
संघीय सरकारको शिक्षा मन्त्रालयको निर्णय विपरित रोल्पाको गंगादेव गाउँपालिकाले विद्यालय सञ्चालन गर्दै आएको छ।
गत पुस २६ गते नै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिएको भएपनि गाउँपालिकाभित्र विद्यालय सञ्चालन गर्दा ३ जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ।
शुक्रवार भगवती आधारभूत बिद्यालय गंगादेव गाउँपालिका–३ कुकुरगारेमा गरिएको एन्टिजेन परिक्षणमा ३ जना शिक्षकमा संक्रमण देखिएको हो।
गाउँपालिकाभित्र कोरोना संक्रमण नदेखिएकाले विद्यालय सञ्चालन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले बताए। ‘शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्देशन गरेपनि हामीले बन्द गरेका थिएनौं’, बस्नेतले भने, ‘आज कार्यपालिका बैठक बस्दै छ, के निर्णय हुन्छ हेरौं।’
शिक्षामा मनदाग्दी गर्दै गाउँपालिका
गाउँपालिकाले शिक्षा क्षेत्रमा मनलाग्दी निर्णय गर्दै आएको छ। २०७७ पछि देशका सबै स्थानीय तहबाट स्रोत व्यक्तिहरुलाई पुनः शिक्षकका रुपमा पठाइएको भएपनि गंगादेव गाउँपालिकाले भने अझै स्रोत व्यक्तिलाई नै गाउँपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइरहेको छ।
गाउँपालिकामा विद्यालय निरीक्षक कार्यरत भएपनि शक्तिको आडमा तल्लो तहका स्रोत व्यक्ति शेरबहादुर डाँगी लाई शिक्षा शाखाको जिम्मेवारी दिइएको हो। यस्तै शक्तिको दुरुपयोग गर्दै एक जना विद्यालय कर्मचारी हरि खड्कालाई गाउँपालिकामा राखिएको छ।
विद्यालयको लेखा र प्रशासन हेर्नुपर्ने खड्काले गाउँपालिकाको शिक्षा शाखाको खटनपटन हेरिरहेका छन्।
सार्वजनिक विदामा पनि विद्यालय सञ्चालन
गाउँपालिकाले संघीय तथा प्रदेश सरकारले गरेको विभिन्न सार्वजनिक विदामा पनि विद्यालय खोल्न निर्देशन दिने गरेको छ।
माघ २ गते लुम्बिनी प्रदेशले माघीको अवसरमा सार्वजनिक विदा दिएपनि गंगादेवले विद्यालय खोल्न निर्देशन दिएको शिक्षकहरुको गुनासो छ।
१ .
२ .
३ .
४ .
५ .