माघे संक्रान्ति नेपालका विभिन्न समुदायले आ-आफ्नै तवरले मनाउने पर्व हाे। धेरैजसाे समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षकाे रुपमा पनि मनाउँदै आएका छन्।
कर्णालीमा प्रचलित शांके संवतकाे नयाँ वर्ष पनि माघ एक गतेबाटै सुरु हुने संस्कृतिसम्बन्धि जानकारहरुकाे बुझाई छ। कर्णालीमा खसहरुकाे प्रवेश पहिला नै शांके संवत् प्रचलनमा रहेकाे इतिहासका तिथिमिति केलाउँदा बुझ्न सकिन्छ। नेपालले मनाउँदै आएकाे विक्रम संवत् भन्दा शांके संवत् १३५ वर्ष मात्रै कान्छाे छ।
खसहरु दक्षिणतिरबाट पाँचाैँ शताब्दीमा नेपाल पसेकाे कुरामा धेरै विद्वानहरुकाे एक मत छ भने कर्णालीमा खसहरुकाे व्यवस्थित राज्य १२औँ शताब्दीको मध्यतिरबाट सुरु भएकाे अभिलेखबाट पुष्टि भएकाे छ। याे हिसाबले कर्णालीमा शांके संवत् पहिलेदेखि नै प्रचलनमा रहेकाे बुझ्न सकिन्छ भने याे तिथिमिति कर्णालीका आदिबासीहरुले नै चलाएका हुन् कि भन्ने अनुमान छ।
यसरी शांके संवत् अनुसार कर्णालीकाे नयाँ वर्ष माघ एक गतेबाट सुरु भएकाे मान्न सकिन्छ। कर्णालीका लागि ठूला पर्व भनेकै संक्रान्ति, पुनि (पुर्णिमा), पन्चमी हुन्। पुनिका दिन धैरै जसाे देवताका थानमा जात्रा पनि लाग्ने भएकाे हुनाले जात्रालाई समेत ठूलाे पर्व मानिन्छ।
हाल नेपालकाे राजधानीलगायत अन्य ठाउँमा ऋतु परिवर्तन भएकाे कुरा पात्राेअनुसार महिना फेरिएपछि थाहा हुन्छ भने कर्णालीमा ऋतु परिवर्तन भएकाे कुरा थाहा पाउनलाई खेतबारीका डिल, घारी पलाएका पालुवा, नदीकाे माछा, घारमा रहेका माैरी आदिबाट थाहा हुन्छ।
यसलाई कर्णालीकाे लाेक साहित्यले पनि थप प्रष्ट्याएकाे छ। वसन्त ऋतु लागेकाे संकेत दिने लाेक साहित्य यस्ताे छ।
ऋतु रानाया,
ऋतु, ऋतु आइर गयाे, ऋतु रानाय।
इल्छा पाती पलाइगयाे, ऋतु रानाय।
डिल प्याउँली फुलिगयाे, ऋतु रानाय।
घाड(घार) माैरी ठुन्कीगयाे, ऋतु रानाय।
यसरी नै पर्व मनाउने प्रचलन कर्णालीमा व्याप्त छ। त्यसैले माघे संक्रान्ति मनाउने चलनका पनि माैलिक विशेषताहरु छन्। त्यस मध्येकाे प्रमुख विशेषता हाे, 'पुस हाल्या सेल, टाट्या (पुरी) माघ खान्या'।
माघे संक्रान्ति आउनु पूर्व विशेष तयारी गरिन्छ। त्यसका लागि पुसमै सेल, टाट्या हालपाेल गर्ने काम सकिन्छ। माघे संक्रान्तिका विशेष परिकार सेल टाट्या (पुरी) मात्रै हाेइनन्। ती बाहेक राद्या कद्दुका (फर्सी) ढिम, उसिनेका भट्याैला, भदुरी, किर्किला र कलाकाे खुँड्या, मार्से (माटे) काे लड्डु, सेकार गन्जीलगायत परिकार विशेष छन्। जसकाे छाेटाे परिचय र परिकार बनाउने तरिकाबारे यहाँ उल्लेख छ।
राद्या कद्दुका ढिम
तिथिमिति यकिन नभएपनि राद्या कद्दुकाे खेती कर्णालीबासीले धेरै पहिलेदेखि नै गर्दै आएकाे मानिन्छ। याे विशेषगरी हिउँदमास खानलाई खेती गरिन्छ। याे तीउन खानलाई नभएर उसिनेर खान प्रयाेग हुन्छ।
गुलियो, लिस्साे स्वादकाे हुने राद्या कद्दुलाई काटेर घनाकार एक राेटी हुने बराबरको टुक्रा बनाइन्छ। त्याे टुक्रालाई ढिम भनिन्छ। त्यसलाई डेक्चीमा राखेर हल्का पानी हालेर आगेनामा एक घण्टा जति रापिलाे आगाेमा उसिनेपछि ढिम तयार हुन्छ। सेलाएकाे ढिम मिठाे हुने हुनाले पुसकाे अन्तिम दिन नै पकाएर माघे संक्रान्तिकाे दिन खानलाई तयार गरिन्छ।
भट्याैला
भट्याैला जंगली कन्दमुल हाे। यसलाई हालसम्म खेती गरिएकाे छैन। पारिलाे जमिनमा हुने यसलाई हिउँद काेरेर, उसिनेर खाने गरिन्छ।
कर्णालीमा नदीले सिमाना काेरेका, हिउँद बढी घाम लाग्ने बस्तीलाई पाडा (पारिलाे घाम लाग्ने बस्ती) र हिउँद घाम कम लाग्ने बस्तीलाई श्याँल(शितल हुने बस्ती) भनिन्छ। भट्याैंला पाडातिर मात्रै पाइन्छ।
श्याँलतिरका महिला तथा छाेरी मान्छेहरु पाडातिरका पाखामा गएर कार्ने र घरमा ल्याई कद्दु उसिने जसरी उसिनेर खाने गर्छन्। हेर्दा तराईकाे गन्जी जस्ताे देखिने तर सानाे आकारका जराकाे स्वाद भने तराईको तरुलकाे जस्ताे हुन्छ। भट्याैंला पनि सेलाएकाे मिठाे हुने हुनाले पुसकाे अन्तिम रात नै उसिन्ने गरिन्छ।
भदुरी, किर्किला र कलाकाे खुँड्या
भदुरी पनि पाडातिर मात्रै पाइन्छ भने किर्किला श्याँलतिर पनि हुन्छ। कला (केराउजस्तै देखिने सानाे आकार) काे खेती सबैतिर हुन्छ। यी सबैलाई छुट्टाछुट्टै गरेर मसिनाे गरि पिसेर कराईमा पकाएर अर्ध तरल अवस्थामा काँसकाे थालमा राखेर सेलाउन दिइन्छ।
एक रात भरी सेलाएकाे खुँड्या माघे संक्रान्छिकाे दिन खाने भइसक्छ। सेलाएकाे खुँड्यालाई चक्कुले टुक्रा टुक्रा गरी काटेर खाने गरिन्छ। यसमा आवश्यकता अनुसार नुन खुर्सानी पनि मिसाउन सकिन्छ।
मार्से (माटे) काे लड्डु
मार्से काेदाे, मकै लगाएकाे खेतबारीकाे डिल, घारीतिर लगाइएकाे अतिरिक्त बाली हाे। काेदाकाे दाना भन्दा मसिनो हुने मार्से भुट्दा मकैका दान फुरेजसरी फुर्छ। यसरी फुराएकाे मार्सेमा मह वा गुड मिसेर लड्डु बनाइन्छ। याे माघे संक्रान्तिमै बनाएर खाने चलन छ।
मार्सेलाई कर्णालीका मान्छेले तराईसम्म परिचित गराएका छन्। नेपालगन्जकाे एकलाइनी बजारकाे पाेेते गल्लीमा अहिले पनि जुम्लीले लिएर गएकाे मार्सेकाे चर्चा सुनिन्छ।
सेकारगन्जी
सेकारगन्जी पनि बालीनाली लगाएकाे जमिनकाे साइडमा लगाइन्छ। एक पटक लगाएपछि अर्काे वर्ष आफैँ उम्रिने यसकाे बिरुवा सूर्यमुखी फूलकाे जस्तै हुन्छ भने फूल पनि उस्तै कलरकाे तर सानाे हुन्छ। त्यसमा सूर्यमुखी फूलमा जस्तै फल लाग्दैन भने जमिनमा सेता तर अदुवाका गाना जस्ता फल लागेकाे हुन्छ।
जमिनमुनिबाट खनेर निकालेपछि धाेएर काचै खान पनि मिल्छ भने उसिनेर खान पनि मिल्छ। चर्काे धुप (घाम) लागेकाे बेला काचै खाइन्छ भने अरु बेला पकाएर खाइन्छ। याे उखुकाे रस जस्ताे गुलियाे स्वादकाे मिठाे हुन्छ।
यसरी कर्णालीमा माघे संक्रान्तिकाे दिन विशेष परिकारहरु खाने चलन छ। ती परिकारहरु प्राय पुसकाे अन्तिम दिन पकाएर माघकाे पहिलाे दिन खाने गरिन्छ। त्यसैले 'पुस हालेका सेल, टाट्या माघ खाने' भनिएकाे हाे। पछिल्लो समय तराईबाट गन्जी, तरुललगायतकाे आयात हुनुले कर्णालीका मान्छेकाे जिब्रोले नयाँ स्वाद पनि लिन पाएकाे छ।