रामचन्द्रको ग्राफिक नोभेल ‘जस्टिस’ किकस्टार्टरमा 

अमेरिका निवासी पोखराका मूलबासी रामचन्द्र खत्रीको ग्राफिक उपन्यास ‘जस्टिस’का लागि १४ गते शुक्रबार (जनवरी २८) देखि किकस्टार्टरमा ‘क्राउडफन्डिङ क्याम्पेन’ सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यो अभियान नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक उपन्यास छपाएर वितरण गर्नका लागि रकम उठाउने उद्देश्यका साथ सुरु हुन लागेको हो। 

सन् १९९६ देखि एक दशकसम्म नेपालमा चलेको माओवादी द्वन्द्वकालको घटनामा आधारित कथामा खत्रीले जस्टिस उपन्यास लेखेका हुन्। ग्राफिक उपन्यास एक किशोरी र उनको परिवारले न्यायप्राप्तिका लागि गरेको संघर्षमा आधारित रहेको खत्रीले जनाएका छन्। 

किकस्टार्टर क्याम्पेनको मूल उद्देश्य अन्तर्राष्ट्रिय पुस्तक प्रकाशनमा एक फरक मोडेलको रूपमा परिचित ‘क्राउडफन्डिङ’ विधि मार्फत् पुस्तक छापेर वितरण गर्नु हो। ‘किकस्टार्टर’ सिर्जनशील कार्यहरूका लागि ख्यातिप्राप्त प्लेटफर्म हो भने ‘ग्राफिक नोभेल’ अमेरिकी प्रकाशन बजारमा चलेको विधा हो। नेपाली माओवादी द्वन्द्वमा आधारित ‘जस्टिस’ द्वन्द्वका कारण उठीबास लाग्न पुगेको एक किशोरी र उनको परिवारको कथा हो। 

के छ जस्टिसमा र यो क्याम्पेन किन ?
एक दुर्गम गाउँमा बस्ने तारा अनि उनको परिवार माओवादी छापामार र पुलिस प्रशाशनको दोहोरो चेपुवामा परेको कथा जस्टिस उपन्यासमा छ। उपन्यासको कथा अनुसार माओवादीलाई खान–बस्न दिएको आरोपमा उनीहरू पुलिस प्रशासनको तारो बन्छन्। 

व्यक्तिगत रिसइवी र परिवारको एकल छोरालाई जनयुद्धमा नपठाएको भन्दै उनीहरू तत्कालीन माओवादी विद्रोहीको समेत निशानामा पर्छन्। अन्ततः परिवारको उक्त सदस्य एकाएक बेपत्ता हुन पुग्छ र कथाको अन्त्यसम्म उसको अवस्था अज्ञात रहन्छ। 
परिवारको सदस्य वेपत्ता भएकै अवस्थामा ताराको परिवार घर छाड्न बाध्य हुन्छ। केही वर्षपछि तारा एक्लै घर फर्कंदा उनमा आएका संस्मरणहरूको सेरोफेरोमा उपन्यास लेखिएको छ। लेखक खत्रीका अनुसार बेपत्ता परिवारको सदस्यका लागि गरिएको संघर्ष र खोजी नै कथाको मूल विषय छ। ‘द्वन्द्वकालमा भएका हजारौं घटनाहरूको एक प्रतिनिधि उदाहरण हो जस्टिस,’ उनी भन्छन्। जम्मा १२० पृष्ठको यो ग्राफिक नोभेलमा ३ भाग छन्। यो क्याम्पेन पहिलो भागमा केन्द्रित हुनेछ। 

ग्राफिक नोभेलका लेखक तथा क्याम्पेनका प्रोजेक्ट म्यानेजरसमेत रहेका रामचन्द्रका अनुसार ‘डाइभर्स स्टोरीटेलिङ’का लागि प्रख्यात प्लेटफार्म किकस्टार्टरमार्फत् ठूला प्रकाशकका आँखामा नपरेका लाखौँ लेखकहरूले आफ्ना सफल क्राउडफन्डिङ क्याम्पेन पूरा गरिसकेका छन्। ‘पुस्तकलाई प्रकाशनको तहदेखि नै बजारीकरण गर्ने एउटा प्रगोगात्मक विधि पनि हो यो। यसलाई प्रि–अर्डर क्याम्पेन भने पनि हुन्छ,’ खत्रीले भने, ‘अमेरिकी गृह–युद्धका कथा आज पनि लेखिन्छन्, धेरै कोणबाट। र, ती ‘बेस्टसेलर’ पनि हुन्छन्। नेपाली द्वन्द्वकथाको यो प्रतिनिधि कथामा काम गर्नुको मुख्य उद्देश्य संसारभर रहेका आम पाठकसामु नेपाली साहित्यमा पनि पढ्नलायकका कथा र विषयवस्तु छन् भनी देखाउनु हो।’

ग्राफिक नोभेलका लागि संदिपन सन्त्रा चित्रकार, व्लेक होना डेभलपमेन्टल एडिटर, रेचेल स्लेमन कपि एडिटर र सहब खान लेटरर छन्। युनिभर्सिटी अफ क्यालिफोर्नियाका सह–प्राध्यापक तारा सिग्देलका अनुसार जस्टिस नेपाली द्वन्द्वकालको इतिहासलाई चियाउने एउटा झ्याल हो। ‘एउटा कुरूप द्वन्द्वको सुन्दर चित्रण हो जस्टिस,’ उनी भन्छन्। त्यस्तै अमेरिकी ग्राफिक नोभेल लेखक, सम्पादक र डिसी कमिक्सका पूर्वअध्यक्ष पल लेभिटका अनुसार जस्टिस ‘फरक तथा भिन्न पृष्ठभूमिमा घटेका अति नै सर्वविदित् मानवीय चुनौतीहरूको एउटा अन्वेषण हो।’

पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एमएस र त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अंग्रेजी साहित्यमा एमए गरेका रामचन्द्र खत्रीका नेपाली र अंग्रेजी भाषामा अनुदित पुस्तकहरू प्रकाशित छन्। यसअघि उनी एकेडेमिक र कमर्सियल प्रकाशनमा ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’ र ‘प्रोजेक्ट म्यानेजर’ का रूपमा काम गरिसकेका छन्। फ्रान्ज काफ्काकृत् ‘द मेटामोर्फसिस’को नेपाली अनुवाद रामचन्द्रको पछिल्लो प्रकाशित पुस्तक हो।

प्रकाशित मिति: : 2022-01-26 08:26:00

प्रतिकृया दिनुहोस्