रोल्पामा दुई वटा कोल्ड स्टोर सञ्चालनमा हुँदै

रोल्पामा दुई वटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

तरकारीको पकेट क्षेत्र मानिएको रोल्पाको त्रिवेणी र रुन्टिगढीका लागि त्रिवेणी गाउँपालिका–२ दहबन र फलफूलको पकेट क्षेत्र जिनाबाङका लागि गंगादेव गाउँपालिका–३ मनिमारेमा कोल्ड स्टोर निर्माण भइरहेको छ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएको कोल्ड स्टोर अबको केहीदिनमै हस्तान्तरण गर्ने गरी काम भइरहेको कोल्ड स्टोरको सुपरीवेक्षण गरिरहेका इञ्जिनियर सुरेश घर्तीमगरले जानकारी दिए।

‘दुबै कोल्ड स्टोर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ’ इञ्जिनियर घर्तीले भने ‘अबको केही सातामै कोल्ड स्टोर सञ्चालनमा आउने गरी काम भइरहेको छ।’

प्रदेश सरकारको साढे ५ करोड लागतमा निर्माण भइरहेको दहबनस्थित कोल्ड स्टोरको क्षमता ५०० मेट्रिक टन रहेको छ भने साढे २ करोड लागत रहेको जिनाबाङमा निर्माण भइरहेको कोल्ड स्टोरको क्षमता २०० मेट्रिक टन रहेको छ।

कोल्ड स्टोर निर्माण भएसँगै यस क्षेत्रका किसानहरु हर्षित भएका छन्। यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई बेमौसममा बिक्री गर्न सकिने भएपछि आफूहरु हर्षित भएको साना किसान सहकारी संस्थाकी अध्यक्ष प्रमिला पुनने बताइन्।

‘यसअघि वर्षायाममा उत्पादित तरकारीले बजार नपाएर हैरान हुने गरेका थियौं’, पुनले भनिन्, ‘अब उक्त समस्या हट्ने भएपछि हामी खुसी छौं।’

यस्तै स्याउ, किबी र आलुको उत्पादनमा फरक पहिचान बनाएको रोल्पाको जिनाबाङका किसानले पनि राहत महसुश गरेका छन्। कोल्ड स्टोरले यहाँ उत्पादन हुने स्याउ र आलुले राम्रो मूल्य पाउनेमा आफूहरु ढुक्क भएको किसानका लागि कृषक समूहका अध्यक्ष अमृत केसीले बताए।

‘यसअघि कुहिने डरले सस्तो मूल्यमै स्याउ बेच्दै आएका थियौं’, केसीले भने, ‘अब हामीले बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न पाउने भएका छौं।’

प्रकाशित मिति: : 2022-01-27 11:19:00

प्रतिकृया दिनुहोस्