रैथाने ‘भक्का’ लाई आधुनिकता दिँदै ‘मिस्टर भक्का’

देशसञ्चार

सपना न्‍यौपाने

पछिल्लो समय काठमाडौँमा ‘रेस्टुरेन्ट कल्चर’ बढ्दो छ। मानिसहरुको रुचिलाई मध्यनजर गर्दै मेनुमा नयाँ परिकार पनि थपिँदै गएका छन्। यही क्रममा पछिल्लो समय काठमाडौँमा थपिएको परिकारको नाम हो ‘भक्का’।

तीनकुनेस्थित ‘मिस्टर भक्का’ ले भक्काको विभिन्न परिकार ल्याएर प्रतिस्पर्धात्मक बजारमा आफ्नो अलग्गै पहिचान बनाएको छ।

भक्का पूर्वी तराईको झापा, मोरङ र सुनसरीको रैथाने परिकार हो। भक्का राजवंशी तथा ताजपुरिया समुदायको साँस्कृतिक खानासमेत हो। राजवंशी समुदायले छोरीको बिहेमा कोसेलीस्वरुप मिठाईको रुपमा भक्का पठाउने प्रचलन छ।

यही साँस्कृतिक भक्कालाई ‘मिस्टर भक्का’ का सञ्चालक झापाका विदुर पोखरेल र उनकी श्रीमती एलिना घिमिरेले फरक स्वाद र रुपमा प्रस्तुत गरेका छन्। पोखरेल दम्पतीले गुलियो प्रकारको भक्का बनाउन थालेको छ चकलेट र खुवा हालेर। पीरो र अमिलो मन नपराउनेहरुलाई यो सुनमा सुगन्ध हुने उनीहरु बताउँछन्।

भक्का चामलको पीठोलाई बटुकोमा निश्चित आकार दिएर बाफमा पकाइन्छ र गोलभेडा तथा धनियाको अचारसँग खाइन्छ। उनीहरुका अनुसार सादा भक्का लगभग केही सेकेण्डमै पाक्छ। तर चकलेट फ्लेभर पाक्न अलिकति बढी समय लाग्छ।

प्रकाशित मिति: : 2022-02-05 15:22:00

प्रतिकृया दिनुहोस्