चोरी भएको बालकुमारीको मूर्ति भेटिएपछि खुसीयाली, बाजागाजासहित सुनाकोठी लगिँदै

शनि शाक्य

काठमाडौं

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ। 

गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ।

मन्दिरबाट चोरी भएको मूर्ति शुक्रबार बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर बोरामा फेला परेको हो। 

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ८ गते चोरी भएको थियो।

चोरी भएको बालकुमारी मूर्ति भेटिएपछि स्थानीयले खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै मूर्तिलाई सुनाकोठी लगिँदै छ।

मूर्ति चोरीबारे अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो।


 
 

प्रकाशित मिति: : 2022-02-11 12:25:00

प्रतिकृया दिनुहोस्