जहाँ आशा रहदैन, विश्वास रहदैन त्यहाँ भविषय देखिइन छोड्छ। अनि, जहाँ भविष्य देखिदैन, त्यो असुरक्षित भविष्य भएको देशमा मानिस बसिरहन सक्दैन। पछिल्लो समय नेपाल एउटा यस्तै देश बन्दै गएको छ। दिन प्रतिदिन नेपाल छोड्नेको बढ्दो तातीले छ्के किनारमा यही साक्षी बकिरहेको छ ।
जति नै आशावादी कुरा गर्न चाहे पनि तथ्यहरूले के देखाउँछ भने नेपाल क्रमश: बस्न लायक देश बन्दैछैन। मुलुकका सबैखाले राज्यसयंन्त्रमा नियत खराब भएका र ल्याकत नभएका लोभी पापीहरू पुगेका छन्। फरक यति हो, कोही अनुभवी छन् प्रक्रिया मिलाएर लुटिरहेका छन्, कोही अनुभवहीन छन् प्रक्रिया मिलाएर नलुट्दा समाचारका शीर्षक बनेका छन्। तर, कारबाही गर्ने ठाउँमा सेटिङमा उनीहरूकै मानिस पुर्याइएकाले कारबाही हुन सकेको छैन। यदाकदा कारबाही भैहाले पनि ल्याकत भएकालाई प्रहरीले पक्राउ गर्नै सक्दैन । जब अदालतमा अर्को तहको सेटिङ हुन्छ, तब उनीहरू झ्यालबाट चोरका रूपमा अदालत छिर्छन् र सुनपानी छर्काएर ढोकाबाट साधु बनेर निस्कन्छन्। मानौ, अदालत भनेकै चोरहरूलाई चोख्याएर साधु बनाउने कारखाना हो।
समाज पनि त्यस्तै छ। जब यस्ता चोरहरू ‘अदालतबाट सुनपानी छर्किएर’ समाजमा आउँछन्, उनीहरूको जयजयकार हुन्छ। किनकि, त्यो समाज त्यस्तै चोरहरूका कारण लाभान्वित भएको हुन्छ। आफूलाई फाइदा भएपछि चोर होस् कि साधु, त्यो आफ्नोमान्छे हुन्छ र उसले जे गर्दा पनि जायज हुन्छ भन्ने मानक बनाइएको छ। हुँदा हुँदा यस्ता प्रश्न सामान्य हुँदै गएका छन् कि ‘उसले गर्दा हुने हामीले गर्दा किन नहुने ?’ ‘पाएको बेला गरेन भने कहिले गर्ने ?’
यी प्रश्नहरूले के देखाउँछ भने देशमा प्रतिस्पर्धा राम्रो गर्नमा भन्दा पनि नराम्रो गर्नमा छ, नियम कानुन पालना गर्नमा भन्दा पनि अवज्ञा गर्नमा छ। सारमा यो वा त्यो नाममा मुलुक लुट्ने प्रतियोगिता जारी छ। जसले जति लुट्न सक्छ, लुटेकै छ। पद भनेकै एक किसिमको लुट्ने लाइसेन्सजस्तो भएको छ । खरिदारले हजारमा लुट्ला, मन्त्रीले करोडमा, प्रधानमन्त्रीले अर्वमा । तलकाले सिधै लुट्छन्, माथिकाले धेरै गरे नीति मिलाएर लुट्दा हुन् । काइदा र मात्रा फरक होला, लुट त लुट नै हो ।
भनाइ नै छ, अपवाद जहाँ पनि हुन्छ। नेपालमा त अपवाद पनि बाँकि नरहने अवस्था सिर्जना हुदैछ। किनकि, अपवादहरू पदमै नपुग्ने स्थिति बनाइएको छ, जब पदमै पुग्ने स्थिति बन्दैन, तब अपवाद बच्ने कुरै भएन।
यो पंक्तिकारले नेपालमा अपवाद पनि मरेको देखेको छ । यो पंक्तिकारले पनि अत्यन्तै सम्मान गर्ने एक कवि-गीतकार थिए, दिनेश अधिकारी । कानूनका विद्यार्थी उनी निया निसाफका मामलामा अत्यन्तै जानकार र सजग थिए र हरेक कुरामा कानुनका कुरा गर्थे। तर, तिनै दिनेश सचिव हुँदा बालुवाटार जग्गाप्रकरणमा मुछिए । अहिले उनीविरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । तर, प्रहरीले उनलाई भेट्दैन, भेटेको छैन । अहिले उनी फरारको सूचीमा छन्। यो घटनाले ऐठनमा छ यो पंक्तिकार । व्यक्तिगत रूपमा दिनेश दाइ भनेर चिनेका दिनेश अधिकारी स्वरस्वतीको उपासक थिए, सचिवबाट अवकाश पाएकाले निवृतिभरण पाउँथे, काठमाडौंमा घर थियो, सिर्जनशीलताबाट पनि राम्रो आर्जन गर्न सक्थे । उनी लाखौंका आदर्श थिए, तर जब उनै दिनेश यस्तो घटनामा मुछिएर फरार हुन्छन् , विश्वास गर्न गाह्रो हुन्छ। तर विश्वास नगरेर के गर्ने, त्थयले भन्छ; उनीविरूद्ध पक्राउ पूर्जी जारी छ, प्रहरीमा हाजिर हुन गएका छैनन् । यसले के बुझाउँछ भने उनी पनि निर्दोष छैनन्। जब दिनेश अधिकारीहरू अपवादमा पनि पर्दैनन् भने त्यो देशमा अपवाद पनि कसरी बाँच्छ र ?
मुलुकको मियो राजनीति हो, त्यो नै सही छैन। मुलुक हाँक्ने सबै राजनीतिक पार्टीको मूल नेतृत्व प्रधानमन्त्री भएर परीक्षण भैसकेको छ। आजको नेपाल जे हो, त्यो उनीहरूकै योगदानको योगफल हो। कसैको कम होला, कसैको बढी। तर, मुलुकलाई आज यो रूपमा पुर्याउन उनीहरूकै सबैभन्दा बढी योगदान छ। मुलुकले कम्तिमा अबको पाँच वर्ष यही नालायक र नियत खराब भएको नेतृत्वमा भर पर्नुपर्छ किनकि केही समयअगाडि आयोजित पार्टीका जम्बोरीबाट उनीहरूले त्यो लाइसेन्स पाएका छन्।
पटक-पटक असफल र नालायक भएको अनि मुलुकलाई नै असफल राष्ट्र बनाउन योगदान गरेको यही नेतृत्व अबको पाँच वर्ष सरकारको नेतृत्वमा पुग्ने तारतम्य मिलाइसकिएको छ। उनीहरूका मन्त्रीहरू को को बन्छन् भन्ने पनि लगभग तय छ। ती सबै कुनै न कुनै रूपमा यसअघि मौका पाइसके । अधिकांशले लुटतन्त्र नै मच्चाएका घाउहरू देशसँग छन् ।
जब देशको वर्तमान स्थिति मात्र हैन, अब आउने पाँच वर्षको चित्र पनि यस्तो निराशालाग्दो छ, तब कुनै पनि सक्रिय हुने उमेर भएको मानिस कसरी आफ्नो भविष्य सुरक्षित छ भनेर नेपालमा बसिरहन सक्छ र ? बस्दैन । बस्ने भनेको उमेर ६० नाघेका अवकाशप्राप्तहरू, बाहिर गएर केही गर्न नसक्ने अवस्थामा पुगेकाहरू, देशमै गतिलो स्थायी जागीर भएकाहरू, बाहिर जान चाहेर पनि बाहिर जान नसक्नहेरू र आफ्नै देशको कम्फोर्ट जोनमा बसेर एक जुनी बिताउनेहरू मात्र हुन्। यसमा आफूलाई अपवाद राख्नेहरू हन सक्छन् जो गैरसरकारी संस्थामा खेतालाको काम गर्छन्।
कुनै समय थियो, देश छोडेर हिड्नेलाई पलायनवादी भनेर तथानाथ भनिन्थ्यो । उनीहरूको समाजमा इज्जत हुदैनथ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । मुलुकको अवस्था नै यस्तो बनाइएको छ कि त्यो संकथनको पाराडाइम सिफ्ट भएको छ । मानिसरहरू हाकाहाकी भन्न थालेका छन्, यस्तो देशमा बसेर के गर्ने त ? गएकै बेस।
मुलुकमा अब देश छोडेर जानेलाई कन्सेसन दिन थालिएको छ। यसको अर्थ घुमाइ फिराइ उही हुन्छ कि देश अब बस्न लायक हुदैछैन। देशमा आफ्नो र भावी सन्ततिको भविष्य सुरक्षित छैन । किनकि जो रक्षक हुन्, उनीहरू भक्षक भैसके । कोही अपवादमा बचेनन् । दरवार र झण्डा मात्र फरक भए ।
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बन्नेको संख्या वर्षेनी बढिरहेको छ। ब्रेन ब्याक हुनुपर्ने चरणमा नेपाली नागरिकता नै त्यागेर ब्रेन ड्रेन हुनु किमार्थ पनि नेपालका लागि शुभ शंकेत हैन। अब प्रश्न उठ्छ, यसका लागि दोषी को ? औला देशको नागरिकता त्यागेर जानेतिर भन्दा पनि देशलाई यो अवस्थामा पुर्याउने राजनीतिक पार्टी र तिनका नेतातिर ठडिन थालेको छ। नेपालको कोणबाट हर्दा यो असफल राष्ट्र हुने बाटोतिरको यात्रा हो।
उता, देशको अवस्था र मुड फेरिइरहेको बेला यता अमेरिकामा नागरिकता लिने नेपालीको तथ्यांक पनि नेपालको पक्षमा देखिदैन। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बन्नेको संख्या वर्षेनी बढिरहेको छ। कोरोना महामारीका कारण नागरिकताको प्रक्रिया ज्यादै धिमा गतिमा भएको यस वर्ष मात्रै पाँचहजारभन्दा बढी नेपालीले अमेरिकी नागरिकता लिएको तथ्यांक बाहिरिएको छ। यो पाँचहजारले चेन माइग्रेसनका लागि आफ्ना दाजुभाइ, दिदीबहिनीका लागि पनि आवेदन गर्छन् । एक तथ्यांकले यसरी आवेदन दिने नेपालीको संख्या एकजना बराबर चारजना हुने देखाएको छ । फेरि जसका लागि आवेदन गरिन्छ, त्यो उसको परिवारका लागि पनि लागु हुन्छ, त्यसो गर्दा यो संख्या अरू बढ्छ। जस्तो कि, दाजुका लागि गरियो भने त्यसले उनको पूरै परिवार समेट्छ । पालो आउन समय लाग्छ, तर पर्खने धैर्य भएकाहरू चेन माइग्रेसमार्फत् पनि बर्सनी हजारौको संख्यामा आउने मेलोमेसो मिलिरहेकै छ । तथ्यहरू बोलिरहेका छन्, अमेरिका आएर बस्न पाउँने स्टाटस बनाएकाहरू नेपाल फर्कनेको संख्या अपवादमा मात्र छ ।
अर्कोतिर, नेपालीले अमेरिकी नागरिकता लिएर पनि नेपालमा उसको स्टाटसमा खासै फरक परेको छैन। अमेरिकी नागरिकता लिदा नेपाली नागरिकता बुझाउनु नपर्ने भएकाले नेपाल छिर्दा अमेरिकी पासपोर्ट प्रयोग गरे पनि नेपालमा नेपाली नागरिकता प्रयोग गरेर सबै काम गर्न छुट छ। त्यही नागरिकता देखाएर भोट हालिरहेका छन्, राजनीतिक पार्टीको सभासम्मेलेनमा सहभागी हुने र उम्मेद्वार हुनेसम्म गरिरहेका छन् । घरघडेरी जोड्ने, बेच्ने, सेयर खरिदबिक्री गर्ने, व्यापार ब्यवसाय गर्ने भैरहेकै छ । एकपटकको नेपाली सधैको नेपालीका नाममा मुखमा राम राम बगलीमा छुरा गर्नेहरू यताउता गरिरहेकै छन् ।
अमेरिकी नागरिकता लिइसकेका नेपालीको नेपाल प्रवेश गर्दा अमेरिकी पासपोर्टमा भिसा लागेको अभिलेख सरकारी कार्यालयहरूमा पठाइने र रूजु गर्ने व्यवस्था छैन । यही तथ्यांकका कारण उनीहरूले नेपालमा अतिरिक्त सुविधा पाएका हुन्। अझ चलाखहरू त अमेरिकाबाट भारतको भिसा लिएर भारत जान्छन् अनि नेपाली नागरिकता वा पासपोर्ट देखाएर नेपाल छिर्छन्। पछि अमेरिका फर्कदा पनि त्यही बाटो भएर फर्कन्छन्। यसो गर्दा उनीहरू नेपाल पसेकै देखिदैन। केही अपराध गरेर भारत छिरे भने उनीहरूलाई कानूनी रूपमा केही गर्न सक्ने कानुनी आधार नै नेपालमा हुदैन।
यसरी एकातिर नेपाल असफल राष्ट्र हुँदै गएको स्थिति र अर्कोतिर अमेरिकी नागरिकता लिए पनि नेपालमा केही फरक नपर्ने अवस्थाले गर्दा अमेरिकामा नागरिकता लिने नेपालीको संख्या दिनानुदिन बढेको हो । यो क्रम अमेरिकामा मात्र भएर विश्वका विकसित राष्ट्रमा गएका नेपालीका लागि पनि सरोबरी नै लागू भैरहेको छ।
ब्रेन ब्याक हुनुपर्ने चरणमा ब्रेन ड्रेन हुनु त्यो पनि नेपाली नागरिकता नै त्यागेर; नेपालका लागि शुभ शंकेत हैन। अब प्रश्न उठ्छ, यसका लागि दोषी को ? लगभग आमसहमति भएको उत्तर हो, देशको अवस्था। अनि, देशको अवस्था यस्तो बनाउन को जिम्मेवार हुन् भन्दा धेरैको उत्तर हुन्छ, राजनीतिक पार्टी र नेताहरू। अर्थात् दोष देशको नागरिकता नै त्यागेर जानेहरूलाई हैन, नेपालको अवस्था र त्यो अवस्थामा पुर्याउने राजनीतिक पार्टी र तिनका नेताहरूलाई दिन थालिएको छ।
नेपालको कोणबाट हेर्दा यो असफल राष्ट्र बन्ने बाटोतिरको यात्रा हो । अहिलेका लागि लगभग एकतर्फि देखिएको यो यात्रा त्यति छिटै दुईतर्फि हुने संकेत देखिएको छैन ।
छातिमाथि हात राखेर नढाँटी भन्ने हो भने मुलुकको पछिल्लो यथार्थ यही हो । यसोभन्दा केहीलाई नकरात्मक सोच, निराशा र कुण्ठाजस्तो लाग्न सक्छ; तर यथार्थमा त्यो उनीहरूको लागि पनि आत्मरति मात्र हो । आगे जो जसलाई सम्बन्धित छ, उनीहरू नै जानुन् ।
Did not the Government of Nepal declare the people with PR and Green Card personna nongrata and forced to stay away from the country? Why lament now that these are not returning but taking citizenship there in their work place? The country wants only the thugs to rule, closing doors for its good citizen to return, and so it be.
Sabai yastai vaner gaya vane kasle banauxa sundar nepal,,, sakxau nepalma baser tesko birodha gara aawaja uthaau,,,Haina vane laachar vayar desh xoder Janele nepalko khokro rastrabad ka kura nagarda ramro... Yadi sachchai nai Maya xa vane farker desh banauna sakne himmat huna paryo hoina vane aalochana matra garera Kam xaina,,, garna khi nakhojne aalochana matra garera aafulai matra deshko Maya lagne jasto kuro nagaram hunxa..