भर्खरै प्रमुख राजनैतिक दलहरूको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। नेकपा एमालेले असोजमा गरेको विधान अधिवेशन लगत्तै वडा, पालिका र जिल्ला अधिवेशन हुँदै अहिले प्रदेश स्तरका अधिवेशनहरुको तयारीमा रहिरहेको बेलामै तेस्रो लहरको कोभिड महामारी विश्वव्यापी रूपमा फैलिरहेकाे छ। नेपाल र विशेषगरी काठमाडौँमा संक्रमण दर उच्च रहेको छ।
त्यसैले प्रदेशस्तरको अधिवेशनहरु काेराेना संक्रमणका कारण केही समयका लागि हुन नसक्ने अवस्था सृजना भएको छ। राज्य प्रणालीहरू स्वतः यस्तो जोखिमको न्यूनीकरणमा अग्रसर हुनु र नागरिकहरुले त्यसको पालना गर्नु सबैको दायित्व, कर्तव्यभित्रै पर्दछ। तथापि अधिवेशन जति समयभित्रै हुनसक्यो, उति नै संगठनलाई परिचालन, गतिविधि र राजनीतिक आन्दोलनका विविध मोर्चाहरूमा जाज्वल्य स्वरूपमा देख्न, भेट्न सकिन्छ।
अधिवेशन आम कार्यकर्ताको अद्यावधिक हुने अवसर पनि हो। अधिवेशनले संगठन र सांगठनिक मजबुती, परिपक्वता प्रदर्शन गर्दछ नै। साथसाथै नेतृत्व मात्रै होइन, पार्टीको संस्कार, श्रेस्ता, उपलब्धी, चुनौतिहरु पनि नेतृत्वसँगै हस्तान्तरण गर्दछ। अघिल्लो नेतृत्वको कार्यकौशल, उपलब्धी, व्यवहार, चालचलन, नागरिक र कार्यकर्ता–नेताबीचका सम्बन्धहरू, कार्यसम्पादनका सफलता, असफलताहरु, विचार, दर्शनवोध र समयक्रम अनुसारको चुनौति सबै कुराहरू अधिवेशनमा छलफल हुँदैनन्। भएर पनि साध्य हुने विषय होइनन् तर अधिवेशनले यी सारा लुप्त महत्वपूर्ण चरित्र र विषयहरूलाई पनि सुसूचित गराउने र प्रसार गर्ने कार्य गर्दछ। तसर्थ अधिवेशन आम कार्यकर्ताहरूको लागि उल्लासको पर्व पनि हो।
अधिवेशन/महाधिवेशनलाई नेतृत्व चयनको दृष्टिले मात्र बुझ्नु, महत्व दिनु संगठन, आन्दोलन र त्यसले बाकेको आमूल चाहनाको सिद्धान्तलाई न्यूनतम आँक्नु सरह हुन्छ। नेतृत्व तुलामा तौल भारी बनाउने मूल पदार्थ हो भने यी यावत् विषयहरू तुलामा सराबर बनाउने खनिज तत्व हुन्।
लोकतान्त्रिक संस्कार, मूल्य मान्यता र सहअस्तित्वको सिद्धान्त बोक्ने दलहरुका अधिवेशनमा यो नियमितता हुन्छ र हुनुपर्दछ। यी पंक्तिहरु म विशेषगरी आफू नेकपा एमाले सम्बद्ध भएको कारणले एमालेसँग सम्बन्धित भई लेखिरहेकी छु भन्ने हेक्का राखिरहेकी छु। यहाँ म एक अनुशासित लेखिका र अनुशासित कार्यकर्ता दुवै भूमिकालाई न्याय दिनसक्छु कि सक्दिन भन्ने सचेतताका बिचमा छु।
मानवशास्त्रीय अवधारणा अनुसार अधिवेशन पार्टी संगठन, नेतृत्व र कार्यकर्ताबीचको एक बोधगम्य ‘प्रसार’ हो भने आम मानिसहरूका बिचमा उभिने एक ‘प्रतीक’ को रूप हो अधिवेशन। मानिसहरु भन्नाले तिनीहरु जनता मात्रै पर्दैनन् आम जनता पर्दछन्। कार्यकर्तालाई जनताको तप्काबाट हटाउनै हुँदैन।
जनताको तप्काबाट छुटेपछि कार्यकर्ताको परिभाषा गुम हुन्छ। कार्यकर्ता भन्ने ‘नामपद’ पार्टीको सदस्यता ग्रहण गरेर मात्रै हुँदैन, पार्टी सदस्यताको शपथ, शपथ अनुसारको काम तथा व्यवहार, संगठनको जिम्मेवारी बहन र जनताको तहगत सम्बन्ध बुझ्नेलाई मात्रै कार्यकर्ता भनिन्छ, भनिनुपर्छ। अर्थात् (क) पार्टी र जनताबीचको प्रसार, (ख) नेतृत्व र संगठनबीचको प्रसार, (ग) परिवार, समाज, देशका बिचको मूल प्रसार हुन् कार्यकर्ता। कार्यकर्ता हुन पाउनुको यति महान्, गौरव जो कोहीले महशुस गर्ने र परिपालना गर्ने हिम्मत चाहिन्छ।
महशुस गर्न ‘असल प्रसार’ बन्न सक्नु, असल प्रसार हुनलाई ‘प्रतीक’ बन्नसक्नु, प्रतीक बन्नलाई संघर्ष, परिश्रम, सीप, योगदान, क्रियाशीलतासहितको श्रेष्ठ नेतृत्व हुन सक्दा एक असल कार्यकर्ताको छवि सबैले देख्न सक्ने, बुझ्न सक्ने पारदर्शी हुनसक्छ। यही प्रक्रियामा हाम्रो पार्टी नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले पक्षपोषण गरेका विषयहरू ‘बिम्ब’ का रूपमा नियमित आमनेसामने भइरहन्छन्, तिनको सटिक प्रयोग, उपयोग र कार्यान्वयनले एउटा आदर्श कार्यकर्ता जन्माइरहन्छ र समग्र एमाले बनाइरहन्छ।
यसो भनिरहँदा पनि मन गह्राैँ हुन्छ गर्वले। हिजो (करिब २८/३० वर्ष अगाडि) हामीले लिएको पार्टी स्कुलिङ यही थियो, केवल यस्तै मात्र थियो। कार्यकर्ता जनताको तहबाटै निर्धारित, निर्मित र नियन्त्रित आहा ! अनि नेतृत्वमा श्रेष्ठतासहितको प्रतिस्पर्धा, द्वन्द्वात्मक विशिष्टता तर प्रतिद्वन्दिता होइन, थिएन। तर आजको प्रसार के भइरहेको छ, प्रतीक के बनिरहेको छ ? बिम्बहरूमा के देखिरहेका छन् ?
खसोखास भन्नुपर्दा कार्यकर्ता कस्तो जन्मिएको छ, कस्तो बनाइएको छ ? आफैँप्रति पनि प्रश्न फर्किन्छ तर यो प्रश्नहरु ठ्याम्मै नदेख्ने, देखेजस्तो नगर्ने, नबुझ्ने, नबुझाउने, नबुझ्यो नभन्ने, बुझाउन खोज्यो बेवास्ता गर्ने, देखिदेखि यी सवालहरुलाई भुइँ छाड्ने र अन्ततः कार्यकर्ता उत्पादनको मैदान असरल्ल बनाउने, असमञ्जस गराउने प्रवृत्तिका विरूद्ध यी विषय र सवालहरु बिजुली चम्के सरह सर्वत्र तेर्स्याउन चाहेकी हुँ।
फोटो आशक्ति
यतिबेला समाजिक सञ्जाल भरिभराउ छ। एकसेएक कोभिड संक्रमणमा परेको घोषणाले, अनि त्यही घोषणामाथि टेकेर फोटो राखिराखी शीघ्र स्वास्थ्य लाभको कामनाले ! कार्यकर्तादेखि स्थापित, चर्चित नेताहरुसम्मले पार्टीका उच्च नेता, उच्च प्रतिष्ठित व्यक्तिहरुका फोटो हालेर शीघ्र स्वास्थ्य लाभको कामना पोष्ट गरिरहेका छन्।
आफ्नो निर्वाचन क्षेत्रका, जिल्ला, समाज, छिमेक, टोलका आसपासका कति धेरै मानिसहरू, कार्यकर्ता पंक्तिहरू, फ्रन्टलाइनर, चिकित्सक, स्वास्थ्यकर्मीहरू संक्रमणमा परेर जोखिम र पिरलो व्यहोरिरहेका होलान् तर नेता तथा कार्यकर्ताहरुबाट तिनीहरू अन्देखा छन्।
ठुला नेता, सांसद, मन्त्री तथा लब्ध प्रतिष्ठित भनिएका भिआइपीहरुको फोटो खोजीखोजी शीघ्र स्वास्थ्य लाभ दिन भ्याइनभ्याइ छ। कोभिडको तेस्रो भेरियन्ट विश्वव्यापी फैलिरहेको समयमा नेपालमा मात्रै दैनिक पाँच हजारभन्दा माथि अहिले संक्रमित भइरहेका छन्।
वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्रीय कमिटी तथा विभागमा, जनवर्गीय संगठनमा निर्वाचित, मनोनित सबैलाई हुलका हुल बाँधी एकले अर्कोलाई बधाइ दिन जाने, बधाइ आयोजना गर्ने। फोटो राखी सञ्जालमा बधाई ज्ञापन प्रतियोगीता चलाउने।
जन्म उत्सवको शुभकामना आयोजना गर्ने, शुभकामना दिन जाने प्रतिस्पर्धा चलाउने। सांगठनिक र राजनीतिक सम्बन्धबाट एक अलग वैयक्तिक सम्बन्ध बनाउन रुचाउने र नेताहरुसँगको भेट तथा तस्बिरलाई आफ्नो अनुकूलको बिजनेस बनाउने। अधिवेशन, महाधिवेशन, राष्ट्रिय भेलाहरूमा नेतृत्वको विशाल फोटो मस्कटहरू बनाएर प्रदर्शन गर्ने। तुल, ब्यानर, स्वागत द्वारहरूमा आ–आफ्नै ठुलो फोटोहरू बनाएर राख्ने।
ल भन्नुस् प्रतिस्पर्धा के मा हुनुपर्ने ? के मा भइरहेछ?
पद, गफ, श्रृङ्गारिक, अध्यात्म आशक्ति : जिम्मेवारीको न चिन्ता, न उठान
कोही कार्यकर्ताहरु बैठकमा नआउने, कार्यक्रममा नआउने, कमिटीमा बस्न नमान्ने, बस्नै परे नेतृत्व माग्ने, कर बल कहिलेकाहीँ त छल गरेर पार्टी सदस्य नवीकरण गर्नुपर्ने, नवीकरण गरेपछि पद चाहने, पद पनि दियो पालना नगर्ने, तर कुनै मेला, महोत्सव, ठुला भेलाहरुमा नेताको अघिपछि परिरहने, फोटो खिचिरहने, कतै न कतै नियुक्ति, सरुवा, बढुवा, औषधोपचार आदिको लागि सहयोग मागिरहने, सहयोग सेवा लिइरहने, पार्टीमा निरन्तर छु भन्ने भागदौड देखाइरहने, निरन्तर यस्तै तमासे र तमासेहरुको जत्था बनाउँदै जाने र आफ्ना लागि पार्टीमा यो पद, आउने निर्वाचनमा यो पदको उम्मेद्वारी चाहिने भन्दै आफ्ना पक्षधरतामा यस्तै तमासे भीड जन्माउँदै जाने।
कोही कार्यकर्ताहरु बैठकमा नआउने, किन भन्दा घरमा पूजा छ, सप्ताह छ, ब्रत छ। बिहे, ब्रतबन्ध वा यस्तै उत्सवका भोजमा जानुछ। भोज बेलुका भएपनि दिनभर श्रृङ्गारिनु छ। हालै मात्र जिल्ला अधिवेशनमा किन आउनुभएन भनेर निर्वाचित प्रतिनिधिलाई सोध्दा तालिम थियो भन्ने जवाफले नाजवाफ भएँ। कुनै एनजिओ, आइएनजिओ वा स्थानीय निकायले दिने तालिम विषय अनुसार प्रायः भइरहेकै हुन्छ। एघार वर्षमा भएको जिल्ला अधिवेशनमा साथ दिनुपर्ने निर्वाचित प्रतिनिधिको चेतना यस्तो शून्य छ।
अहिले एमालेमा नयाँ बजार फस्टाएको छ। नेकपा एस र एमालेबीचको आवतजावत, केही कार्यकर्तालाई खुदो भएको छ यो मौका। यता अर्थात् एमालेमा हुन्जेल कुनै जिम्मेवारी युक्तिसंगतले नउठाउने, खास भूमिका देखाउन नसक्ने अनि उता (नेकपा एस) तिर लाग्दा अलिक ठूलो कमिटीमा भाग पाउने, त्यसपछि खुट्टा भुइँबाट काँधमा पुग्ने, देखिस् एमालेले अपमान गरेर खुट्टा भुइँबाट उठाउनै पाएको होइन, अहिले आकाशतिर फर्काउन पाइयो भन्ने खालको निकृष्ट अभिव्यक्ति, अनि अस्तिसम्मको आफैँ आवद्ध पार्टी र आफ्नै सहयोद्धाहरुलाई सत्तोसराप गर्ने, नेताहरुलाई गाली गलौज।
विद्रोहमा समानान्तर हुनेगरी एमालेकै कार्यकर्ता चोर्ने, फकाउने, फसाउने, कमिटी बिस्तार गर्ने। बिगार्नु बिगार्ने अब अधिवेशन, महाधिवेशनहरुको माहाेल बन्यो, एमालेको उही व्यवस्थित तौरतरिकाको प्रचारप्रसार, प्रतिनिधि छनौटलगायतका प्रक्रियाले शायद मन भतभती हुँदो हो। फेरि उताको पद देखाएर त्योभन्दा माथिल्लो स्तरको पद माग, अनि फेरि लुसुक्क एमाले।
एमाले नै बनिरह्यो, बसिरह्यो त ठिकै छ नि फेरि उताबाट घण्टी आयो, अस्तिको भन्दा ठूलो पद माग्यो ! अहिले एमालेभित्रको यो बजार साँच्चै नृशंस लाग्छ मलाई। किनभने यस्तो अवसरवाद र महत्वकांक्षा फस्टाउनु भनेको सदासर्वदा अविचलित स्पाती एमालेहरुको भावनाको हत्या हुनु सरह हो। तर यस्तै पात्रहरू सुटुक्क प्रतिनिधि हुन्छन्। केन्द्रीय नेतृत्व र निकायहरुमा पुग्छन्। सबै नेतृत्वमा गहिरो पहुँच राख्छन्। माथिमाथि उड्छन्। नेकपा एसको मात्र होइन जुनसुकै पार्टीबाट ओहोरदोहोर गर्नेहरुको हकमा यो कुरा उठाइएको हो।
यहाँ जिम्मेवारी खोइ ? भक्ति र आशक्ति के मा ?
म, मपाइत्व
नेपाली कांग्रेसले अघिल्लो निर्वाचनहरुमा अधिक प्रयोग गर्यो यी दुई वाक्याश : ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’, ‘हामी भित्रै म’। वास्तवमै कति राम्रो छ। वजनदार र श्रवणीय छ। हामीले त यो संस्कार पार्टीमा साधारण सदस्य भएदेखि प्रारम्भिक कमिटीमा बसेदेखि सिकेको, सिकाउँदै हिँडिएको होइन र ? तर आजकल हामी ‘हामी’ रहेनौं। म, मेरो मद्वारा, मैले, मसँग, मबाट आदि, इत्यादि।
व्यक्तिगत नेतृत्व, सामूहिक जिम्मेवारी बहन गर्ने हाम्रो सिद्धान्त र संस्कारगत मान्यताको विपरित आजकलको स्थानीय कमिटीहरु होस् या जिल्ला, प्रदेश, केन्द्रीय स्तरकै कमिटीहरुमा पनि नेताहरुको अभिव्यक्ति र व्यवहार यस्तो ‘म’ र ‘मपाइत्व’ भइरहेको छ। यो एमालेको संस्कार, संस्कृति छँदै थिएन, हुँदै होइन। जो संगठनका लागि कुनै हदमा लाभदायक हुनै सक्दैन। हामी त कार्यकर्ता मात्र होइनौं, विचारक, संगठक, प्रवर्तक पनि हौं।
के संगठक कहिल्यै ‘म’ हुनसक्छ ?
जनसंगठन : पीडक र परपीडक जन्माउने कुण्ठाको स्रोत नबनोस् !
नेकपा एमालेको वडादेखि केन्द्रसम्म महाधिवेशनहरु सम्पन्न भएपनि एमाले सम्बद्ध जनसंगठनहरुको महाधिवेशन, सम्मेलन नभएको धेरै समय भइसकेको छ। २०७४ जेठ ३ यता पार्टी एकीकरण पश्चातको नेकपा र फेरि २०७७ फागुन २३ यताको नेकपा एमाले ब्यूँतदाको अवस्थासम्मको संक्रमणकालीन अवस्था र सम्भवत यो अवस्थाभित्र नेकपा एमालेको चुस्त, सृजनशील तहगत संगठनहरु यतिको ध्वस्तै सुस्त भएको कहिल्यै थिएन। यस्तो अवस्थाबाट पुनः संगठित गर्दै अगाडि बढ्नुपर्ने अवस्थाको बिचमा जनसंगठनहरुको अधिवेशन हुन नसक्नु स्वाभाविक हो।
यद्यपि जनसंगठनको नेतृत्व एकपछि अर्कोलाई बैठकको निर्णय भन्दै उसले उसलाई, उसले उसलाई बक्सिस दिए सरह नेतृत्व दिँदै आइरहेको विषय स्वयं त्यस्ता जनसंगठनका पदाधिकारीलाई विशेष पीडाबोध हुनुपर्दछ। एमाले जस्तो पूर्ण लोकतान्त्रिक संस्कार अवलम्बन गर्ने राजनीतिक पार्टीलाई जनसंगठनको यस्तो बक्सिसको नेतृत्व हस्तान्तरण र संगठनमा मनोनयन गर्ने प्रणाली अपारदर्शी हो। यस्तो अपारदर्शीताले न नेतृत्व दिगो हुन्छ न संगठन। हाम्रो जनसंगठनहरू असल कार्यकर्ता उत्पादनको थलो हो, हुनैपर्दछ न कि नेतृत्वका लागि व्यक्ति पूजा, दवाब, प्रभावको भीड बनाउनु परोस्।
चाकर र ढाकर बन्न परोस्। यस्तो कारणबाट जनसंगठनमा आवद्ध कार्यकर्ताहरू पीडक र परपीडक हुने अनि त्यसैबाट मनोगत कुण्ठाहरुले पर्नजाने क्षति सिँगो एमालेकै लागि दुष्प्रभावी हुनजान्छ। पार्टी केन्द्रीय कमिटीको निर्देशन अनुसार (कोभिड संक्रमणको असर बाहेक) समयभित्रै अधिवेशन सम्पन्न हुनेछ भन्ने आशा गरौं।
के हाम्रो कार्यकर्ता उत्पादन गर्ने कारखाना यसरी उद्यमी बन्नसक्छ त ?
उत्पादन र व्यावसायिकता
यहाँ म आफ्नै उदाहरण पेश गर्न रुचाउँछु। म रोजगारी गर्छु भन्दा धेरैले पत्याउँदैन। म पार्टी संगठनको कुनै पनि काममा कोही भन्दा दोस्रो हुन चाहन्न, खटाइमा होस्, जिम्मेवारी बहनमा होस्। आफ्नो रोजगारीमा त झन् विध्न पार्दिन, भरणपोषणको ज्यान र परिवारको जीविकाको सवाल छ। कामको व्यवस्थापन आफैँलाई खटनपटनमा गर्न सक्ने क्षमताको कुरा हो। बाँचिरहेका कोही पनि मानिस रोजगारी, व्यवसायिकताबाट वञ्चित रहने कुरै हुँदैन।
एक समय थियो, जागिर खान्छ, काममा जान्छ, त्यस्तालाई पार्टी कमिटीमा राख्नुहुन्न।जिम्मेवारी दिनुहुन्न, समय दिन सक्दैनन् भनिन्थ्यो। तर मैले थाहा पाएदेखि काममा गएकी छु, काम गर्दागर्दै आन्दोलित भएकी छु, संगठित भएकी हुँ। धेरैपटक उतिबेलै जिम्मेवारी दिने, लिने कुरामा सहयोद्धाहरूसँग मतभेद गरेकोमा विवाद गरेकी छु। आज पार्टीले आह्वान गरेको छ। नवौं महाधिवेशनले हरेक एमाले रोजगारी, व्यवसाय, उत्पादनको काममा संलग्न भएको हुनुपर्ने दस्ताबेज पारित गरेको थियो।
एउटा श्रमिकको सन्तान भएकोले होला मेरी दिदी (पार्टी केन्द्रीय सदस्य सिता लामा) र म बाल मजदुर हुँ। एउटा जिउँदो मान्छे हुँ भन्ने थाहा पाएदेखि हामीले कामलाई छाडिएको छैन। सामाजिक, राजनीतिक चेतनाको छाया पाएदेखि पार्टीको काम थप हुन आयो। अनि बाँच्नका लागि गरिने काम र सबैलाई बाँच्न, बचाउन अभिप्रेरित गर्ने सामाजिक, राजनीतिक काम बराबर गरिएकै छ आजसम्म पनि। जसरी भए पनि, जुन हालतमा भए पनि कामसँगको प्रेम, जिम्मेवारीसँगको उठबस नै हाम्रो अनुशासनको लेन हो।
केही कार्यकर्ताहरू निकै चाखलाग्दा देखिन्छन्। जीविकोपार्जनका कुनै अङ्गसँग जोडिएको देखिँदैन। संगठनमा ठुलाठालु हुँ भन्ने हाउभाउमा देखिरहन्छन्। पार्टी नेतृत्व जहाँ पुगेपनि सबैभन्दा अगाडि उनिहरु पुगिरहेको देखिन्छन्। मानौं सबै प्रदेश, सबै जिल्लामा उनिहरुको विशेष सम्पर्क सुत्र छ र विशेष निम्त्याइन्छ वा पार्टी नेतृत्वसँग विशेष सम्बन्ध छ, जहाँ पनि जान स्वतः अधिकार राख्छ।
देशभित्र मात्र होइन, बेला बेला विदेशका रोमाञ्चक यात्राहरु पनि गरिरहेकै हुन्छन्। हाउभाउ, भेषभुषा चमकदार छ। यस्तो कसरी सम्भव होला ? म आफैँ उदेगमा पुगिरहेको बेला केही असल मित्रहरूले र पार्टीका असल अभिभावकहरूले पनि मलाई सोध्ने गर्नुहुन्छ। शायद यस्तो चरित्रले उहाँहरुलाई पनि सोचमग्न बनाएको हुनुपर्छ।
समाजलाई हेर्ने, बदल्ने सूत्रबद्ध दर्शन मात्र होइन माक्सवाद र जबज। कामलाई नै परिवर्तनको निर्धारक तत्व मानिएकोले हामीले कामद्वारा सिद्धान्तको श्रेष्ठतम् उपयोग गर्न सकेमा नै दलाल पूँजीपति, नोकरशाही, कमिसनतन्त्रको विरूद्ध उत्पादनको क्षेत्र बढावा गर्न सकिन्छ र राष्ट्रिय पूँजी निर्माणमा योगदान दिन सकिन्छ।
श्रमजीविवर्गको प्रतिनिधित्व गर्ने पार्टीले श्रमलाई दुरुत्साहन गर्न मिल्छ र ?
नवीनतम सोच र नयाँ नेतृत्व स्थापना
केही नेता, कार्यकर्ताहरु कहिल्यै पद छाड्न चाहँदैनन्। नयाँलाई दिउँ पनि भन्दैनन्, कुनै नयाँ सोच, योजना, कार्यक्षमता पनि प्रकट गर्दैनन् तर पनि पार्टीभित्र कार्यकर्ता व्यवस्थापन गर्नैपर्ने हुन्छ। अधिवेशन तथा निर्णय प्रक्रियाहरुमा व्यवस्थापन धेरै महत्वपूर्ण र जटिल कुरा हो। नयाँ नेतृत्व, नवीन सोचलाई स्थापित गराउनुपर्ने, नयाँ नयाँ रचनात्मक क्रियाशील कार्यकर्तालाई अगाडि बढाउनुपर्ने अवस्थामा पार्टीप्रतिको प्रतिवद्धता र निरन्तरता असाध्यै राम्रो भएको तर सँधै स्थिर स्वभाव र सृजनात्मक एवं नेतृत्व सीप विकसित नगरेका धेरै संख्याका पुराना स्थापित कार्यकर्ताहरुकोे व्यवस्थापन साँच्चै जटिल पक्ष हो।
त्यस्तै एउटा मान्छे पार्टी कमिटीमा संगठित हुने नै भयो तर जनसंगठनमा अनि पेशागत संगठनमा पनि, अझ पत्रकारको संगठनमा पनि, विभिन्न कमिटी सम्बद्ध विभागमा पनि, स्थायी ठेगानाबाट काठमाडौँमा बसोबास भएकोले विशेष सम्पर्क कमिटीमा पनि। विभिन्न खेलकुद सम्बद्ध संघमा पनि। ताजुब लाग्छ त्यस्तो कार्यकर्तादेखि र व्यवस्थापनको यो बेथितिदेखि। जताबाट पनि नेतृत्व लिने, प्रतिनिधित्व हुने अवसर र लाभ लिइरहने यो बेथितिको अन्त्य नहुन्जेलसम्म नयाँ नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जटिलता भइरहन्छ।
यस्तो बेमोज चरित्र हावी कतिञ्जेलसम्म ?
उपसंहार
२०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि, २०५४ को स्थानीय निर्वाचनसम्मको नेकपा एमाले र त्यसपछि २०७४ सम्मको एमाले र २०७७ फागुनपछिको एमालेलाई संस्कारगत रूपमा हेरौं, समीक्षा गरौं। करोडौं मानिसहरूको मूर्छित सपना र उज्यालो भविष्यको मियो बनिरहेको नेकपा एमालेप्रति आज पनि उस्तै आस्था, उस्तै विश्वास र उस्तै भरोसा छ।
हामी स्थानीयस्तरमा स–साना प्रारम्भिक कमिटीहरु गठन गर्दा होस्, कमिटीको भेला, बैठक गर्दा होस्, साना साना सामुदायिक विषयहरुमा संलग्न हुँदा होस्। पीडा, रोदन र अभावमा सहयोगी हुँदा होस्, कार्यकर्ता र स्थानीय नेतृत्वसँग बहस गर्दा होस् नेकपा एमाले हुनुको र एमालेप्रति आस्था राख्नुको उत्साह असाध्यै उर्जामय छ। आम आशा उस्तै छ।
कार्यकर्ता पंक्तिको इच्छाशक्ति र सक्रियता बेजोड छ। मात्रै पार्टीभित्रका बेथिति, विचार, व्यवहार र कार्य सम्पादनमा आएको स्खलनप्रति केही निराशा, केही आक्रोश छ तर उन्नत उर्जासहित नयाँ दिन ल्याउन तयार छ र भनिरहेछ–हामी समस्या होइनौं, हामीद्वारा नै सृजित हाम्रो कमजोरीहरुलाई यही पार्टी, यही नेतृत्व र यही हाम्रो महाविद्यालयभित्र खोजौं र सच्चिने प्रतिवद्धता गरौं। त्यसो त यी अनुभवहरु पनि मैले यही महाविद्यालयभित्रको अढाई दशकभन्दा बढी अवधिको सिकाइबाटै आर्जन गरेकी हुँ।