भारतको पश्चिम बंगाल राज्यमा दिदी अर्थात् ममता बनर्जी हराउन प्रधानमन्त्री–गृहमन्त्री ‘नरेन्द्र मोदी– अमित शाह’ले कुनै कसूर बाँकी राखेनन्। तर, बंगाली जनताले एकता प्रदर्शन गरी ‘मोदी–शाह’विरूद्ध उभिँदा कसैको केहि लागेन। आखिर, भारतीय जनता पार्टी (भाजपा) हारेरै दिल्ली फर्कियो। दिदीले ‘ह्विलचेयर’मै बसेर भाजपविरूद्ध राेचक गाेल गरिन्।
पूर्वमै अस्ताएको सूर्य पश्चिमबाट उदाउन सम्भव छैन। भाजपाको बंगाल पराजयसँगै भारतीय राजनीतिमा ‘मोदी–शाह’ युगको अन्त्य भएको चोक–चोक र गल्ली–गल्लीमा चर्चा चुलिएको छ।
मोदी नेतृत्वको केन्द्र र ‘बाबा’ले नेतृत्व गरेको उत्तर प्रदेश सरकार हरेक हिसाबले सबैभन्दा धेरै पंगु साबित भएको छ। त्यसो त पछिल्लो समय खस्किदोँ लोकप्रियतासँगै भाजपाको यात्रा ओरालो मै छ। राजनीति बजारमा चर्चा छ, सत्यसँग पटकपटक भिड्दा ‘मोदी–शाह’ले आफ्ना नङ्ग र दाँत भाँचिसकेका छन्।
नरेन्द्र मोदी र अमित शाह जस्तो देखिन्छन्, त्यस्तो छैनन्। उनी बढ्ता दिखावटी हुन्छन्। सत्ता सम्हालेदेखि भाजपाले शक्तिको चरम दुरुपयोग गर्दैआएको छ। संवैधानिक आयोगका प्रमुखहरू गृहमन्त्री शाहको निर्देशनमै घुम्छन् तर काम गर्दैनन्। कर्मचारीतन्त्रले ‘मोदी–शाह’को नाङ्गो नाच प्रष्टसँग बुझेपनि इन्कार गर्न सकेका छैनन्।
सेनाको बर्दी लगाएर बेला न कुबेला सीमाक्षेत्र पुगेर अनेकौँ भ्रम छरेपनि प्रधानमन्त्री मोदीले आफू खुसी प्रयोग गर्न सकेका छैनन्। उनले अहिलेसम्म सेनाप्रमुखको विकल्प खोज्ने सपना पनि देखेनन्।
भारतीय संसदमा कृषि कानूनहरू पेश गरेर फिर्ता लिनु ‘मोदी–शाह’ युगको सबैभन्दा ठूलो असफलता हो। आगामी निर्वाचनमा उत्तर प्रदेशमा साम्प्रदायिक कार्ड नचल्नुलाई पनि उनीहरूको युग अन्त्यको भएको एउटा दृश्य हो।
भारतीय गोदी मिडिया पनि भारतीय जनता पार्टी र मोदीकै कारण घृणित बनेको छ। भाजपा समर्थक प्रत्येक मिडियाले स्वतन्त्रताको खिल्ली उडाउँदै आफूअनुकूलको बाक्य प्रसारण गर्छन्। ती मिडियाले ‘मोदी–शाह’को जति प्रचार गर्छन्, त्यति नै बदनाम भइरहेका छन्।
‘मोदी–शाह’को कमजोर पाटोलाई उनीहरूकै व्यापारिक मित्रले सबैभन्दा बढी फाइदा उठाएका छन्। कोरोना कालमा राज्यको सहयोगी बन्दै नगन्य लुटेका छन्।
आज पनि आरएसएसका नेता–कार्यकर्ता सत्ताको लुटतन्त्रमा रमाइरहेका छन्। निकै नै मातिएका छन्। उनीहरू स्वयंसेवक होइनन्, बलिया व्यापारी र विचौलिया हुन्। राजनीतिक उद्देश्य पूरा गर्न हात्तीको देखाउने दाँतजस्तै बनेका छन्।
भाजपानिकट व्यापारीहरू अयोध्या र अन्य तीर्थस्थल छेउछाउमा डेरा जमाएर तिर्थयात्रु लुटिरहेका छन्। उनीहरुले फूलदेखि जग्गासम्म कालो व्यापार गरिरहेका छन्।
पश्चिम बंगलका जनताले तितो चोट दिएपछि ‘मोदी–शाह’ आजसम्म हावामा झुण्डिएर धर्तीमा फर्किन सकेका छैनन्। पछिल्लो समय जसरी मोदीको जिब्रो बढ्ता चल्न थालेको छ, यो कुराको वास्तविकता जान्न आवश्यक छ। अन्त जानै पर्दैन यूपी र उत्तराखण्डको चुनावपछि एकदिन उनीहरू हावाबाट पृथ्वीमा खस्नेछन्। चट्टानमा ठोकिने छन्। वास्तविक संसार देख्ने छन्। गंगामा बगिरहेको सत्यको जलमा डुब्नेछन्। र, भन्नेछन्– हामीहरू भ्रममा रहेछौँ।
किसान विरोधी मोदी सरकारले उनको पुत्ला मात्रै होइन, सम्पूर्ण छवि ध्वस्त पारिदिएका छन्। विदेशीहरूले पनि मोदीलाई विभाजनकारी र नरसंहारकारी नेताको रूपमा चित्रण गरिरहेका छन्। अब भन्नुहोस्– ‘मोदी–शाह’ युग सकिएन त ?
हारपछि भाजपा नेताहरू आँखा बन्द गरेर दौडिएको वास्तविक दृश्य बंगालबाटै देखिएको हो। यूपीमा अब हेर्न बाँकी छ। यहाँ भाजपा नामक पार्टीको अस्तित्व नै खतरामा परेको छ।
अहिले पनि हजारौं करोड रुपैयाँ र लाखौं कार्यकर्ताको शक्तिको आरएसएस–भाजपाले दुरुपयोग गरिरहेकै छ। आफ्नो भित्री डरलाई आफ्नो मायावी रहस्य खोलिरहेको छ। राजनीतिक विश्लेषकहरूको भनाइ छ– बंगालको चुनावसँगै ‘मोदी–शाह’ युगको अन्त्य भइसक्यो।