मार्चमा पुन: विद्यालय खुल्दा अफगान छोरीहरू पनि जान पाउनुपर्छ- हमिद कारजाई 

Photo - hindustantimes
Photo - hindustantimes

पूर्वअफगान राष्ट्रपति हमिद कारजाईले महिला शिक्षाको मुख्य मुद्दामा आफ्नो दृढ अडान दोहोर्याएका छन्।

'त्यहाँ कुनै बहाना हुन सक्दैन र हुनु हुँदैन। कुनै बहाना स्वीकार्य छैन। देशका छोरीहरू विद्यालयमा फर्कनु पर्छ', कारजाईले अमेरिकी समाचार नेटवर्क सीएनएनसँगको अन्तर्वार्तामा भनेका छन्।

'महिलाहरू काममा फर्कनुपर्छ। हाम्रो धर्मले अनुमति दिन्छ। सिद्धान्त वा अधिकारमा सम्झौता हुन सक्दैन', उनले भने।

नर्वेको राजधानीमा अफगानिस्तानको नियतिका विषयमा व्यापक छलफल भइरहेका बेला उनले यस्तो भनेका हुन्।

अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीको नेतृत्वमा रहेको तालिवान प्रतिनिधिमण्डलले सोमबार ओस्लोमा पश्चिमी राष्ट्रका राजदूतहरूसँग भेट गरेका थिए।  त्यसअघि तालिवान प्रतिनिधिमण्डलले नागरिक समाजका सदस्यहरूसँग पनि भेटका थिए।

करजाईले यी बैठकहरूलाई समर्थन गरेका छन्। जसलाई विज्ञहरूले अफगानिस्तानको समस्याहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन्।

'तालिबान सरकारका प्रतिनिधिहरू र अफगानिस्तानका नागरिक समाजका सदस्यहरूबीच नर्वेमा भएको बैठकबाट हामी खुसी छौं। हामीले केही धेरै रचनात्मक वार्ताहरू गरेका छाैँ', पूर्वअफगान राष्ट्रपतिले भने।

'हामीले यो मार्चमा छोरीहरूका लागि विद्यालय खोल्ने प्रक्रियामा अगाडि बढ्दै, संविधान बनाएर, अरू सबै अफगानीहरूको राय र आकांक्षालाई समेटेर स्थिर र शान्तिपूर्ण अफगानिस्तानको लागि काम गर्न थाल्नुपर्छ,' उनले भनेका छन्।

महिला शिक्षाको विषयलाई समर्थन गर्दै पूर्वराष्ट्रपतिले भने, 'हामी सबै एकअर्कालाई बुझेर काम गर्छौं र मतभेद भए पनि हामी सबै मिलेर बस्छौँ।'

अफगानिस्तान खडेरी, महामारी, आर्थिक पतन र वर्षौंको द्वन्द्वको प्रभावसँग लडिरहेको छ।  लगभग २४ मिलियन मानिसहरूले खाद्य असुरक्षाको अनुभव गरिरहेका छन्।

प्रतिवेदनले भोकमरीका कारण १० लाख बालबालिकाको मृत्यु हुन सक्ने देखाएको छ। संयुक्त राष्ट्रसंघको अनुमानअनुसार यो वर्ष आधाभन्दा बढी जनसङ्ख्याले यो जाडोमा भोकमरीको सामना गर्नुपर्नेछ र यस वर्ष ९७ प्रतिशत जनता गरिबीको रेखामुनि जान सक्नेछन्।

प्रकाशित मिति: : 2022-01-29 11:19:00

प्रतिकृया दिनुहोस्