पाटन अस्पतालमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालन

शनि शाक्य

ललितपुर
Breaknlinks
Breaknlinks

ललितपुरस्थित पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रवारदेखि औपचारिक रुपमा संचालनमा आएको छ। नेपाल सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको उक्त प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन्।

भदौं देखिनै परीक्षणमा रहेको उक्त प्लान्टलाई औपचारिक रुपमा शुक्रवारबाट संचालनमा ल्याइएको हो। तीन करोड लागतमा जडान भएको उक्त प्लान्टका महानगरले एक करोड गत माघ महिनामा हस्तान्तरण गरेको थियो।

महानगरप्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमणको महामारी अझै बाँकी रहेकाले अक्सिजन प्लान्टको जडानले कोराना बिरामीको उपचार गर्न सहज हुने बताए। पाटन अस्पतालले कोरोनाको पहिलो र दोस्रो लहरमा बिरामीको उपचारमा गरेको कामको उनले प्रसंशा गरे। उनले भने, ‘त्यत्तिबेला म स्थानीय सरकारको प्रमुखको हैसियतले चिकित्साकर्मीको हौसला बढाउन अस्पताल आएको थिएँ, यहाँको अक्सिजन प्लान्ट बिग्रिएर जानकारी पाएपछि सहयोगको कुरा अघि बढाएको हुँ। ’ उनले अस्पताललाई आवश्यक अन्य सहयोग महानगरले गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। उनले भने, ‘त्यत्तिबेला मर्चरी हाउसको पनि कुरा उठेको थियो, तर अक्सिजन प्लान्ट आवश्यक भएर प्लान्टका लागि सहयोग गर्यौँ,अब अर्को पटक चुनाव जितेर आएपछि मर्चरीको लागि सहयोग गर्छौ।’ नगरप्रखु महर्जनले यसो भन्दा कार्यक्रमस्थलमा जम्मा भएका सबैले ताली बजाएका थिए। 

सो प्लान्टले दैनिक ५० लिटरको  दुई सय २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले जानकारी दिए।

डा. शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टको सहयोगले कोभिडको सम्भावित तेस्रो लहरलाई समेत थेग्न सक्ने गरे। उनले भने,‘महानगरले हाम्रो अस्पतालप्रति अभिभावकत्व ग्रहण गरेको देख्दा आवश्यक सहयोग पाउने अपेक्षा गरेका छौँ।’

प्रतिष्ठानका उपकुलपति डा. राजेशनाथ गोगंलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको जानकारी गराउँदै आगामी दिनमा जस्तोसुकै विपत सिर्जना भएतापनि सो प्लान्टलेनै अक्सिजन पुग्ने जिकीर गरे। उनले भने, ‘ललितपुर भित्रको एक मात्रै महानगरले जनताको स्वास्थ्यप्रति संवेदनशिल भएर गरेको उदारहणीय सहयोगले हामीलाई सेवामा खट्न उर्जा मिलेको छ। ’अस्पतालका कोभिड फोकल प्रर्सन डा. आशिस श्रेष्ठले अस्पतालले बनाएको विपत्त व्यवस्थापन योजनाका कारण आफूहरुले कोरोनाको जोखिमलाई व्यवस्थित गर्न सफल भएको बताए। कोरोनाको पहिलो र दास्रो लहरमा अक्सिजन अभावले काम गर्न असजिलो भएको बताउँदै  प्लान्ट जडान ले महामारीसँग लड्न उर्जा दिएको प्रष्ट पारे।


 

प्रकाशित मिति: : 2022-01-16 10:58:00

प्रतिकृया दिनुहोस्