पछिल्ला वर्ष जगजित श्रेष्ठले अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन्। २८ वर्षीय यी खेलाडी परिवारसँगै साउथ अष्ट्रेलिया बस्दै आएका छन्। जहाँ उनी स्थानीय क्लबबाट विभिन्न प्रतियोगिता खेलिरहेका हुन्छन्।
नेपालमा शीर्ष डिभिजन लिगको मिति तय भएसँगै जगजित नेपाल आउँछन्। अघिल्लो समय मनाङ मर्स्याङ्दीबाट खेलेका जगजितले यस पटक आफ्नो गन्तव्य त्रिभुवन आर्मी फुटबल क्लबलाई माने। आर्मीबाट सुरुवातमै ‘प्लेईङ सेट’मा खेलेका जगजितले आफ्नो पुरानो लयलाई कायम रहेको जनाए।
लिगमा सुरूवाती खेलमा आर्मीले सोचेको प्रदर्शन दिन सकेन। लिग सुरु नहुँदै उसका महत्वपूर्ण दुई खेलाडीले चोट बोकेका थिए। यस्तोमा आर्मीलाई जगजित पनि बरदान नै सावित भए। जगजितले टोलीको लागि शत प्रतिशत थिए।
सहिद स्मारक ए डिभिजन लिगमा आर्मी जगजितको लागि नयाँ टोली थियो। त्यसका बाबजुद जगजितको प्रदर्शन भने उम्दा रह्यो। लिगको नवौं चरणको खेल सकिँदा जगजितले आर्मीका लागि सबै खेल खेले। नौ खेलमा ६७१ मिनेट (इन्जुरी समयलाई छाडेर) खेलेका जगजितले दुई गोल गरेका छन् भने दुई असिष्ट गरेका छन्।
यही प्रदर्शनले जगजितलाई राष्ट्रिय टोलीमा तानेको छ । मतलब उनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन्। यदि बन्द प्रशिक्षणमा आफूलाई पुनः प्रमाणित गरेको खण्डमा जगजितले राष्ट्रिय टोलीमा ‘कमब्याक’ गर्नेछन्।
प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले सातौँ चरणसँगै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी बोलाउँदा जगजित अटेनन्। लिगको प्रदर्शनको आधारमा जगजितलाई नबोलाउँदा धेरैले आश्चार्य जनाए। नवौंं चरणपछि पुनः कुवेती नागरिक अब्दुल्लाहले केही खेलाडीलाई मौका थिए। जसमा जगजित सामेल दिए।
पहिलो पटक टोलीमा जगजितलाई स्थान नदिँदा अब्दुल्लाहले सोही दिन आफ्नो सामाजिक सञ्जालको स्टोरीमा ‘वि क्यान नट बि टु ह्यान्डसम इन द टिम’ राखेका थिए। यस क्रममा उनले जगजितसँग सेल्फी पनि लिएका थिए।
नेपालले यही १५ र १८ माघमा पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। दशरथ रंगशालामा हुने खेलअघि जगजितले प्रशिक्षणमा अब्दुल्लाहलाई खुसी पार्न सके टोलीमा फर्कनेछन्।
यदि सफल भएमा जगजित सन् २०१७ पछि पहिलो पटक राष्ट्रिय टोलीमा ‘कमब्याक’ हुनेछन्। ‘धेरै वर्षपछि मलाई अवसर आएको छ। जहाँसम्म लाग्छ मलाई यो अन्तिम अवसर हो। मेरो करियरलाई सार्थकता दिने यही हो अवसर। यसलाई सकारात्मक रुपमा लिएको छु,’ करिब पाँच वर्षपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका जगजितले भने।
जगजित २०६७ सालको सहिद स्मारक ए डिभिजन लिग खेल्न पनि नेपाल आएका थिए। त्यतिबेला मनाङ मर्स्याङ्दी क्लब रोजे। तर, विवादित बन्न पुगे। २२ पुसमा मनाङ र तत्कालीन च्याम्पियन मछिन्द्रबीचको खेल २-२ को बराबरीमा टुंगिएसँगै खेलाडी एकआपसमा हातपात गर्न थाले।
मैदानमा हानाहानको अवस्था शृजना भएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङका एक किट म्यानेजरसहित तीन खेलाडी र मछिन्द्रका तीन खेलाडीलाई कारबाही गर्यो। जसमा जगजित पनि मुछिए।
जगजितलाई पाँच खेलको प्रतिबन्धसहित १० हजार जरिवाना गरियो। विवादिन बनेलगत्तै बाँकी खेल गुमाउने भएपछि जगजित पुनः अष्ट्रेलिया लागे।
यस पटक आर्मीमा भने जगजितले आफ्नो शंकालु प्रवृत्तिलाई हटाउँदै सुधारिएको प्रर्दशन दिन सफल भए। यद्यपि जगजितलाई आर्मी टोलीसँग घुलमिल हुन निकै समय लाग्यो।
‘आर्मीको टिममा मलाई तालमेल मिलाउन गाह्रो भयो। नेपाल आउँदा नै म बिरामी थिएँ। आर्मीको खेल्ने फरक शैली थियो। त्यहाँ मलाई मिल्न अलि समय लाग्यो। हुन त अझै राम्रोसँग तालमेल मिलेको छैन। अब, लिगमा पनि राम्रो हुन्छ,’ जगजित भन्छन्।
जगजितले मार्च सन् २०११ र २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरे। भुटानमा घरेलु टोलीविरुद्ध प्रशिक्षक ग्राहम रोबर्टसले जगजितलाई दोस्रो हाफमा डेब्यु मौका दिएका थिए। तत्कालीन समय अनिल गुरुङको स्थानमा मैदान प्रवेश गरेका जगजित उही अनिलले राष्ट्रिय टोलीबाट सन्यास लिएयता टोली बाहिर छन्।
सन् २०१७ मा एसियन कप छनोट खेलमा फिलिपिन्सविरुद्ध टोलीमा रहेका जगजितलाई प्रशिक्षक ग्योतोकु कोजीलेले बेन्चमै सिमित गराए। त्यसयता भने जगजित टोली बाहिरै छन्।
जगजित नेपाली टोलीले १२औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक जित्दा र ढाकामा भएको बंगबन्धु गोल्डकप जित्दाका मुख्य खेलाडी हुन्।
अब, एक पटक पुनः जगजितलाई आफूलाई प्रमाणित गर्दै राष्ट्रिय टोलीबाट बिदाइ लिने अवसरसमेत छ। नेपालमा कमै खेलाडीले यसरी आफूलाई बिदाइ लिने अवसर पाउँछन्।
जगजितले यदि राष्ट्रिय टोलीको अन्तिम २३ मा आफूलाई स्थान दिन सके पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग राष्ट्रिय टोलीको यात्राबाट बिश्राम लिन पाउनेछन्।
‘धेरै खुसी लागेको छ। धेरैपछि मौका पाएँ। यहाँ (अभ्यास) को वातावरण पनि राम्रो छ। मेरो शैली र टोलीको शैली पनि यही हो। फाइनलमा चरणमा स्थान बनाए भने धेरै योगदान गर्न सक्छु,’ जगजितले भने।