मैत्रीपूर्ण खेलमा बत्ती किन गयो झ्याप्प? रेड कार्ड : एन्फा, राखेप कि कुलमानलाई?

पहिलोपोष्ट

काठमाडौँ

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलका क्रममा काठमाडौँ उपत्यकामा विजुली जाँदा दशरथ रंगशालाको आधा बत्ती निभ्यो। निर्धारित समयको खेल सकिन केही मिनेट बाँकी छँदा बत्ती निभेपछि रंगशालामा जेनेरेटरको मधुरो बत्तीमात्र बाँकी रह्यो। तनावपूर्ण बनेको खेलमा घम्साघम्सीपछि रोकिँदै, चल्दै गरेको खेलमा दर्जन बढी कार्डको वर्षा भइसक्दा तातेको माहोलमा बत्ती गइदियो। दर्शक मोबाइलको फ्लास लाइट बाल्न थाले। रंगशालाको फ्लडलाइट बलेका त थिए तर मधुरो। केहीबेर खेल रोकियो र मधुरो बत्तीमै खेल फेरि सुरु भयो र सम्पन्न पनि भयो।

अन्तर्राष्ट्रिय खेल चलिरहँदा पनि बत्तीको व्यवस्थापन गर्न नसकेको भनेर सामाजिक सञ्जालमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लज्जाको विषय भन्दै गाली पनि निकै आयो। यता एन्फाले भने खेलका क्रममा बत्ती जाँदा जेनेरेटरले आधा बत्तीमात्र बल्ने भएकाले समस्या भएको जनाएको छ।

'तीनवटै जिल्लामै सटडाउन भएको भन्छ प्राधिकरणले। हाम्रो जेनेरेटरले आधा र बाहिरको लाइनले आधा चल्ने सिस्टम छ,' एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, 'जेनेरेटरको बलिराख्यो। बाहिरको लाइन चाहिँ कट्यो। फ्लडलाइटको जिम्मेवारी त हाम्रो हो, अपरेट गर्ने राखेपको इन्जिनियरहरुले हो। त्यसको संरचना नै आधामात्र जेनेरेटरबाट चल्ने र आधा बाहिरको बत्तीले चल्ने छ।'

प्रकाशित मिति: : 2022-02-03 10:36:00

प्रतिकृया दिनुहोस्