घरगाऊँको माया र महत्व बुझ्न कहिले काहीँ विदेशिन आवश्यक छ। रामले लक्ष्मणलाई 'जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ' भनेको त्यसै होइन रहेछ। घर छोडेर पहिलो पटक म झण्डै एक वर्षसम्म भारतमा बर्से। त्यो वर्ष भारतमा नै दशैं, तिहार मनाए पनि मेरो मन गाउँमा नै थियो। चाडपर्व आउँदा, गाउँका मानिसहरू भेटिँदा, पानी पर्दा गाउँका खेत, पखेरा, खोला, चौतारीहरूको विशेष याद आउँथ्यो। काका बाजेले घर जाने तयारी गरेपछि त मेरो मन पलपल गाउँमै पुग्दथ्यो। उहाँले अफिसमा बिदा मिलाए पनि मैले पनि अध्ययन गरेको ठाउँबाट केही समयका लागि छुट्टी लिएँ। हामी जतिजति नेपाल नजिकियौं उतिउति साथी, गाऊँका पाखाहरू, आफन्त, घरपरिवार र बाजेबजैको तस्वीर अजीव बनेर अगाडि उभिन्थ्यो। कहिले पुगौला र मनका कुरा खोलौँला जस्तो भएको थियो। भागेर गए पनि बुबा र बाजेले गाली गर्नुहुन्छ कि भन्ने डर मनमा अलिकति पनि थिएन।
मेरा बाजे-बजै गाउँको घरमा बस्नुहुन्थ्यो। बाटैमा बेसीको घर पर्दथ्यो। त्यहाँ बुबालाई भेटेपछि म तुरुन्तै गाउँतिर लागें। आफूभन्दा श्रेष्ठ, जेष्ठ र पूजनीय महानुभावहरूलाई भेट्ने वित्तिकै चरणस्पर्श गर्ने हाम्रो परम्परा थियो। मलाई देखेर बाजे बजै असाध्यै खुसी हुनुभयो। म पुग्दा बाजे नयाँ मानिसहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो। मैले उहाँहरूको बारेमा सोधें। गाउँ पञ्चायतको चुनावको तयारी हुँदैरहेछ। चुनाव प्रक्रियाका लागि डोर (निर्वाचन कार्य सम्पन्न गराउने व्यक्तिहरू) आएका रहेछन्। २०१७ साल पुष १ गतेपछि सबै निकायमा राजनीतिक उपस्थिति शून्य प्रायः थियो। जनतासँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिको आवश्यकता पूरा गर्न चुनावको तयारी हुँदैरहेछ। बाजेले गाउँघरको अवस्था बताउनुभयो। मैले पढ्न थालेको थाहा पाएर विशेष प्रसन्न हुनुभयो। वर्तमान परिस्थितिका बारेमा बुझ्न म खडानन्द गएँ। गुरुले कुशल मङ्गलका साथै आउनको कारण निर्वाचनको बारेमा सोधें। उहाँले मलाई यस पटकको निर्वाचनमा भाग गुरुलाई भेट्न/लिन निर्देशन दिँदै 'युवाहरू अगाडि बढ्नुपर्छ, तपाईं समयमा सोध्नुभयो। मैले आइपुग्नुभएछ, चुनावका लागि तयार हुनुहोस्' भनेर हौसला दिनुभयो।
मलाई भारतमा फर्केर पढ्ने इच्छा थियो। पढाई समाप्त गरी केही बुझेपछि मात्र यसतर्फ लाग्ने इच्छा थियो। 'आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो' भने जस्तै आफ्नो सोचअनुसार कहाँ हुँदोरहेछ र ? साथीभाइ, गुरु एवं अन्य शुभचिन्तकको अनुरोध र प्रेरणाले म राजनीतिमा होमिएँ। परिस्थिति पनि यस्तै बनेर आयो। सबैले मेरो आशा गर्नु स्वाभाविक पनि थियो। मुखियाहरूको खिचातानीले गाउँ प्रष्ट रूपमा दुई खेमामा विभक्त थिए। घर र मामली बाजे (गगन घर्तीमगर) पनि मुखिया हुनुहुन्थ्यो। मलाई दुवै बाजेहरूको समर्थन र सहयोग थियो। गाउँलेहरू पनि अब पुराना मान्छे नराख्ने दुवैलाई समेटी स्वच्छरूपमा अगाडि बढ्न सक्ने व्यक्ति चुन्ने निर्णयमा पुगेका रहेछन्। भारतमा बस्दा राजनीतिक प्रवचन र सत्सङ्गतबाट जुन ज्ञान हासिल गरेको थिएँ, त्यसको परीक्षण गर्ने समय आएको जस्तो लाग्यो।
मैले वडा सदस्यसम्म बन्ने सोच बनाएको थिएँ। वडा सदस्यहरूबीच प्रतिस्पर्धा गराएर प्रधानपञ्च र उपप्रधानपञ्च छानिने नियम थियो। वडा सदस्यमा विजय पनि भएँ। दुवै पक्षका समर्थक र स्वतन्त्र मानिसले पनि मलाई प्रधानपञ्च बन्नका लागि तीब्र दवाव दिए। उहाँहरूकै इच्छाअनुसार म निर्विरोध प्रधानपञ्च भएँ। बेलाबेलामा 'म कस्तो समयमा नेपाल फर्किए छु ?' भन्ने लाग्दथ्यो। प्रधानपञ्च वन्नमा विशेष सहयोग गर्ने भर्ते विष्टका छोरा हर्कबहादुर विष्टलाई म भुल्नै सक्दिनँ। उहाँले 'प्रधानपञ्च तिमी हुन्छौं भने हामी सबैले सहयोग गर्दछौँ, तिमी नहुने हो भने यो पदलाई खाली राखौँ, अरुको नेतृत्व स्वीकार गर्दैनौँ' भन्नुभयो।
उहाँको कुरालाई हिले वडा नं. ८ का जगत्जीत गिरीले समर्थन गर्नुभयो। सबैको सदिच्छा भएकाले मेरो प्रतिस्पर्धी कोही पनि भएनन्, उपप्रधानपञ्चमा मेरा मामा टेकबहादुर घर्तीमगर छानिनुभयो। प्युठानबाट खटिएर गएका डोरले हामी विजयी भएको घोषण गरी प्रमाण पत्र दिनुभयो। अब के गर्नुपर्छ ? कसरी गर्नुपर्छ ? भन्ने विषयलाई गम्भीर भएर सोच्न थालेँ। दुई भागमा विभाजित गाउँलाई जोड्न निकै परिश्रम गर्नुपर्ने अवस्था थियो। आफ्नै मान्छे, त्यसमाथि पनि मैले मान्नुपर्ने मानिसलाई मिलाएर हिँडाउने चुनौति मेरो अगाडि उभिएको थियो। उमेर अनुभवमा पनि कच्चै थिएँ। बाजे, बुबा सरहका मानिस धेरै थिए। तेस्राे पिँढीका मानिसले पहिलाे र दाेस्राे पिँढीका मानिसलाई मिलाएर लैजानु कम चुनौतीपूर्ण थिएन। परिस्थिति जस्तो आउला त्यसरी नै अगाडि बढौला भन्ने विचार गर्दै जनसेवातिर लागें।
वि. सं. २०१८ सालमै रोल्पा जिल्ला स्थापना भए पनि सरकारी कार्यालयमा, कर्मचारी आइसकेका थिएनन्। जिल्लाका अधिकांश कार्यहरू प्युठान र सल्यानबाट नै हुन्थे। शपथग्रहणका लागि जिल्लाका प्रधानपञ्च र उपप्रधानपञ्चहरू प्यूठान जिल्लाको सदरमुकाम खलङ्गा जानुपयो। बडाहाकिमले शपथग्रहण गराउनुपर्ने व्यवस्था थियो। यही समयमा राप्ती अञ्चलका अञ्चलाधीश कृष्णमान श्रेष्ठजी पनि प्युठान खलङ्गा पुग्नुभएको थियो। वि. सं. २०१७ सालपछि भूमिगत बनेका कांग्रेस पार्टीले खलङ्गा कब्जा गर्ने खबर सुन्नमा आएको थियो उनीहरूले विभिन्न जिल्लाका सदरमुकाम नियन्त्रणमा लिने, हातहतियार लुट्नेलगायतका गतिविधि चलाइरहेका थिए। गाउँमा यसको प्रभाव अलिक कम थियो, सदरमुकाम र सचेत मानिसहरू बसेका ठाउँमा धेरै हुन्थ्यो। शपथग्रहण गर्न जान जोखिम र मुश्किल थियो। बडाहाकिमले कर्पु लगाएको बाटोमा नै थाहा पाएँ। बाटोमा अनेक हल्लाहरू सुन्दै खलङ्गासम्म पुगेँ। अन्य गाउँ पञ्चायतका प्रधान र उपप्रधानपञ्चहरू शपथ लिन आइपुग्नुभएको थियो। शपथग्रहणकै दिन नेपाली काङ्ग्रेसको सदरमुकाम कब्जा गर्ने योजना रहेछ। दिउँसै आक्रमण गरे पनि उनीहरूले सहजै जित्ने अवस्था थियो। तारादलसँग जम्मा १७ नाल बन्दुक रहेछ। त्यसमध्ये १० वटा काम गर्ने अवस्थामा थिएनन्। त्यतिबेला प्रहरीसँग त हतियार नै हुँदैनथ्यो। उता काङ्ग्रेससँग ९० थान राइफल रहेछ। भरुवा बन्दूक र बाह्रबोर आदि गरेर १०० भन्दा धेरै हतियार थियो रे। संख्याकै दृष्टिले पनि उनीहरू अत्यधिक थिए।
काङ्ग्रेसले प्युठान र गुल्मी एकैचोटी कब्जा गर्ने योजना बनाएका रहेछन्। शम्शेरबहादुरजीको नेतृत्वमा एक टोली गुल्मीतिर अगाडि बढेछ। अनिरुद्रजीको नेतृत्वमा अर्को समूह प्युठानतिरै रोकिएछ। शम्शेरबहादुरहरू गुल्मी पुग्नुभन्दा अघि खाना खान बाटैको विद्यालयमा रोकिएछन्। उनीहरू खान लाग्दा सेनाले अचानक आक्रमण गरेछन्, केही मारिए, बाँचेका तितरवितर भएछन्। टोली नेता शम्शेरबहादुरजी पनि मारिनुभएछ।
नेपाल सेनासँग आधुनिक हतियार पनि थिएन। अहिलेको जस्तो व्यवस्थित बनाउने कार्य पनि भएको थिएन। कांग्रेसले आक्रमण गर्दै छ भन्ने सुराक पाएपछि आसपासका जिल्लाबाट पठाउनुपर्ने स्थिति थियो। पाल्पाबाट सेना गुल्मीतिर गएको रहेछ। उनीहरूलाई बाटैमा कांग्रेसहरू गुल्मी लागेको थाहा भए छ। यसपछि सेनाले उनीहरूको पिछा गरेको रहेछ। उनीहरूको कारबाहीमा शम्शेरबहादुरजीहरू पर्नुभयो। शम्शेरजीहरू मारिएको खबर प्युठानका कांग्रेसले थाहा पाएर होला उनीहरूले तत्काल आक्रमणको कार्यक्रम रोकेछन्।
हामी प्युठान पुगेकै दिनमा फूलबारीमा रहेको बारुदखाना काङ्ग्रेसले कब्जा गरे। फूलबारीमा झण्डै अठार सय मुरी बारुद रहेछ। यस घटना लगत्तै सरकारले बाँकी रहेको बारुदलाई देशभरि वितरण गरिदियो। सबै परिस्थित र घटनालाई देखेपछि प्युठानका बडाहाकिम रत्नबहादुर गुरुङले सुरक्षा सहयोगका लागि दाङमा चिठी पठाएछन्। त्यतिबेला आकाशवाणी, फोन आदिको केही सुविधा थिएन। हुलाकबाट पठाउँदा समय लाग्ने भएकाले कार्यालयकै पिउन चिठी लिएर दुई दिन लगाएर दाङ तुलसीपुर पुगे। खबर पाउने वित्तिकै सेना त्यहाँबाट हिँड्यो र चौथो दिनमा प्युठान आइपुग्यो। सेना प्युठान आउने क्रममा दाङवाङको सिरसेनी भन्ने ठाउँमा सेना र काङ्ग्रेसका बीच झण्डै युद्ध भएन छ। सेनाले उनीहरू गाऊँमा रहेको जानकारी पाएपछि घेरा हालेछन्। सेना आउला भन्ने विचारै नगरी काङ्ग्रेसहरू गाऊँमा छरिएर बसेका रहेछन्। अनिरुद्रजीले सेनाले घेरेको थाहा पाउने वित्तिकै 'ए वीरे ! उपाय छ भने केही गर्' भन्नुभएछ।
वीरबहादुर ठकुरी भारतीय सेनाका सुवेदार पदसम्म पुगेर अवकास पाएका अनुभवी योद्धा थिए। उनले सेनातर्फ ग्रिनेट हानेछन्। त्यसले सेनाहरूलाई एकछिन अलमलाउने काम गर्यो, यही मौका छोपेर अनिरुद्रजीहरू भाग्नुभएछ। सेना खलङ्गातर्फ अगाडि बढ्यो। प्युठानस्थित चाभा पञ्चायतमा बस्ने सौकद अलिमियाँ पनि आर्मीसँग मिलेर 'म पनि युद्ध गर्न जान्छु' भनी आएका रहेछन्। उनको साथमा बाइबोर बन्दूक रहेछ। काङ्ग्रेसले ग्रिनेट हानेपछि आर्मीले फायर गरेछ। अलिमियाँजीले पनि फायर गरेछन्। उनको बन्दूकबाट काङ्ग्रेसका एक सैनिक घाइते भएछन्। काङ्ग्रेसलाई नमारे पनि घाइते बनाउनेलाई पुरस्कार दिने व्यवस्था सरकारले गरेको रहेछ। मियाँजीले काङ्ग्रेसलाई घाइते बनाएको पुष्टि भएपछि उनले पाँचसय रुपियाँ पुरस्कार पाए। उनलाई सिन्दूर यात्रा पनि गराइएकाे थियाे।
प्युठानका ४८ र रोल्पाका ३७ गाऊँ पञ्चायतका प्रधान र उपप्रधान पञ्चहरूले शपथग्रहण गरेका थियौँ। शपथ कार्यक्रममा बाडीकोटका प्रधानपञ्च एवं मोहनविक्रम सिंका बुबा खिमविक्रम घर्तीक्षत्री पनि आउनुभएको थियो। उहाँ पनि प्रधानपञ्चमा विजयी हुनुभएको थियो। प्युठानको रङ्गमहलनजिकैको खुल्ला चौरमा शपथ कार्यक्रम सम्पन्न भएको थियो। सदरमुकाम कब्जा गर्न गएका भूमिगत पार्टीले हामीलाई पनि केही गर्ने हुन् कि भन्ने सबैको मनमा डर थियो। उनीहरूले सरदमुकाम कब्जा गरेका भए हामी त के बडाहाकिम र त्यतिबेलाका अञ्चलाधीश पनि जिवित रहने अवस्था थिएन। परिस्थितिले साथ दियो, भगवान्ले हात थापेर हामी बाँच्यौँ।
समयले कति अन्तर ल्याउँदोरहेछ, प्रविधिले कति रूपान्तरण गर्दोरहेछ। अहिले ती दिनहरू सम्झदा मलाई बडो आश्चर्य लाग्छ। त्यतिबेला बडाहाकिमको साथमा रेडियोसमेत थिएन। खलङ्गाका एक व्यापरीकहाँ बडाहाकिमले आफ्ना एक कर्मचारीलाई 'ए तारा ! समाचार सुनेर आऊँ' भनेर पठाउँथे। दिउँसोको ठीक २:३० बजे नेपाल रेडियोमा समाचार आउँथ्यो। बडाहाकिमका कर्मचारी तारा कापी, कलम बोकेर जान्थे, सुनेर आएपछि बडाहाकिमलाई बताउँथे। समाचारलाई त्यतिबेला 'हावातार' सुन्न जाने भनिन्थ्यो। असाध्यै कम मानिससँग रेडियो हुनाले यसलाई निकै प्रतिष्ठा र इज्जतको विषय मानिन्थ्यो। शपथग्रहण गरेपछि घर फर्कदा बाटोमा केही हुने हो कि भन्ने सबैमा त्रास थियो। सेनालाई नै आक्रमण गर्ने समूहको अगाडि एक जनाको त के लाग्थ्यो र ? जे होस् भाग्यले गर्दा हामी त्यस अवस्थामा पनि बाँच्यौँ।