छिमेकीको घरबाटै हराएका नेपालीको ६ महिना पछि भेटियाे कंकाल

रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४१ वर्षका ठाकुर नेपालीको ६ महिना पछि कंकाल फेला परेको छ।

गत असार २३ गते छिमेकी लोकेन्द्र खड्काको घरबाट गाएब भएका नेपालीको कंकाल यहि माघ २ गते त्रिवेणी गाउँपालिका–६ स्यालागाउँ नजिकैको जंगलमा फेला परेको हो।

जंगलमा मान्छेको कंकाल फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि आइतवार इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक जिवराज थापाको नतृत्वमा टोली घटना स्थल पुगेको थियो। कंकाल भेटिएको ठाउँमा ठाकुरले लगाएको कपडा, मोबाइल र टर्च लाइट भेटिएकाले उक्त कंकाल ठाकुरकै रहेको ठाकुरकी श्रीमति हिमा नेपालीले बताइन्।

हिमाकै सनाखतका आधारमा मुचुल्का तयार पारी परिक्षणका लागि त्रि.वि. शिक्षण अस्पताल काठमाण्डौं पठाइएको इप्रका होलेरीका प्रहरी निरीक्षक थापाले जानकारी दिए।

यस्तो थियो घटना

ठाकुर नेपाली गत असार २३ गते बेलुकी छिमेकी लोकेन्द्र खड्काको घरमा रक्सी ल्याउन पुगेका थिए। बेलुकी गएका ठाकुर अर्काे दिनसम्म पनि नफर्कीए पछि उनको खोजतलास सुरु भयो।

सुरुमा कतै गएका होलान आई हाल्छन् कि भन्ने भयो परिवारले पनि वास्ता गरेन। तर ५ दिनसम्म पनि ठाकुर घर नफर्किए पनि परिवारले असार २८ गते प्रहरी चौकी जुँगारमा खबर गरे। तर प्रहरीले पनि उनको न लाश न सास कुनै भेट्न सकेन।

ठाकुर नभेटिएपछि प्रहरीले छिमेकी लोकेन्द्र खड्का र उनका पत्नी गौमाया घर्ती खड्कालाई पक्राउ गरी अनुसन्धान थाल्यो। आरोपित लोकेन्द्र खड्काले आपसी विवादका कारण ठाकुरको हत्या गरेको स्वीकार पनि गरे। तर लोकेन्द्रले शव गाडेको भनेको ठाउँमा मृतकको शव भने फेला परेन।

लोकेन्द्रले पहिरोमा लगेर शव गाडेको भनेपछि प्रहरी र स्थानीयले उक्त पहिरोमा शव खोज्यो तर भेटिएन। आरोपितले भनेको ठाउँमा तालिम प्राप्त कुकुरसहित खोजविन गर्दापनि शव फेला परेन।

आरोपित लोकेन्द्र खड्का माओवादी पूर्व जनमुक्ती सेना हुन्। खड्का दम्पति विरुद्ध प्रहरीले व्यक्ति वेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गर्‍यो। रोल्पा जिल्ला अदालतको साउन २९ गतेको आदेशमा लोकेन्द्रलाई पुर्पक्षका लागी कारागार पठाइएको थियो भने लोकेन्द्रकी श्रीमती गौमाया ७५ हजार धरौटिमा छुटेकी थिइन्।

पीडित परिवारले सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगमा पनि निवेदन दिएका छन्।

प्रकाशित मिति: : 2022-01-18 18:49:00

प्रतिकृया दिनुहोस्