यमराज भगाउने जेलर रोल्पामा, भन्छन्: दोष मेरो हाेइन

फाइल तस्विर: युवराज परियार (माथि), यमराज परियार (तल)

दाङको घोराही कारागारबाट कैदी यमराज परियारलाई भगाएको आरोप लागेका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालय रोल्पामा हाजिर भएका छन्।

गृह मन्त्रालयले सरुवा गरेपछि उनी यही माघ ९ गतेदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा हाजिर भएका हुन्। उनले प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका छन्। प्रशासनमा अन्य अधिकृतको सरुवा भएको र सहायक प्रमुख जिल्ला अधिकारी पनि विदामा भएकाले अहिले प्रशासनको सबै काम उनले हेरिरहेका छन्।

‘अहिले प्रशासनमा अन्य अधिकृत कोही नभएकाले सबै काम उहाँले नै हेरिरहनु भएको छ’ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ‘गृहले सरुवा गर्‍यो उहाँले आएर खुरुखुरु काम गरिरहनु भएको छ।’

कैदी भाग्नुमा मेरो दोष छैन्–युवराज

कैदी भगाउनमा तपाईंको संलग्नता हुँदा पनि किन कारबाही भएन भन्ने प्रश्नमा उनले आफ्नो दोष नभएको बताए। ‘कैदी विरामी हुँदा अस्पताल पठाउने व्यवस्था अनुसार नै पठाएको हो, तर उपचार गर्न नलगेर उसकै बाइक दिएर पठाउने त प्रहरी हो नि,’ उनले भने,‘होटलमा गएर उनीहरुले नै मोज गरे भाग्यो यसमा मेरा के दोष।’ आफूले त आफ्नो जिम्मेवारी मात्र पूरा गरेको उनको भनाई छ।

नियमित सरुवा भएरै रोल्पा आएको

प्रहरी अनुसन्धानका क्रममा कैदी भगाउन युवराजको मूख्य भूमिका देखिए पनि गृहले कारबाही नगरी सामान्य सरुवा मात्र गरेको छ। पहुँचका आधारमा तपाईंलाई कारबाही नभएको हो ? भन्ने प्रश्नमा युवराजले आफू एउटा सामान्य कर्मचारी भएकाले कुनै पहुँच नभएको बताए। गृहले नियमित सरुवा गरेर आफू यता आएको बताए। ‘यता अधिकृतको दरबन्दी खाली रहेछ अनि म आएको,' उनले भने। बरु कारागार विभागले जस्तो कारबाही गर्छ त्यो भोग्न आफू तयार रहेको पनि उनले जनाए।

यसअघि पनि रोल्पा बसेका थिए युवराज

दाङको तुलसीपुर स्थायी घर भएका युवराज करिब २ वर्ष गृह जिल्ला बसेर कैदी फरारको घटनापछि के गर्ने कहाँ जाने भन्ने तनावमा थिए। अनुसन्धानका क्रममा केही दिन हिरासत बसेर निस्किएपछि कारबाही त भएन त्यसमा पनि गृह मन्त्रालयको ग्रीन सिग्नल पाएपछि उनको रोजाईमा पर्‍यो, रोल्पा। त्यसपछि उनी पहिले पनि बसेको ठाउँ रोल्पा आएका हुन्।

२०७२ सालमा जागिर सुरु गरेका युवराज गृह मन्त्रालयमा केही समय बसेका थिए। युवराज केही समय मन्त्रालयमा काम गरेर २०७३ मा पहिलो पटक जिल्ला मालपोत कार्यालय रोल्पाको प्रमुख हुन आएका थिए। एक वर्षपछि २०७४ मा उनी जिल्ला प्रशासन कार्यालय दाङ झरेका थिए। इलाका प्रशासन कार्यालय तुलसीपुर हुँदै उनी गत ६ महिनाअघि मात्र कारागार कार्यालय घोराही सरुवा भएका थिए।

जेलर अर्थात् कैदीका दाइ

कैदी यमराज र जेलर युवराजसँग थर मिल्ने भएकाले यमराजले दाइ भनेर सम्बोधन गर्दै आएका थिए। कारागारका नाइके समेत रहेका यमराजले जेलर आफ्नो दाइ भएको भन्दै अन्य कैदीसँग पैसा समेत उठाउँदै आएको बताइएको छ।

यस्तो थियो घटना

कर्तव्य ज्यान मुद्दामा जन्म कैद भुक्तान गरिरहेका यमराज परियार गत पुस ८ गते प्रहरी जवान धनबहादुर चौधरीसँग युपचारका लागि घोराही कारागारबाट निस्किए। उनीहरु उपचारको सट्टा होटेलमा गएर युवतीसँग बसेर कैदी जवान धनबहादुरले नै चलाएर लगेका मोटरसाइकल लगेर कैदी यमराज फरार भएका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले जेलर युवराज परियारलाई पक्राउ गरेर चार दिन हिरासतमा राखेको थियो। तर, कारागार व्यवस्थापन विभागको स्वीकृति नपाएपछि उनलाई छाडिएको थियो। कारागार व्यवस्थापन विभागले पनि विभागीय स्वीकृति चाहिने भन्दै गृह मन्त्रालयबाट अनुमति नपाएको बहाना देखाउदै जेलर युवराजलाई उन्मुक्ति दिएको हो।

जेलर युवराज पुस ५ गते सुब्बा चित्रबहादुर डाँगीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर विदामा गएका थिए। तर, ८ गते बिहानै उपस्थित भएर यमराजलाई कारागारका स्वास्थ्यकर्मीको सल्लाह बिनै अस्पताल पठाउने कागजात जेलरले तयार पारिदिएका थिए। मोटरसाइकलमा कैदी बोकेर सादा पोसाकमा हिँडेका प्रहरी जवान चौधरीसँग कुनै हतियार समेत थिएन। जवान चौधरीले यमराजलाई उपचारका लागि भनेर होटल, तरकारी मण्डीतिर लगेको अनुसन्धानबाट खुलेको छ।

कैदी यमराजलाई प्रहरीले भारतबाट माघ १० गते पक्राउ गरेको छ। यस्तै उनलाई भगाएको आरोपमा प्रहरी जवान धनबहादुर चौधरी र एक युवतीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

प्रकाशित मिति: : 2022-02-03 19:54:00

प्रतिकृया दिनुहोस्