बनाइदे साननको ठेकी, बग्ने चौलानी
असौजे दहीखिलाई, काँ झान्छइ बगने पानी कै को माया मानी
क्याखि रुन्छइ पापी मन, बग्ने चौलानी
को छ रे कै खीलाई, काँ झान्छइ बगने पानी कै को माया मानी
पचासको दशकमा खुबै चर्चामा थियो यो गीत। अनि चर्चामा थिइन् यो गीतकी गायिका दार्चुलाकी कमलासिंह मुस्कान। रेडियो नेपाल दिपायमा रेकर्डिङ भएको उक्त गीतको भाकाले खुब सम्झाउँथ्यो–दार्चुला र बैतडीको सिमाना छुट्याउँदै बगिरहेकी चौलानी नदीलाई। हिजोजस्तै एकोहोरो आफ्नै सुरमा बगिरहेकी छन् चौलानी नदी।
अरु नदीहरूको झैं चौलानीको नियति नि अनवरतरुपमा बग्दै जाने हो र त बगिरहन्छिन्। अपि हिमालबाट आएकी चौलानी बगिरहन्छिन् कतै फुर्किंदै त कतै कम्मर मर्काउँदै।
परापूर्व कालदेखि बग्दै गरेकी चौलानी उस्तै छिन्। त्यही किनारमा बसोबास गरिरहेका कति मुहारहरू अलप भइसके। त्यही किनारबाट कतिले आफ्ना पाइलाहरू अघि बढाएर यात्रा प्रारम्भ गरी देशविदेशतिर लम्किसके।
तिनै चौलानीलाई सम्बोधन गरेर, तिनै छाललाई प्रश्न तेर्स्याएर संगीतको राग अलाप्दै सबैको मनमा बस्न सफल गायिका कमलाले पनि छोडिसकिन् ती किनारा। उनले चौलानी छेउको बस्ती मात्र छोडिनन् गायन क्षेत्र नै छोडेर शिक्षण पेशा अँगालिन्।
उनले कञ्चनपुरको एउटा सरकारी विद्यालयमा शिक्षण गर्न थालेको पनि निकै समय व्यतित भैसक्यो। सुमधुर स्वरकी धनी मुस्कानले पचासकै दशकमा तीनवटा एल्बम ल्याइसकेकी थिइन् बजारमा। अहिले सुनिदैनन् ती गीतहरू सञ्चार माध्यममा। त्यही बग्नेचौलनी बोलको गीत छ दिपायल रेडियोमा।
उनीसँग त त्यही गीत पनि छैन सुन्नलाई। पछि गएर कुन्नी किन छोडिन् साङ्गीतिक गोरेटोको यात्रा। त्यो उनैलाई थाहा होला। यतिखेर दार्चुला यात्राको क्रममा जब देखापरिन् चौलानी नदी तब सम्झनामा आइरह्यो त्यही भाका –बग्ने चौलानी, काँ जान्छइ बगने पानी कै को माया मानी।
नदी किनारमा उभिएर लेखक नेत्र शाही र मैले निकै बेर नियालौँ चौलानीको बहावलाई। पहाडको खोचमा नागबेली परेर आफ्नै सुरमा अविरल बगिरहेकी चौलानी पनि अरु नदीहरू जस्तै सम्पदा र सभ्यताकी खानी हुन्। चौलानी किनारका पुराना बस्तीहरू यसका प्रमाणका रुपमा देखिएकै थिए। नदी किनारबाटै सुरु भएका हुन् हाम्रा कैयौं सभ्यताहरू।
चामल पखालेको पानी जस्तै देखिने भएर होला चौलानी भनिएको। चौलानीको किनारमै छ चमेलिया हाड्रोपावर। त्यही किनारको यात्रा गर्दै गर्दा पुगिन्छ मार्मा, रास्कोटको बस्तीमा।
जुन ठकुरीहरूको बाहुल्यता रहेको क्षेत्रका रुपमा चिनिन्थ्यो विगतमा। त्यस क्षेत्रमा निकै अघि बझाङ्गबाट आएका थिए ठकुरीहरूका पुर्खा। रास्कोटको बस्तीको शिरानीमा देखिन्छ लटीनाथको मन्दिर। सांस्कृतिक अध्येता जगतबहादुर सिंहका अनुसार दार्चुलाको जैपुर गाउँमा ११ शताब्दीअघि नै लटीनाथको औतार भएको मानिन्छ। लटिनाथप्रति त्यहाँका मान्छेको अथाह श्रद्धा र विश्वास रहेको पाइन्छ।
दार्चुला मार्मा भन्ने बित्तिकै धेरैले सम्झिन्छन् पूर्व सांसद अकबरबहादुर सिंहलाई। जसले चौध रोपनी जमिन दान दिएका थिए मार्माको दुर्गा आधारभूत विद्यालयलाई।
उनी सामाजिक, शिक्षाप्रेमी थिए। त्यहाँका मान्छेका प्रिय थिए। जसको उदाहरण हो ०४६ को प्रजातन्त्र पछिको आमनिर्वाचनमा राप्रपाबाट बहुमतले चुनाव जित्नु। त्यतिबेला उनी एकजना मात्रै थिए अधिराज्यभरमा राप्रपाबाट चुनाव जित्नेमा। काँग्रेसबाट टिकट माग्दा नपाएपछि उनी राप्रपाबाट चुनाव लडेका थिए भन्ने कुरा सुन्नमा आउछ।
लटीनाथ क्याम्पस खोल्नमा पनि उनको योगदान रहेको कुरा सुनाउँछन् त्यहाँका स्थानीयबासीहरू। कुनै समयमा गाउँघरतिर छोराछोरी विद्यालय नपठाउनेलाई जरिवाना तिराउने उर्दी समेत जारी गरेका सिंहले धर्ती छोडेको वर्षदिन पुगेको छैन। मार्मालीहरू बेलाबखत गरिरहन्छन् उनको सम्झना।
त्यही चौलानीको किनार, त्यही मार्मा रास्कोटको बाटो हुँदै जान्छन् अपि, नाम्पा हिमाल चढ्नेहरू। मात्र आधारशिविरसम्मको यात्रामा निस्किने कैयौं पाइला देखिन्थे यही बाटोमा। हिजो आज ठप्प छ पर्यटन। अचेल त देखिँदैनन् अपि, नाम्पा जाने मान्छे – टाढासम्म दृष्टि फालेर सुनाएका थिए स्थानीय पुण्टे विष्टले।
त्यतैबाट पुगिन्छ जैविक विविधताले अत्यन्तै महत्वपूर्ण मानिने अपि, नाम्पा संरक्षण क्षेत्र। जसको पूर्वमा बझाङ्ग जिल्ला, पश्चिममा महाकाली नदी, उत्तरमा तिव्वत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन्। २०६६ मंसिर १६ गते कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले घोषणा गरेको उक्त संरक्षण क्षेत्र १९०३ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ।
यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पतिदेखि हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थारलगायतका वन्यजन्तहुरू र २०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्।
विकासका दृष्टि पछि परेको दार्चुला जिल्लाको विकास गर्ने उद्देश्यले नै त्यस संरक्षण क्षेत्रको स्थापना गरिएको हो भन्ने सुन्नमा आउँछ। तथापि उचित ढंगले बाटो घाटोको निर्माण हुन नसक्नु, स्थानीय निकायले पर्यटनको महत्व बुझ्न नसक्नु अथवा बुझेर पनि बुझपचाई बस्नु, अनि राज्य संचालकको दृष्टिमा कहिल्यै नपर्नुको पीडा खेपिरहेकै छन् त्यहाँका बासिन्दाले। पर्यटन फस्टाउन नसकेकै कारण बजार पाउन सकेको छैन स्थानीय उत्पादनले पनि।
राज्यले सौतेनो व्यवहार गरेको सुदूरपश्चिम त्यसैमा सदा समाचार मात्रै बनिरहने दार्चुलाका आफ्नै कथा व्यथा छन्। अपि,नाम्पा र व्यासजस्ता हिमालहरू पग्लिरहेकै छन्। चौलानी,महाकाली जस्ता कैयौ नदीलाई बग्न सिकाइरहेका छन्। यो देशका सम्राटहरू पग्लिन जान्दैनन्। पत्थरझैँ कठोर बनिरहन्छन् सधैंभरि। नारा विकासका लगाउँछन्, खेती घुषको गर्छन्। र, ठानिरहन्छन् आफूलाई बादशाह।
चौलानीमा आफ्नो छायाँ मिसाइरहने चिउरीका रुखहरू प्रशस्त मात्रामा देखिन्छन् डाँडाको फेदीतिर। असोज कार्तिकमा माहुरीले सुमधुर संगीत सुनाउँछन् यिनै रुखका हाँगामा बसेर। यो क्षेत्र मह उत्पादनको लागि निकै महत्वपूर्ण मानिन्छ भन्ने कुरा सडक छेउछाउको ढिस्कोमा राखिएका माहुरीका घारले प्रष्ट पारेकै छन्।
ठाउँठाउँमा देखिने उखु खेतीले सजिलै सङ्केत गर्छ वर्षौदेखि त्यहाँका मानिस अग्र्यानिक गुड (सख्खर) उत्पादन गरिरहेका छन् भन्ने पनि। मार्मा र रास्कोटका सुन्तला कम स्वादिला छैनन्।
त्यहाँका पौरखी हातहरूले छोडेका छैनन् राडीपाखी र गलैंचा बुन्न। वेदव्यासले बास गरेको कथा बोकेर मुस्कुराइरहेको व्यास हिमाल त्यतै छ। विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्ला संस्कृति र जडिबुटीका हिसाबले निकै सम्पन्न मानिन्छ। यहाँका सौका जातीको सद्भाव र सांस्कृतिक आभा छुट्टै छ।
घुम्ती नै घुम्तीले सजिएको पहाडको अप्ठेरोबाटो। सदरमुकाम पुग्ने सडकसमेत सिङ्गल बनाइनु निकै मननयाेग्य छ। सदरमुकाम जाने क्रममा सडकबाट एक किलोमिटरको दुरीमा रहेको मालिकार्जुन मन्दिरको सुन्दरताको व्याख्या जति गर्दा पनि कमै हुन जान्छ।
जङ्गलको बीचमा सजिएको मालिकार्जुन मन्दिर क्षेत्रभित्र प्रवेश गरिसकेपछि चराचुरुङ्गीको चिरबिर, स्वच्छ सफा एकान्त ठाउँ, अनि त्यो प्राकृतिक सौन्दर्यले कसको मन लोभ्याउँदैन होला र। दार्चुलाका पत्रकार सुन्दरसिंह धामीले भने प्रचुर सम्भावना भएका अनेकौ पर्यटकीय गन्तव्य छन्,जसको प्रचार प्रसार हुन सकेको छैन।
देशमा समय समयमा राजनैतिक परिवर्तन भए तर किसान र श्रमिकलाई प्रोत्साहन गर्ने सरकार भेटाएनन् दार्चुलाबासीले। धेरै कुरा भेटिन्छन् दार्चुला जिल्लामा तर देख्दैन नैपालले ती केही पनि। एकातिर सीमापारिकाले देखाउने हैकम अर्कोतिर दार्चुलाप्रति नैपालको उदाशिनता।
यस्तैयस्तै समस्याले पीडित बनेका दार्चुलाबासीले वर्षौदेखि तेर्स्याएकै हुन् राज्यलाई प्रश्न। नैपालले सुन्दै नसुनेपछि अचेल कमला सिंहले गीतमा भनेझैं प्रश्न गर्छन् काली, चौलानीलगायतका तिनै नदीहरूलाई मात्र– काँ जान्छइ बगने पानी कै को माया मानी ?