ओलीले ‘सजाए’का सिके- साधुदेखि सनकसम्म

आयोमेल

गजेन्द्र बाेहरा

घामका किरणहरू आफै चिसिएका छन्। सारा मौसम चिसिएको छ। पुस ११ गते सिराहाको एक चिसो बिहान, सडक दन्किरहेका टायरको आगोले तातिएका थिए। राजमार्गमा चल्ने सवारीहरू फोडिए। आगो झोसिए। एकाएक दंगा भड्कियो। कैयौ मानिस घाइते भए। प्रहरीहरू पनि घाइते भए।

सिरहाको औरही गाउँपालिकाबाट किसानलाई वितरण गर्न लागिएको गहुँको विउ लुटिएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका मिथिलेश यादवलाई छोड्न माग गर्दै ‘जनमत पार्टी’ले त्यो दिन सिरहा जिल्ला बन्द गरेको थियो। त्यहींबाट सुरू भएको त्यो आन्दोलन अहिले ‘किसान आन्दोलन’को नाममा देशैभरि फैलिएको पनि एक महिना बितिसक्यो।

पूर्वदेखि पश्चिम तराईका सबैजसो जिल्लाहरूमा फैलिसकेको त्यो आन्दोलनको ‘बिम्ब’ माइतीघरसम्मै पुगिसकेको छ। ‘किसान आन्दोलन’को नाममा अहिले हुस्सुले ढाकेको सिङ्गो तराईमा ‘आगो’ बलिरहेको छ।

‘जनमत पार्टी’ सिके राउतले नेतृत्व गरेको एउटा दल हो।

प्रश्नैप्रश्नहरूले घेरिएका चन्द्रकान्त

‘झुकेरै हिँड, दबेरै बस’ आमाले हमेशा सम्झाइरहने यो कुराले चन्द्रकान्त राउत हरपल झङ्कृत गराइरहन्थ्यो। किन झुक्ने? के का लागि झुक्ने? किन दब्ने? के का लागि दबेर बस्ने?

अनि कहिलेकाहिँ उनकी आमा भन्थिन्- ‘सबै कुरा लेखिएको छ, नियतिका सबै कुरा निश्चित छन्।’ आमाका यिनै जीवनोपदेश सुन्दै बालापन बिताएका चन्द्रकान्त आफ्नो वैंशालु जीवनभरि नियतिका कैयौं आयामहरूमा ठोक्किइरहे। नियतिका कैयौ मोडहरूमा उनी बेचैन भएर भौतारिइरहे।

जिज्ञासै जिज्ञासाले भरिएको उनको बालापन छिप्पिदैं गएको जवानीसम्मै उस्तै थियो। पढाउने शिक्षकसँग सोध्नुपर्ने कैयौं प्रश्न थिए। आफ्नै छिमेकीसँग सोध्नुपर्ने हज्जारौ जिज्ञासाहरू थिए। आफ्नै समाजसँग कैयौ गुनासाहरू थिए। आफ्नै देश अनि आफ्नै माटोसँग सोध्नुपर्ने धेरै प्रश्नहरूले उनी भित्रिभित्रै गिजोलिइरहेका हुन्थे।

प्रकाशित मिति: : 2022-02-06 08:27:00

प्रतिकृया दिनुहोस्