बम्बै बाल हत्याकाण्डः ‘रेणुका–सीमा’लाई सुनाइएको मृत्युदण्ड सजाय खारेज

Photo: ians

सन् १९९६ को चर्चित ‘मुम्बई बाल हत्याकाण्ड’ प्रकरणबारे बम्बै उच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ।

अदालतले हत्या आरोपी रेणुका सिन्दे र सीमा गावितको मृत्युदण्डको सजाय खारेज गरेको छ। अब दुवै अभियुक्तको सजाय आजीवन कारावासमा परिणत भएको अदालत स्राेतले जनाएकाे छ।

‘रेणुका–सीमा’माथि ९ जना बालबालिकाको हत्या गरेको आरोप अदालतबाटै पुष्टि भइसकेको छ। उनीहरूले मृत्युदण्डको सजायलाई जन्मकैदमा परिणत गर्न पटकपटक अदालत र सरकारसमक्ष अपील–पत्र पेश गरेका थिए। बम्बै उच्च अदालतले उनीहरूकै मागअनुसार मृत्युदण्ड रद्द गरेर आजीवन कारावासको सजाय सुनाएको हो।

बाल हत्याकाण्डका आरोपी ‘रेणुका–सीमा’लाई सन् २००१ मा अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। लगतै सन् २००४ ताका उच्च अदालत र सन् २००६ मा सर्वोच्च अदालतमा उक्त प्रकरण पुगेपछि त्यहाँ पनि मृत्युदण्डको सजाय नै कायम गरियो। त्यसपछि सन् २००८ मा महाराष्ट्र राज्यका राज्यपालसमक्ष क्षमा दिन अपील गरिएको थियो– जुन निवेदनको सन् २०१२–१३ मा खारेज भयाे।

सन् २०१४ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले समेत आफूकहाँ पुगेको क्षमा निवेदन रद्द गरेर मृत्युदण्ड स्वीकृत गरे। सबै ठाउँबाट फाँसी दिने निर्णय भए पनि कार्यान्वयनमा ढिलाइ भएको गुनासो उतिकै छ। तर बम्बै उच्च अदालतले उनीहरूको अनुरोधलाई पछिल्लोपटक एक्कासी अनुमोदन गरेको छ।

‘रेणुका–सीमा’ले अब बाल हत्या मुद्दामा मृत्युदण्डकाे सट्टा जन्मकैदको सजाय भोग्नेछिन्। स्रोतकाअनुसार उनीहरू सौतेनी दिदीबहिनी हुन्।

उनीहरूले सन् १९९० देखि १९९६ सम्म १३ बालबालिकाको अपहरण गरिन्। जसमध्ये ९ बालबालिकाको निर्ममतापूर्वक हत्या गरेको अदालतले प्रमाणित गरिसकेको छ। उनीहरूले ती बालबालिकालाई चोरी र डकैतीमा प्रयोग गर्थिन्।

सन् १९९६ मा पक्राउ परेकी उनीहरू २५ वर्षदेखि जेलमै छिन्।

प्रकाशित मिति: : 2022-01-19 07:48:00

प्रतिकृया दिनुहोस्