काठमाडौंमा मंगलबार (आजबाट) अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरू भएको छ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरू गरेको हो।
मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन्।
फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएकोले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाइएको हो। नेपाल र मोरिससबीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ। काठमाडौंमा नै जारी रहेको ए डिभिजन लिगको नवौं चरण सोमबार सकिएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आवद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन्।
मुख्य प्रशिक्षण अल्मुताइरीले सहायक प्रशिक्षकका रूपमा संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन्। मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रूपमा टिममा बोलाएका हुन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा कुरा गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिससविरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्। मौरिससविरुद्धको खेलमा केही नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन्।
यस्तै, सहायक प्रशिक्षकको रूपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफूले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफूलाई र खेललाई अझ निखार्ने बताएका छन्। यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तीमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठ पनि प्रशिक्षणमा छन्।
जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन्। तर, नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ।