कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा एकीकृत 'हेल्प डेस्क' स्थापना गरिएको छ। जिल्ला विपत व्यवस्थापन समितिको निर्णयअनुसार जुम्ला बजारमा 'हेल्प डेस्क' स्थापना गरिएको हो।
'हेल्प डेस्क' कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई एन्टिजन परीक्षण गर्ने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए। यस्तै‚ मास्क नलगाएकालाई लगाउन अनुरोध गर्दै वितरण गर्ने पनि गरिएको छ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा 'हेल्प डेस्क' स्थापना गरिएको हो।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले 'हेल्प डेस्क'बाट नागरिकलाई खोप सेवा सजिलो हुने बताइन्। त्यस्तै‚ चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले खोप लिन छुटेकाहरूलाई 'हेल्प डेस्क'बाट सेवा लिन अनुरोध गरे।