पुसको पहिलो साता अर्थात् पुस ३ गते। बिहानको समय। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मैदानबाट श्री एयरको जहाज उड्ने तयारीमा थियो। जहाजको अगाडिको पाङ्ग्राले भुइँ छोड्दै गर्दा सम्झनामा चलमलाउन थाल्यो जन्मभूमि डोटी। डोटी डुम्राकोटमा बिताएका बाल्यकालका दिनहरू सम्झिँदै आँखा रसाएका थिए।
२०४० साल आषाढ १६ गते उच्च शिक्षा अध्ययनको सिलसिलामा काठमाडौं आएदेखि आजसम्म जम्माजम्मी चारपटक जन्मथलो डोटी डुम्राकोट पुग्ने मौका मिलेको छ। सधैँ नै सम्झनामा बोकिरहन्थेँ। यसपटक काठमाडौंबाट धनगढी हुँदै डोटीका लागि साइत जुर्यो।
चाचा मीन, भाइहरू योगेन्द्र, महेन्द्र, र उनका साथी अधिवक्ता केशबसमेत पाँच जना थियौं। हाम्रो डोटी यात्राको प्रमुख उद्देश्य कुलदेवता वेतालको पूजा थियोे। तत्पश्चात् मैले त्यतैबाट जानुपर्ने थियो दार्चुला मार्मा। जहाँ पूर्वसांसद स्व.अक्बरबहादुर सिंहकोे पुख्याैली घर पुगी उहाँको बारे खोज तथा अनुसन्धान गर्नु थियो।
प्लेनको झ्यालबाट प्रकृति र मानव निर्मित संरचना हेर्दाहेर्दै ५५ मिनेट बितेको पत्तो नै भएन। ९:१५ मा धनगढी विमानस्थलमा अवतरण गरियो। धनगढीबाट गाडी रिजर्भ गरेर सुरु भयो दिपायलसम्मको यात्रा। धनगढीबाट यात्रामा थपिए भाइ स्वयम्भू। पहाडी बाटो उकाली, ओराली र घुम्तीहरू पारगर्दै दिपायल पुग्न झन्डै सात घण्टा लाग्यो। एकातिर जात्राको मौसम अर्कोतिर राजनीतिक जात्रा पनि चलिरहेकै थियो दिपायलमा। नेपाली काँग्रेसको महाधिवेसनको भीडभाड कुनै जात्राको भन्दा कम थिएन।
स्वयम्भू र म सिलगढीतिर लाग्यौं। त्यसै दिन शैलेश्वरी माताको जाँत रहेछ। सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठका रुपमा लिइन्छ शैलेश्वरी भगवतीलाई। हतारहतार जिल्ला जनस्वास्थ्यको हाकिम भाइ तेजको क्वाटरमा झोला राखी अगाडी बढ्यौं। शैलेश्वरीको गाँज नाचनथली मस्टोको मांणूमा ल्याइदै थियो। हामीले त्यही गाँजको दर्शन गर्यौं।
मैले २०३५सालदेखि २०३९ सालसम्म विद्यालयस्तरको शिक्षा लिएको ठाउँ थियो सिलगढी। जुन मलाई औधी मनपर्ने ठाउँ पनि हो। त्यतिखेरकोे सिलगढी सुदूरपश्चिमकै अत्यन्त सुन्दर र महत्वपूर्ण ठाउँ थियो। भाइ तेजले त्यही प्रिय सिलगढी बजारको नाचनथलीदेखि जेलघाटसम्म पैदल यात्रा गर्ने मेरो रहर यात्रामा साथ दिएर पूरा गरिदिए। उक्त यात्रा विगत र वर्तमानको सिलगढीको तुलना गर्न निकै सहयोगी पनि बन्यो। सबैभन्दा बढी त्यो पैदल यात्रा विगत सम्झाएर, विगतको याद दिलाएर नोस्टाल्जिक बनाउन उद्यत थियो।
त्यतिखेर सिलगढीका चर्चित व्यापारीका दोकानहरू एकएक गरी अवलोकन गर्ने अवसर मिल्यो। त्यो बेलाका चर्चित व्यापारीहरूमा टेक बहादुर अमात्य, वसन्त अमात्य, भुमिनारायण श्रेष्ठ, जय बहादुर सिंह, विष्णु बहादुर सिंह, चेतराज गुरुजी, हरि साहुजी र चस्मे साहुजी मुख्य व्यापारीको रुपमा हुनुहुन्थ्यो। उहाँहरूको कपडाको व्यापारी थियो।
यतिखेर टेकबहादुर अमात्य र चस्मे साहुजीको दोकान मात्र चालु अवस्थामा छन्। अहिले बसाईसराईको क्रममा कोही काठमाडौंमा त कोही धनगढीमा छन्। सिलगढी आफैँमा एक सुन्दर ठाउँ हो। ठाडै देखिने डाँडाको सिरानीमा सलक्कपरेको बजार। बजारको दुबैतिर घरहरू। बिचमा आकर्षक ढुङ्गा छापेर सिढी बनाइएको बाटो थियोे। अहिले बाटोमा सिढी छैनन्। बाटो ढलान गरेर बाइक गुडाउन मिल्ने बनाइएको छ।
बजार डुल्ने क्रममा निरन्जन श्रेष्ठ सरसँग ईन्द्रचोकमा भेट भयो। एकछिन भलाकुसारी गर्ने अवसर पाइयो। त्यस्तै स्कुल पढ्दाकी साथी वीणा श्रेष्ठको घरमा चिया पिउने अवसर मिल्यो। वीणासँगको भेटभाट क्षणिक भए पनि सम्झनलायक थियो। मा.वि. स्तरकी शिक्षिका वीणाले घरव्यवस्था राम्रो बनाएकी थिइन्। क्षणभरको मुलाकातपछि वीणाजीसँग बिदा भएर हामी लाग्छौँ वासस्थानतिर।
भाेलिपल्ट बिहानको नास्ता खाएर हाम्रो यात्रा सुरु हुन्छ डुम्राकोटतिर। पहाडको कच्ची बाटोबाट मनमोहक दृश्य हेर्दै दिउँसोको एक बजे पुगियो डुम्राकोट, अल्लेवन। कोट, तेपारी हुँदै खाइलेख पुग्दासम्म बेलुकीको पाँच बजिसक्छ। तेपारीबाट सनखेततिरको दृश्य हेर्दा बाँझा खेतहरू देखिए। आश्चर्यचकित हुँदै ती खेतहरू बाँझा रहनुको कारण खोज्न थालेँ। कमाउने व्यक्ति कोही नभएकोले बाँझै रहेको कोटका एक मात्र बासिन्दा जिजुबुवा नर बहादुर शाहीबाट थाहा पाइयो। निकै जिज्ञासु बनेर मैले सोधेँ– यो कसरी हुन गयो ?
जिजुबुवाले सबिस्तार पार्नुभयो– ‘अहिले उतिबेलाको जस्तो परिस्थिति छैन। यहाँका अधिकांश लोग्ने मान्छे नाेकरी गर्न भारत जान्छन्। केहीले खेत बन्धकीमा किनेका छन्। आफैँ खेती गर्दा त्यो खेतबाट खान पुगिहाल्छ। खेत अधिया(बन्धकी) कमाउन चाहँदैनन्। फेरि यता पनि दैनिक ज्यालादारीमा काम पाइहाल्छन्।’
जिजुबुवाको उत्तरले मलाई चिन्तित तुल्यायो। हाम्रो जस्तो देशमा हरकुनै पेशा र व्यवसाय केवल दैनिक जीवनयापनमा मात्र आधारित हुनुहुँदैन। यसले उत्पादनमुलक कामगरी अरू जनता, समुदायलाई समाहित गरी देशलाई नै टेवा दिने खालको हुनुपर्छ। तबमात्र त्यस देशको समुचित विकास भएको मानिन्छ।
हिजोआज मान्छे नतिजा छिटो खोज्छन्। कृषि खेती गर्दा त्यसको प्रतिफल पाउन कुर्नु पर्ने हुन्छ। त्यसमा पनि धेरै जसो ठाउँमा राम्रो नतिजा पाउन मौसमको भर पर्नुपर्ने हुन्छ। उच्चतहको आधुनिक खेती गर्नको लागि प्राविधिक ज्ञान, सीप, जाँगर र पुँजीको समस्या हुने भएकाले पनि त्यतातिर ध्यान नगएको होला भन्ने लाग्छ।
यहाँ माटो सुहाउँदो तरकारी तथा फलफूल खेतीलगायत अन्य व्यवसाय गर्न सकिन्छ। सरकारका स्थानीय निकायहरूले यस्ता जनमुखी कार्यक्रमहरू ल्याउन सक्नु पर्छ। यस्तो गर्नसके उर्बर भूमि बाँझो रहने थिएन। नत्र श्रीमान विदेशतिर, श्रीमती घरमा एक्लै बस्नुपर्ने क्रम पुस्तान्तरसम्म चलिरहने छ। हामीले विदेशी भूमिमा कतिदिन पसिना बगाइरहने ? अनि हाम्रा ती उर्बर खेतहरू कहिलेसम्म बाँझै रहने भन्ने प्रश्न खडा भइ नै रहनेछ।
पहिले यहाँ ठकुरीहरू खेतमा काम गर्दैन थिए। काम गराउनकै लागि पाँच सात जनालाई पैसा वा कमाइ खाने खेत दिएर हली राख्ने चलन थियो। हिजोआज सो प्रथा बन्द भएको छ। केही समय खेत अधियाँ दिई काम चलाय। पछि सो कार्य पनि सम्भव नभएपछि अहिले आफैँ गर्न थालेका छन्। जुन सकरात्म कार्य हो। काम गरेर कोही सानो हुँदैन। यही परिस्थितिको आङ्कलन गरेर होला पूर्वप्रधानमन्त्री डा. केआई सिंहले (२०१२ सालमा) र पछि तत्कालिन गा.वि.स. सचिव धन बहादुर शाहीले अब ठकुरीहरूले हलो जोत्नु पर्छ भन्ने कुरा अभियानका रुपमा अघि बढाउन खोजे।
तत्कालीन ठुलाबडाहरूले परम्परा भाँड्न खोज्ने भनी आलोचनासमेत गरे। कतिले त बरु सेतीमा हामफालाैँलासम्म भन्न भ्याएका थिए। डा. केआई सिंहको कति दुरदृष्टि थियो भन्ने कुरा अहिले प्रमाणित भएको छ।
भोलिपल्ट गाउँको महादेव आधारभूत विद्यालयको अभिभावक बैठकमा उपस्थित हुने मौका मिल्यो। उक्त विद्यालय खोल्दा सुरुवातीका दिनमा हामीले निकै मेहनत गर्नु परेको थियो। अभिभावकहरू बच्चा स्कुल पठाउन मान्दैन थिए। छात्राहरू त झन नगण्यरुपमा थिए। २०३३ सालतिर इन्द्र मा.वि.मा पढ्नेताका विद्यालयमा दश जना छात्रा हुँदैन थिए। अहिले छात्रभन्दा छात्राको संख्या तीन गुना बढी छ। प्रारम्भिक तहमा अध्ययन गर्ने यो संख्या केन्द्रीय तहमा हेर्दा भेटिँदैन। राजनीति, प्रशासन वा व्यापार कतै भेटिँदैन। कता रोकिन्छ भन्ने कुरा खोजको विषय बनेको छ।
मंसिर ९ गते हामी सहस्रलिङ्ग वीरवेतालको पूजा गर्न गनेसकाँडा पुग्यौं। मुखिया हरिलाल पुन मगरको आतिथ्य अविस्मरणीय छ। मुलाको तरकारी र मकैको ढिँडोको स्वाद सम्झिँदा अहिले पनि जिब्रो रसाएर आउँछ।
सहस्रलिङ्ग वीरवेताल यो क्षेत्रकै शक्तिशाली शक्तिपिठमा पर्दछ। अरू जातीले बोका काट्दा उसको नाम लिएर जहाँ काटे पनि फरक पर्दैन। भाकल गरेको छ भने जजलाको थानमा काट्नु पर्ने हन्छ। तर हाम्रो परिवारले भने थानमा भाकल गरेको छ भने पनि गनेसकाँडा, मगरौमै गएर बोका काट्नु पर्ने हुन्छ। जुन देवताले नै तोकिदिएको हो भन्ने किंवदन्ती छ। वास्तवमा वेताल देवताले बोका खाँदैनन्। उनको मन पर्ने गणले बलि खाने गरेको र त्यो गणलाई रिझाउँदा यो परम्परा कायम रहनगएको भन्ने भनाइ छ।
दोस्रो दिन जानु पर्ने थियो दार्चुला मार्मा। यात्रामा अर्का यात्री थपिए लेखक तथा साहित्यकार हेमन्त विवश। दार्चुला बैतडीको यात्रा हाम्रो पहिलो यात्रा थियो। त्यो रात बैतडी पाटनस्थित चन्द होटेलमा बास बस्यौं। एट्याच बाथरुमसहित सबै सुविधा भनिए तापनि कोठामा एउटा सानो ऐनासम्म थिएन।
हात धुने बेसिन, लुगा झुन्ड्याउने हेङ्गर, फ्रस गर्न मिल्ने प्यानका त के कुरा गर्नु। यहाँनिर व्यवसायिकता देखिएन। जुनसुकै व्यवसाय गर्दा पनि त्यसका मापडण्ड हुन्छन्। जुन पूर्णरुपले पालना गरिनु व्यवसायिक धर्म हो। व्यापारमा ग्राहकलाई खुसी पार्न सक्नु सफलताको पहिलो खुट्किलो मानिन्छ। तर त्यहाँ त ‘खाए खा नत्र घिच’ भनेजस्तै थियो।
दोस्रो दिन दार्चुला चमेलियाको किनारैकिनार मर्मा पुग्यौं। त्यो दिन र दोस्रो दिन बिहानभरि अक्बरबहादुर सिंहको विगत र उनको योगदानबारे विभिन्न व्यक्तिसँग अन्तरक्रिया गरियो। बाटोघाटो, स्कुललगायत उहाँले गर्नुभएका थुप्रै सामाजिक कामको विस्तृत विवरण अर्को लेखमा आउने नै छ।
तेस्रो दिन दार्चुलाको सदरमुकाम पुगी होटेल सूर्यप्रकासमा बास बसियो। वास्तवमा हाम्रो उद्देश्य धार्चुलाबाट नैनीताल हुँदै कन्चनपुर बनबासा निस्कने थियो। त्यहाँका स्थानीय साथीहरूको सल्लाहअनुसार हाम्रो यात्रा पुनः नेपालकै बाटो हुने निश्चित भयो।
लिपुलेक कालापानीसमेत राखेर नेपालले नक्सा तयार पार्दा र तुइन काण्डले अलि कडाइ गरेको छ। क्यामरा देख्दा त झन दुख दिन्छन् भन्ने सुनेपछि हामीले रिस्क मोल्न सकेनौं।
भारत भएर बनबासा हुँदै कन्चनपुर पुग्ने रहर थाती राख्दै अन्तत्वगत्वा दार्चुला बैतडी डडेल्धुरा, कैलाली हुँदै काठमाडौं फर्कियौं। धनगढीबाट काठमाडौं फर्किँदा प्लेनको झ्यालबाट हेर्न खोजेँ जन्मभूमि। सम्झनामा आइरहे एकातिर बाँझै रहेका खेतका गराहरू अर्कोतिर विदेशीएका पाइलाहरू।