म्यान्मार गृहयुद्धमा फसेको छ। नागरिकहरू एकवर्षदेखि स्वतन्त्रता प्राप्तिको लागि पिल्सिरहेका छन्। सैन्य कू–को बर्बता छ। जुन्ता प्रशासनको अत्याचारले सबैभन्दा बढी म्यान्मारको युवा–पुस्ता पेलिएको छ। भविस्यमाथि बन्दूकका छर्राहरू छन्।
युद्धले अर्थतन्त्रमा बाधा पुर्याएको छ। कुपोषण र भोकमरीको जोखिममा बढ्दै गएकाे छ। सैन्य अभियानद्वारा हजाराैँ–हजार नागरिकहरू विस्थापित भएका छन्।
म्यान्मालीहरूले एक भयानक र अनिश्चित भविष्यको सामना गर्नुपरेको छ। द्वन्द्व बढ्दै जाँदा अन्तर्राष्ट्रिय भूमिका सीमित देखिन्छ।
म्यान्मारको युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा लागि नै रहेको छ। शान्तिपूर्ण आन्दोलनमाथि सरकारको क्रूर दमनपछि युवा–पुस्ता युद्ध मैदानमा उत्रिएको एकवर्ष पुग्यो। सैन्य सरकारको विकल्प मानिने राष्ट्रिय एकता सरकारले पीपुल्स् डिफेन्स फोर्सको गठन–लगतै ठाउँ–ठाउँमा सैन्य प्रशिक्षण छ।
तानाशाही सैनिक सत्ताविरूद्ध लड्नका लागि युवाहरूको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएको छ। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिका खटिएका छन्।
सन् १९६२ ताका तत्कालीन सैन्य ‘कू’का नाइके ने विनका पालादेखि नै म्यान्मारमा यो प्रथा जारी छ। त्योबेला गाउँ–घरमा बस्न सक्ने अवस्था नै थिएन। कारोबार बन्द हुँदा कैयौं मानिस अप्ठेरोमा परे।
घरभरि धानको भकारी हुँदाहुँदै जाँतो–ढिक्कि चलाउन नदिँदा कतिपय भोकभोकै मरे। कतिले छोराछोरी बेचेर ज्यान पाले भने कतिले खुन बेचेर धाने। म्यान्मारमा सरकारी सेनाको बर्बर आतंक हिजो पनि उस्तै थियो। र, आज पनि उस्तै छ।
आतंकको अन्धकार पन्छाएर पूर्ण प्रजातन्त्र ल्याउन म्यान्मालीहरू पटकपटक प्रयासरत छन्। सन् १९७६ ताका विश्वविद्यालयका विद्यार्थीहरूमा क्रान्तिका भावहरू सल्बलाएको सेनाले पत्तो पाएपछि विश्वविद्यालय परिसमै सेनाको गोलीद्वारा ढलेका थिए। दिनदिनै मानिस मारिएपनि क्रान्ति भुसको आगो झैं फैलिरहेको थियो। त्यो आन्दोलन आजपनि विद्यार्थीहरूको अग्रसरतामा देशव्यापी रूपमा चलिरहेको छ।
उनीहरूले सैन्य कब्जाको घटनाप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् र दशकौँदेखि सेनासँग लड्दै आएका सीमा क्षेत्रहरूमा जातीय भावनाले प्रेरित मिलिसियाहरूको समर्थन र प्रशिक्षण पाइरहेका छन्। युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा होमिएको छ।