कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको आठौँ बैठकमा दुई विधेयकमाथि छलफल जारी रहेको छ। प्रदेशसभामा विसं २०७७ कात्तिक २१ गते दर्ता भएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक र कात्तिक २५ गते दर्ता भएको ‘सूचना, प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथिको छलफल जारी रहेको छ।
सभामुख राजबहादुर शाहीले समय दिएसँगै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सहकारी ऐन, पहिलो संशोधन गर्न बनेको विधेयक सामान्य छलफलका लागि सभासमक्ष प्रस्तुत गरेका थिए। उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यत्रय पद्ममा खड्का, रातो कामी र विमला केसीले भाग लिए।
यस्तै आमसञ्चार प्रतिष्ठान विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले सामान्य छलफलका लागि सभामा प्रस्तुत गरेसँगै प्रदेशसभा सदस्य गुलाबजङ्ग शाह, मीनासिंह राखाल, दल रावल र सीताकुमारी नेपालीले छलफलमा भाग लिए।
प्रदेशसभा सदस्यले सहकारी ऐनको संशोधन गर्न बनेको विधेयक र आमसञ्चार प्रतिष्ठान विधेयकमाथि राखेका जिज्ञासा र सुझावमा कृषि र कानून मन्त्रीद्वय शाहीले जवाफ दिए।
सभामुख शाहीले दुवै विधेयकमाथिको सामान्य छलफल आज समाप्त भएको बताउँदै कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी दिए। अर्को बैठक भोलि बिहीबार १ बजे बस्ने जनाइएको छ।