बसन्तपुर मन्दिर परिसर। बिहान ८–३० बजे। त्यहाँ दुई व्यक्ति भेटिए। जो थिए– ७१ वर्षिय बालाकृष्ण महर्जन र ६१ वर्षीय कान्छा महर्जन। जसको हातमा झाडु, फूल, दियोबत्ती थियो।
उनीहरु बिहान सधैँ मन्दिरमा आउँछन्। अनि घण्टाको वरिपरि सरसफाइ गर्छन् र पूजा गरेर ९–३० बजे फर्कन्छन्।
बिहान मन्दिर आउनु, सरसफाई गर्नु र ठ्याक्कै ९ बजे १०८ पटक घण्टा बजाउनु त उनीहरुको दैनिकी नै बनिसकेको छ। मन्दिर गएर त्यसरी घण्टा बनाउँदा आफूलाई खुशी लाग्ने उनीहरु बताउँछन्।
घण्टा बजाउन पाउँदा आफूलाई भाग्यमानी बताउने उनीहरुलाई त्यसका लागि तलेजु भवानी सेवा समितिले नै नियुक्त गरेको हो।
२०६६ सालबाट उनीहरुले घण्टा बजाउन सुरु गरेका हुन्। घण्टा बजाउने ठाउँमा आफूहरुबाहेक अरु कसैलाई छिर्न नदिने उनीहरु बताउँछन्।
‘यहाँ जो कोहीलाई पनि छिर्न दिइदैँन’ महर्जनले बिएल नेपाली सेवासँग भने, ‘घण्टा बजाउनेबाहेक अरुलाई आउन नदिनु चलनै हो।’
आफूहरुको चाहना अनुसार घण्टा बनाउनु पाउने उनीहरुको भनाई छ। ‘हामीले जति समय चाहन्छौँ, त्यति नै घण्टा बजाउन सक्छौँ’ महर्जनले भने।
घण्टा बजाउँदा मनमा शान्ति मिल्ने उनीहरु जीवनभर नै घण्टा बजाएर भगवानको सेवा गर्न चाहन्छन्। ‘उमेरले नछोडेसम्म घण्टा बजाउन छाड्दैनौँ’ उनले भने।
किन बजाइन्छ घण्टा ?
किम्बदन्ती अनुसार–हनुमान ढोका मन्दिरमा देवताहरुको बैठक हुन्थ्यो रे! बैठकमा देवताहरुसँगै भूतप्रेत पनि लुकेर आउँने गर्थे।
बैठक सकिएपछि देवताहरु फर्किन्थे तर भूतप्रेतहरु भने लुकेर बस्ने गर्थे। उनीहरु त्यसरी मन्दिरमा बस्न थालेपछि राज्यमा नराम्रा घटनाहरु हुन थाल्यो।
त्यसैले राजाले राजवैधलाई बोलाएर भूत धपाउने उपाय निकाले। जुन उपाय थियो–घण्टा बजाउनु।
९ बजे घण्टा बजाउनुको कारण ?
पहिलाको जमनामा कसैको घरमा घडी थिएन। तर,९ बजे कार्यालय पुग्नुपथ्यो। त्यसैले मानिसको सहजताका लागि १०८ पटक घण्टा बजाउन सुरु गरियो।
जसको सङकेत थियो– ९ बजेको। त्यस्तै राज्यमा घटेको घटनाबारे जनतालाई जानकारी दिनको लागि पनि घण्टा बजाउने गरेको बताइएको छ।