ने बाटो नहुँदा लर्मीगाउँका किसानले उत्पादन गरेको बाली उचित मूल्यमा बिक्री नगरी थन्कयाउनुपर्ने बाध्यता थियो। अहिले बाटो निर्माण भएकाले सहजै रारा बजारमा किसानले स्थानीय उपज बिक्री गर्न ल्याउन सहज भएको अर्का स्थानीयवासी कर्ण रावतले बताए। 

बाटो फराकिलो भएपछि दुई गाउँका बासिन्दालाई  आवतजावत गर्न र गाउँमा उत्पादन भएका कृषि वस्तुको बजारीकरणमा सजिलो भएको वडाका स्याउ किसान बताउँछन्।अनुकूलन कोष, वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपाल जुम्ला शाखाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाअन्तर्गत सो ग्रामीण बाटो निर्माण गरिएको उक्त शाखाले जनाएको छ। उक्त बाटो निर्माणपछि लिहीगाउँका २४८ र लर्मीगाउँका ९० घरधुरीलाई सहज भएको बताइएको छ।
 

प्रकाशित मिति: : 2022-02-12 17:19:00

प्रतिकृया दिनुहोस्