बागलुङ बसपार्कको उत्तरपट्टीको भाग बागलुङ, म्याग्दी टिकट काउन्टरको बायाँबाट, सिधै अघि लागेपछि आउँछ अर्को गल्ली। त्यही गल्लीमा हल्का नीलो रङको चार तले घर देखिन्छ। घरमा सीसैसीसाको झ्याल छ। तल्लो तलामा सटरहरु छन्।
चार तलामाथिबाट पोखराको आधाउधी आकृति देखिन्छ। चट्ट खुलेको माछापुच्छ्रे हेर्दै चियाको चुस्की लिइरहेका छन् काशिराम अर्याल अर्थात् व्यवसायी रमेश अर्याल।
यो उचाईमा यसै उक्लेका होइनन् रमेश। चार तले घरभन्दा दोब्बर अग्लो संघर्ष गरेका छन्। कैयौं हिउँद, बर्खा नभनी खटिएका छन्। एक्लै कति आँसु पिएका छन्। बेहिसाब हण्डर, ठक्कर पाएका छन्। हो, उनको संघर्षको कथाले सबैभन्दा हृदयलाई छुन्छ। अनि, आँखाबाट आँसु तप्किन्छ।
000
०३८ सालको ठिहिर्याउने चिसोमा रमेश जन्मिए। सायद, जिन्दगीका कैयौं हिउँद, बर्खा उही पुसको चिसो जस्तै बिताउनु लेखेको थियो। साविक पाङ गाविस पर्वतको पुरानो ढिकीमा सम्पन्न परिवारमै भएको थियो उनको जन्म। ‘बाटोमा जन्मेको भन्छु म आफूलाई। घरबाट एक दुई माइल टाढा अस्पताल लैजाने क्रममा। स्योडिथोक भन्छ, शिवजीको मन्दिर नजिकै म जन्मेको थिएँ रे!’, रमेशले सुनाए।
परिवारमा माइलो सदस्यका रुपमा जन्मिएका, ४ दाजुभाई र ६ दिदीबहिनी बुवा आमासहितको ठूलो परिवार। जन्म त जमिनदारकै परिवारमा लिए। तर, बुवाको आम्दानीको स्रोत थिएन। बुवाका पनि ६ दाजुभाइ, ४ दिदीबहिनी। सम्पत्ति सबैलाई बराबरी भाग लगाउनु पर्यो।
‘जन्म त जमिनदारको कोखमा भयो, तर पछि धेरै दुख पायौं। हाम्रो हजुरआमा दुई नाल। हामीले त्यो अनुभव पनि गरेनौं। पछि त्यो अनुभव त भयो,’ उनी भन्छन्, ‘सानो छँदा बुवा बिरामी हुनुभयो। म ६ वर्षको थिएँ होला। ४ वर्षदेखि भारी बोक्ने काम गरें।’
‘सुखमा पनि आफन्त हुन्छन्। साथ दिने भेटिन्छन्। सानै हुँदा बुवा बिरामी भए। बुवापट्टी एक्ला थिए। अर्को हजुरआमापट्टी तीन जना दाजुभाइ। कमाएर ल्याउने बा नै बिरामी ! जमिन भएर मात्रै के गर्ने ? खान, लगाउनको पनि धौ धौ,’ अन्ततः रमेशलाई अझै पनि याद छ। ०४८ साल असार ५ गते जन्मेको त्यो ठाउँ छोडेर स-परिवार चितवन झरे, सुखको खोजीमा।
सबै बेच्दा त्यो बेला २ लाख १० हजार पाए। त्यही बोकेर उनको परिवार चितवन झरे। चितवनमा भरतपुर महानगरपालिका वडा नम्बर ८ पारस नगर, गौरीनगर र पारस नगर सीमानामा रमेशको परिवारले सानो झुप्रो हाल्यो। ‘भोकमा खाना पाइएन। धेरै परिवार पनि भयौं, जुन दिन हामी पार्वतीभूमि छोडेर गयौं,’ रमेश सम्झिन्छन्, ‘हामीलाई भाग्यले डोहोर्यायो। सम्झना माया त्यहाँकै आउँछ।’
रमेशलाई अझै याद छ, आमाले दुई भाइबहिनीलाई डोकोमा बोकेर नौडाँडाबाट चिलाउनेघाटी हुँदै चितवन ओर्लेको। अर्काको ठाउँ, दाजुभाइ छैनन्। चिनेको कोही छैन, घर छैन, पैसा छैन। त्यसमाथि बुवा बिरामी। चितवन पुगेपछि पढाइ सुरु भयो। उनी स्कुल भर्ना भए, यता दुईमा पढ्दै थिए, चितवनमा तीन कक्षामा भर्ना भए।
000
चितवन झरेको दुई वर्षपछि अर्को हजुरआमापट्टीको माइला बाहरु परिवारका सदस्य बतेर चितवन जानुभयो। ‘मैले अरु केही देखिनँ। मैले भगवान देखेँ। त्यसपछि मैले जसरी हुन्छ पहाडमै फर्कने निधो गरेँ,’ उनी भन्छन्, ‘हामीसँग जग्गा मात्रै थियो। पैसा थिएन। पहाडमा ढिडो खाने, त्यहाँ चामल खान गएको। घर छैन, पैसा छैन, बुवा बिरामी हुनुहुन्थ्यो।’
केही समय चितवनमै बसे। पछि गाउँमै फर्किए रमेश। ‘हजुरआमाले तैंले काम गर्लास्। मलाई पाल्लास् नि भनेर भन्नुभएको हो, त्यतिबेला ०५०/५१ मा म १०/११ वर्षको थिएँ। हजुरआमाहरु आउनु भयो,’ रमेशन सम्झिन्छन्, ‘म १३ वर्षको थिएँ होला भागेर पोखरा बसपार्कमा आउँदा। यहाँबाट ३७ रुपैयाँ तिरेर गाडीमा झुण्डिएर म पर्वत गएँ। ५ कक्षासम्म पढें। हजुरआमाले पढाउनुभयो। काका बुवाहरुसँग बसें।’
चितवन झरे पनि रमेशको मन त गाउँमै थियो। दाजुभाइ चितवन छन्, आमाबुवा उतै छन् भन्ने केही समयका लागि बिर्सिएका थिए रे। ‘मेरो संसारै यहाँ छन् भन्ने बुझें। माइली हजुरआमाका ४ वटी छोरीमध्ये साइँली छोरी मीना हुनुहुन्छ। उहाँले भतिजालाई लगेर पाल्छु भन्नुभयो। म दिदी कहाँ म बसेर पढें। ६ कक्षासम्म पढें,’ उनले सुनाए।
दिदीले पढाइ लेखाइ गरिदिने भएपछि राम्रै भयो। दाजुभाइ, बहिनीहरु सबैलाई पढाउन सक्ने अवस्था घरमा थिएन, त्यो रमेशले बुझेका थिए। त्यसैले फुपू दिदी कहाँ बस्न राजी भएका थिए। त्यहाँ बसेर रमेशले पढाइ मात्र गरेनन्, घरको काममा पनि सघाए।
दिदीले आडभरोसा त दिइन्, राम्रै भयो। तर, दिदी कहाँ नमिठो यादहरु पनि रहे। ०५४ सालको कुरा होला, घाँस काट्न जाँदा रमेश रुखबाट लडे। होस खुल्दा खुट्टामा घाँउ भएको रहेछ। खुट्टा खोच्याउँदै घर फर्किए। ‘दिदी बदाम गोड्दै हुनुहुँदो रैछ। गालामा हान्नुभयो। मैले घाँस काँटेर ल्याउन्जेल केही भएन। जब म लडेँ उहाँले मलाई चड्कन लगाउनु भयो,’ रमेश सम्झिन्छन्, ‘मलाई धेरै रिस उठ्यो। म भोलिपल्टै पाङ गएँ। भाइ आएन भनेर चिठी लेख्नु भएको थियो। हजुरआमाले मलाई नै पढ्न दिनुभयो। मैले रिसले चिठी फालेँ।’
दिदी कहाँ बसुञ्जेल एकजोर कपडा फेर्न पनि पाएनन् रे! अहिले उनी कहाँ काम गर्ने ६ जना कामदार छन्। उनले सबैलाई राम्रै गरेका छन्। त्यो दुख सम्झेर पनि सबैलाई राम्रो व्यवहार गर्ने गरेकाे उनले बताए।
चिठ्ठी पाएपछि हजुरआमाले फेरि फर्केर दिदी कहाँ जान भन्नुभयो। तर, रमेशले मन गरेनन्। ‘३ वर्षसम्म म दिदी कहाँ भाइ भनेर बसेको रहेनछु। म त गोठालो भएर बसेको रहेछु। त्यो तीन वर्षकाे अवधिमा दिदीलाई १५ वर्षका लागि दाउरा पुर्याइदिएँ होला, अरु के-के गरेँ गरेँ सबै भनेर पनि सकिन्न,’ रमेशन भन्छन्।
फुपू म कहाँ जाउँ ?
त्यो व्यवहार सम्झेर जान मन लागेन। घर जाउँ, घरको अवस्था त्यस्तो। उनको गाउँभन्दा माथिपट्टी सार्की गाउँ छ रे! त्यो गाउँका भाइहरु वर्कशपमा काम गर्ने गरेकाे सुनेको रहेछन् रमेशले। ‘त्यही काम सिक्छु’ भनेर मनमनै योजना बनाए। हजुरआमालाई चितवन जान्छु भनेर रमेश हिंडेछन् पोखरा।
000
सानो भए पनि फिल्म धेरै हेर्नुपर्ने। पोखरा आएर विन्ध्यवासिनी फिल्म हलमा राजेश हमालको फिल्म हेरे, रमेशले। राजेश हमाल भनेपछि जसरी भए पनि फिल्म हेर्ने। त्यो बेला राजेश हमालको स्टारडम पनि उस्तै। त्यो बेला अल्लारे भन्ने फिल्म हेरेको सम्झना रमेशलाई ताजै छ।
फिल्म त हेरे, अब जाने कता ?
कतै होटलमा छिरौं, खल्तीमा पैसा छैन। हिंड्दै हिंड्दै नयाँ बजार पुगे, चिनेको कोही छैन। गाउँका केटाहरुको फोन नम्बर पनि भएन। नयाँ बजारमा त्यतिबेला भण्डारी मेडिकल सप्लायर्स नामको गेस्ट हाउस थियो। हालको बतास अर्गनाइजेसन भएको ठाउँ। जे पर्लापर्ला सोचेर, गेस्ट हाउसमा एक रात भएपनि बस्नु पर्यो भन्ने सोचेर छिरे।
के गर्छाै ? कहाँबाट आएको हो ?, गेस्ट हाउसका साहुजीले प्रश्नै प्रश्नले घेरी हाले। उनले सबै नालिबेली बताए। भाँडा माझ्ने काम पाए गर्न सक्ने बताएर कामसम्म माग्ने आँट गरे। साहुजीले मानेपछि त्यो रात त्यहीँ बिताए।
भोलिपल्ट,
‘त्यहाँको भाडा माझ्ने दाइलाई सोधेँ। गेस्ट हाउस पछाडि गाडी, बाइक सिक्ने ठाउँ थियो। त्यहाँ बाइक, मोटर सिक्ने राम्रो ठाउँ कता हो भनेर सोधेँ। त्यहाँ लेकसाइडमा टुरिस्ट एरिया राम्रो हुन्छ बस लाग्छन् भनेर काम गर्ने दाइहरुले बताइदिए’, उनले भने, ‘वर्कशपमा काम सिक्छु भनेर आएको भाडा माझेर बस्ने कुरो त आएन। त्यहाँबाट कसरी भाग्ने उपाय सोच्न थालेँ। कसैले नदेखेको मौका छोपेर पछाडिबाट भागेँ।’
वर्कशपमा त कतै काम पाएनन्। अहिले रेष्टुरेन्टको नाम त याद छैन उनलाई। तिब्बतीयन खालको रेष्टुरेन्टको पुगेका रमेशले काम मागे। ‘ए, बाहुन रैछ यसले कामै गर्दैन’ भनेर काम गदिनन्। उनलाई कसैले पत्याएनन्।
त्यही पनि रेष्टुरेन्ट मालिकले बाइकमा पछाडि बसाएर किनमेल गर्न लिएर गए। रमेशले पनि फुर्तिफार्तीका साथ मूल्य सोध्ने, घटाउन बार्केनिङ पनि गरे। भन्छन्, ‘बाहुनको छोरो टाठो रैछ भनेर काममा राख्नुभयो। मैले त्यहाँ एक महिना जति भाडा माझेँ।’
‘यसरी बस्न हुन्न, खबरै नगरी रिसको झोँकमा हिंडेका थिएँ, कहाँ गयो ? कसो भयो ?’, भनेर परिवारमा चिन्ता गर्लान् भन्ने ठानेर उनी फेरि गाउँमा पाङमै फर्किए।
‘हजुरआमाले फेरि फुपूकोमा जानुपर्छ भनेर भन्नुभएछ। एक दुई दिनपछि फेरि पोखरा नै फर्किएँ’, उनले विगत सम्झिँदै भने, ‘फर्किँदा अर्को काम गर्ने मान्छे राखी सक्नुभएको रहेछ, त्यो काम पनि गुम्यो।’
‘त्यही रेष्टुरेन्ट आडैको गेष्ट हाउसमा टुरिष्ट बस्दा रहेछन्। डेनमार्कको। तिब्बतियन र दार्जिलिङका एक महिला र पुरुष पनि बसेका थिए। दुवै बोर्डिङ पढाउँथे। म त्यही बसें। त्यो टुरिष्टलाई बियर ल्याउने, चकलेट ल्याउने, खुवाउने काम भयो। पैसा दिन्थे। लेकसाइडमा वेलकम डिपार्टमेन्ट स्टोर भन्ने थियो। त्यहाँ गएर ६५ रुपैयाँमा बियर ल्याउने,’ उनी सम्झिन्छन्। १ सय २५ त टुरिष्टलाई लिन्थे रे ! ६० रुपैयाँ त उनलाई नाफा भो। त्यहाँ ६, ७ महिना बिताए उनले। त्यहाँ बसेको टुरिष्ट डेनमार्क जान्छु भनेर गए। उनलाई पनि लैजान्छु भनेका थिए। छोरा बनाएको थियो रे ! पछि ड्रग्स केशमा समातिएछन्।
वेलकम स्टोरमा सामान किनमेल गर्ने नियमित ग्राहक, कहिलेकाहीँ उधारोमा सामान नपाउने त कुरै आएन। वेलकम स्टोरमा पैसा तिर्न गए, घरजाने भनेर हिंडे।
वेलकमका साहु, लक्ष्मीनारायण श्रेष्ठ, उनकी श्रीमतीकाे कुश्मा माइती। ‘भाई यही काम गर भन्नुभयो। मैले तलब कति हो भनेर सोधिनँ। म यत्रो डिपार्टमेन्ट स्टोरमा काम गर्न पाएँ भनेर खुसी भएँ,’ रमेश भन्छन्, ‘३० किलो चामल उचाल्थेँ। १५/१६ वर्षको भएको थिएँ।’
वेलकममै काम गर्दा हो, त्यो बेला राजा विरेन्द्र पोखरा घुम्न आएका थिए। १५/१६ हजार मूल्य बराबरको रक्सी नै हराएछ। पछि उनकै तलबबाट काटियो।
चार महिना जति काम गरेपछि घरको याद आयो। ‘टुरिष्टसँग बसेर मैले ७०/८० हजार कमाएको रहेछु। वेलकममा कुलप्रसाद दाइलाई दिएको थिएँ, दाई मसँग पैसा छ भनेको, लेउ भनेर भन्नुभयो,’ उनी सम्झिन्छन्, ‘४/५ महिना काम गरेपछि तिहारमा म घर जानु पर्यो भनेर भनें। अहिले तिमीलाई दिने पैसा त छैन, तिम्ले दिएको पैसा लैजाउ भनेर दिनुभयो।’
चितवनमा जग्गा त थियो। तर, जग्गा भएर मात्रै केही हुनेवाला थिएन। इष्टमित्र पनि कोही थिएनन्। चाडवाड सधैं सुख्खा। लेकसाइडमा अल्टिमेन्ट डिसेन्ट भन्ने र्याफ्टिङ कम्पनी थियो। त्यो कम्पनीका दाईहरुले माया गरेर टिर्सट, टोपीहरु थुप्रो दिएका थिए रमेशलाई। ‘ती सबै भाइबहिनीले पाए कति खुसी होलान् ?’ रमेशले मनमनै सोचे। कोसेलीपात पोको पारेर चितवन पुगे।
चितवनमा,
बिरामी बुवा। दाजुभाइ, बहिनीहरु सबै आमाकै काँधमा। रमेशलाई देखेर बुवा अँगालो हालेर रोए। ‘म त मरें भनेका रहेछन् सबैले,’ रमेश सम्झिन्छन्। घरमा तीन दिन बसेर रमेश पोखरा फर्किए।
000
सानो झुपडीमा अब परिवार अट्न सक्ने अवस्था रहेन। घर बनाउने भनेर आमाले इँटा झार्नुभएको रहेछ। रमेश पनि घर बनाउने भनेर चितवनतिरै झरे। त्यो बेला कुखुरा पालेर मासिक तीस हजार रुपैयाँ कमाई हुन्छ भन्ने रमेशले थाहा पाए। छिमेकमा धेरै जसोको कुखुरा फर्म थियो। ५ सय पाले १५ हजार, १ हजार पाले मासिक तीस हजार आउँछ भन्ने उनले चाल पाए।
‘पैसा थिएन। झण्डै २ लाख ८० हजार जति संकलन गरेका रैछौं,’ रमेश भन्छन्, ‘त्यो बेलासम्म पनि घरको स्थिति नाजुकै थियो। पोखरा छोडेर घर जानेबेलासम्म चिनी, चियापत्ति किनेर सँगै खान सक्ने अवस्था थिएन। एउटा भैँसी थियो। त्यही भैंसीको दुध बेचेर गुजारा चलिरहेको थियो। ‘आमाले बाख्रा पालेर खेतीपाति गर्ने त्यही मात्रै थियो,’ रमेश थप्छन्।
एक हजार कुखुरा पालेर मासिक ३० हजार कमाई हुने भए किन नपाल्ने ? रमेशको दिमागमा आयो। तर, आइ दियो अर्को फसाद ! बाहुनको छोरा भएर कुखुरा पाल्ने ? ‘कुखुरा पाल्ने क्रममा खुट्टा तान्ने परम्परा नेपालीको। त्यसमा पनि बाहुनको धेरै। शालिकराम पुसाजुलाई भने यहाँ वरिपरी कुखुरा पालेका रहेछन्। घर बनाउने भनेको। छोराको कमाई खान लेखेको रहेनछ भन्नु हुन्छ आमा,’ उनले सम्झिए।
पुसाईले बाबु मैले आमा बुवालाई सम्झाइदिन्छु भन्नुभयो। पुसाजु आए। ‘कुखुरा पाल्ने आइडिया सुनेर बुवाले बाहुनको छोरा देवघाट जान्छु।आमा रुँदै भित्र पस्नु भयो। पुसाजुले सम्झाउनु भयो। हामीसँग यति पैसा छ। यो पैसाले घर बनाम् भने व्यापार के पैसाले के गर्ने ?’ उनी भन्छन्, ‘घर बनायो व्यापार रिन गरेर गरे घर पनि जान्छ व्यापार पनि जान्छ। यो भन्दा खरको झुपडी नै ठिक छ। कमाएँ भने ठिक छ घर बनाउँछु। कमाइएन भने ठिक छ फेरि कमाउन जान्छु। घर त रह्यो नि भनेर आमा बुवालाई सम्झाइदिनु भने। उहाँले सम्झाइदिनु भयाे।’
000
दुखैदुख खेपेर केही सहज हुँदै थियो। ०५७ पुस ८ गते राति रमेश दुर्घटनामा परे। ट्याक्टरले च्याप्यो। उनी भन्छन्, ‘म गीत खुबै सुन्थेँ। उडायो सपना सबै हुरिले भन्ने गीत खुब सुनेँ। मलाई त्यस्तै भयो। ७ महिनासम्म केही काम गर्न सकिनँ।’
डाक्टरको ठ्याक्कै नाम त याद छैन। तर, डाक्टर किरण भनेको जस्तो लाग्छ रमेशलाई। उहाँलाई के गर्ने खुट्टा यस्तो भयो भनेर देखाए। डाक्टरले पहिले जसरी निको नहुने बताए।
शालिकराम पुसाजुको ठूला छोरासँग बिएण्डबिमा गए, डाक्टर अशोक बास्कोटा कहाँ। तर, कुर्दाकुर्दा पालो आउन पनि मुश्किल। जम्मा ८ जना दैनिक जाँच हुँदो रहेछ बिएण्डबिमा।
पछि ढाँटेर बाआमा कोही छैन, म काम गरेर खाने भनेर दुख देखाएपछि जचाउने टिकट पाए। मनकारी डाक्टरले पैसा पनि लिएनछन्। खुट्टा विस्तारै ठिक भयो।
पोखरा छोडिसकेका थिए। चितवनमै जम्ने योजना थियो। कुखुरापालन व्यवसाय भएपछि फिड पनि आफ्नै भए त झनै गजब, १० जना मिलेर फिड खोले। रमेशको खुसीको सीमा नै रहेन। भन्छन्, ‘मेरो दिन खुल्न थाले। मैले दिनको हजार कमाउन थालेँ।’
अनि त के थियो र, रमेशले थप जग्गा पनि जोडे। गोबर ग्याँस, ट्वाइलेट सब बनाए। चारै भाइको ब्रतबन्ध पनि धुमधामले भयो। सबै राम्रै चल्दै थियो। दैनिक १७/१८ सयसम्म कमाई दिँदै थियो पोल्ट्री फार्मले।
‘अहिले बर्डफ्लु भन्छन्। त्यो बेला मेरो खोरमा पनि आएछ क्यारे। कुखुरा भटाभट मर्न थाले। म १७/१८ सय दिनमै कमाउने भएको थिएँ। चितवनको मान्छेले काशिराम भाइको सबै सिद्दिने भयो भन्थे,’ रमेश सम्झिन्छन्।
भटाभट २ सय कुखुरा मरे। दिमागले पनि काम गर्न छाडेको थियो। 'बाहुनको छोरो, कुखुरा पालेर' त्यसै त सबै रुष्ट थिए। राम्रै कमाई दिइरहेका कुखुराले उल्टै ऋण थपिदियो।
...
चुकचुकाएर बस्नु बाहेक रमेशसँग अर्को विकल्प थिएन। केही सीप नलागेपछि पोखरामा अण्डा व्यवसाय सुरु गर्ने योजना बनाए। ०६९ सालको दसैंको टिका लगाएर फेरि पोखरा फर्किए। बागलुङ बसपार्क वडा नम्बर-२ हितमार्गमा एक हजार भाडामा सटर लिए। लिएको तिहारको अघिल्लो दिन ३५ प्याक अण्डा साइकल, दुई क्याजुअल, खाना पकाउने भाडा, लिएर चितवनबाट पोखरा आए।
बसपार्कबाट थोरै भित्रपट्टी थियो उनले लिएको सटर। टाउकोमा ६० हजार ऋण थियो। ६ महिनामा तिर्ने सोच बनाएर अएका थिए। अण्डा बेच्न लेकसाइड, अमरसिंह चोक, बिरौटा, मुस्ताङचोक पोखराको सबै ठाउँ डुले। बिक्थ्यो जम्मा दुई केरेट अण्डा। दुई केरेट बेच्दा निक्लिन्थ्यो जम्मा २८ रुपैयाँ नाफा। उता ऋण तिर्नु छ ६० हजार।
‘मेरो घरको सीमानाको पेटीमा बँगुर, कुखुरा काट्ने थियो। यो मेरो भए त अण्डा ल्याउँथे बेच्थे भन्ने लाग्यो। कुखुरा पाल्दा साइकल पनि नहुने। फिडबाट दान ल्याउँदा अरुको साइकलबाट ल्याएर ६०/७० भाडा बचाउने पनि गर्यौं,’ रमेश सम्झिन्छन्, ‘६० हजार तिर्न आएको, त्यो घरमा आएको दिनको एक गाडी अण्डा बिक्न लागे। अर्काको गाडीबाट ल्यायौँ। कुन सस्तो पाइन्छ। खोज्दै ल्याउने। गाउँमा जाने ठेला संकलन गर्ने। घरको अण्डा ल्याउने बेच्न सुरु भयो।’
उनी भन्छन्, ‘एक न एक दिन सुखका दिन फिर्छन्।’ रमेशका पनि फर्किए। कमाई बढ्दै आयो। ०६२ सालतिर भरतपुरमा एक ढलान घर बनाए। त्यो बेला टोलमा त्यो नै पहिलो ढलान घर थियो।
अहिले रियल स्टेटलगायत थुप्रै व्यवसायमा सामेल छन् रमेश। बागलुङ बसपार्कको उत्तरपट्टी बिन्ध्यवासिनी सुपरस्टोर्स छ। उनको श्रीमती र भाइले सुपरस्टोर्स हेर्छन्। एक छोरा र एक छोरी भएका छन् रमेशका। समय सधैं उस्तै कहाँ रहन्छ र ! साइकलमा लेकसाइडका चोकचोकमा अण्डा बेच्दै हिंड्ने रमेश अहिले आफ्नै नीजि गाडीमा हुँइकिन्छन्।