अल्पायूमै अस्ताएका भाइ–बुहारीको स्मृतिमा 'जिन्दगीको आधा यात्रा' [भिडियाे]

'हाँसी हाँसी जिउँदा जिउँदै कहाँ वसाई सारी गयौ
चराले झैं बचेरालाई गुँडमा एक्लै पारी गयौ
फर्कि आउने छैनौं अब, आउँछ केवल झल्को मात्र
किन छोडी गयौ बिचमै जिन्दगीको आधा यात्रा'

माथिका शब्दहरू गीतकार निलमकुमार थापा 'गर्बुजा' मगरको 'जिन्दगीको आधा यात्रा' नामक गीतका केही हरफहरू हुन्।

घटना २०७६ सालको माघ १५ गतेको हो। नेपालको ललितपुरको बिशालचोकस्थित फिट एण्ड फाईन हेल्थ क्लबमा साउना बाथ लिँदै गर्दा कोठामा कार्बनमोनो अक्साई बढी हुँदा निस्सास्सिएर हस्तकुमार गर्बुजा र नेत्रकुमारी गर्बुजाको अकल्पनीय निधन भयो। हस्तकुमार गर्बुजा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका निजी सचिव थिए। उनको निधनबाट चिमखोला मात्रै नभएर सिंगो म्याग्दी जिल्ला नै शोकमा डुबेको थियो।

आफ्नो कान्छो भाइ र कान्छी बुहारीलाई अल्पायूमै एकैसाथ गुमाउँनु पर्दाको पीडा एउटा दाइलाई मात्र थाहा हुन्छ। वियोगको यहिँ पीडाका बीचबाट गुमेका आफ्ना भाइ–बुहारीलाई अल्पायूमै एकैसाथ गुमाउँनु पर्दाको पीडालाई जुनीजुनी सम्झिइराख्न बनाउन अमेरिकाको बाल्टिमोर निवासी गीतकार निलमकुमार थापा 'गर्बुजा' मगरले यो मर्मान्त घटनाको पीडालाई शब्दमा उतारेर 'जिन्दगीको आधा यात्रा' नामक गीत र यसको म्यूजिक भिडियो युट्युबमा सार्वजनिक गरेका छन्। 

चर्चित गायक जगदीश समालको स्वरमा स्वरबद्ध गीतलाई राजकुमार बगरले कम्पोज गरेका हुन। गीतसँगैको संवाद सञ्चारकर्मी टिकाकुमार पुनले लेखेका हुन्, जसमा राजकुमार बगरकाे संगीत भरेका छन्। गीतका रचनाकार निलम कुमार थापा हुन्। निलम स्वर्गीय हस्तकुमारका सहोदर दाजु हुन्।

म्यूजिक भिडियोमा राजकुमार पुन, यन्सर्ज गुरुगं, निलमकुमार थापा र शितल पुनले जीवन्त अभिनय गरेका छन्। ओम मेघा फिल्मसले पोष्ट प्रोडक्सन गरेको म्यूजिक भिडियोका निर्देशक ओम कर्माचार्य हुन्।

प्रकाशित मिति: : 2022-01-31 15:16:00

प्रतिकृया दिनुहोस्