‘पहिला कांग्रेसमा ज्यान दिन तयार हुन्थे, अहिले कांग्रेसकै ज्यान लिन तयार हुन्छन्’

ओम आचार्य

विराटनगर
Breaknlinks
Breaknlinks

नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि कांग्रेस अहिले यस्तो मोडमा उभिएको छ, जाे चौबाटोमा खडा छ, आफ्नो गन्तव्य हराएको, अल्मलिएको र द्विविधामा भएको प्रतित हुन्छ।

कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिहं, डा. शशांक कोइराला, विमलेन्द्र निधी डा. शेखर कोइराला संस्थापन इतरबाट सभापतिका सम्भावित उम्मेदवार हुँदै गर्दा अन्तिममा सिंह, निधी र शेखरले संस्थान पक्षको विरुद्धमा "पुस्तान्तरण एवं रुपान्तरण" भन्दै मोर्चावन्दी गरेका थिए।

यस्तो अवस्थामा संस्थापनबाट सभापतिका उम्मेदवार भएका शेरबहादुर देउवा पक्षले आफ्नै सहयात्री विरुद्धबाट भएको मोर्चावन्दीको प्रतिरक्षामा उभिनु परेको थियो भने अर्कोतर्फ सरकारको भूमिका निर्वाह गर्नु परेको थियो।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी प्रतिस्पर्धा भयो।

पहिलो चरणको निर्वाचनमा नेतृत्व परिवर्तन हुनुपर्छ, देउवा नेतृत्वबाट पार्टी चल्दैन भनिरहेका सिंह र निधी दोश्रो चरणको निर्वाचनमा देउवालाई आश्चर्यजनक तरिकाबाट समर्थन गर्न पुगे। त्यति मात्रै हाेइन रामचन्द्र पौडेल र डा. शशांक कोइराला समेतको समर्थन पनि देउवालाई नै हुन पुग्यो।

अझ आश्चर्य त कोइराला विरासतको कुरा गर्ने शशांक र सुजाता कोइराला समेत देउवा समूहमा जानुले सभापतिका उम्मेदवार बनेका डा. शेखरलाई एउटै मालामा बाँधिएका यी तीन कोइरालाको माला टुक्रिएर एकता भंग भएको महशुस भयाे। यति मात्रै भएन आफ्नो पराजय समेत हुने महशुस भएर दोश्रो चरणमा सभापतिको उम्मेदवारी कायम राख्ने की नराख्ने यो विषयमा आफ्ना समूहमा छलफलसम्म पुग्याे।

राजनीतिमा नैतिकता र चरित्रको ठूलो महत्व छ। यी दुई कुरामा जो रहन्छन् तिनीहरुको राजनीतिक आफ्नो पहिचान बनिरहन्छ। यसमा चिप्लिएर कति तल पुगिन्छ यसमा त्यसरी चिप्लिएर राजनीतिक भविष्य अँध्यारो बनाएकहरुलाई बढी थाहा हुन्छ। अहिले पाैडेल, शशांक, सिंह र विधिले यो कुरा महशुस गर्दै होलान् या त्यसरी आफ्नो प्रतिष्ठा स्खलन भएको व्यक्तिहरुको स्मरण गर्दै होलान्।

ग्रहण गरेपछि त्याग गर्नै पर्छ ! हामीले सास अक्सिजनमा लिएपछि त्यो सास कार्बनडाइअक्साइडमा फेरि त्याग गर्छौँ, जल ग्रहण गर्छौं र मुत्रको रुपमा त्यो त्याग गर्छौ, अन्न ग्रहण गर्छौँ र मलको रुपमा त्याग गर्छौँ, यी सबै त्याग प्राकृतिक हुन्।

अहिले दोस्राे कार्यकालको लागि सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाले शशांक, प्रकाशमान, विमलेन्द्र र सुजाताको शक्ति ग्रहण गर्नुभएको छ। अब यो शक्ति ग्रहण गरेपछि त्याग त गर्नैपर्छ। अब हेरौँ त्यो त्याग कस्तो हुन्छ ? प्राकृतिक कि अप्राकृतिक ? पार्टी सभापति देउवाले अब कस्तो प्रकारको त्याग गर्नुहुन्छ, त्यसले शक्ति ग्रहण गर्नेहरुको राजनीतिक भविष्य सुनिश्चित होला ?

संस्थापन इतरबाट रामचन्द्रले नेतृत्व लिइरहेको र त्यसमा प्रकाशमान, शशांक, सुजाता र शेखरलगायतहरू थिए। अब त्यो नेतृत्व रामचन्द्रबाट शेखरको हातमा आइपुग्यो। केही दिन अगाडि आफ्नो समूहको भेला गर्दै शेखरले पार्टी सभापतिले गरेकाे सदस्यहरुको मनोनयन र केन्द्रीय सदस्यहरुको मर्यादा क्रमको विषयमा कुन मापदण्डबाट यसो गरिएको हो? भन्ने प्रश्न राखेका थिए। सभापतिको यो लाइक र डिसलाइकले पार्टीमा दुर्घटना हुनेसम्मको कुरा समूहको भेलामा प्रस्तुत गर्दै अब संस्थापन इतरको नेताको रुपमा आफूलाई राख्नुभएको छ भने रामचन्द र शशांक देउवाको वर्तमान कार्यशैलीमा मौन देखिनुभएको छ।

कांग्रेसले प्रथम त आफ्नो पार्टी सुदृढ गरी संस्थापन र संस्थापन इतरको भेद, आपसी पृथकता हटाउन सबै एक ढिक्का हुनुपर्नेमा एकअर्कालाई निस्तेज गर्ने, एकअर्कालाई नेतृत्वबाट विस्थापित गर्ने रणनीतिमा लागेर संगठन कमजोर बनाउने तिर लागेका छन्। यस्तो प्रवृतिलाई अहिले सबैले आ-आफ्नो ठाँउबाट यो खेल बन्द गरेर संगठन मजबुत बनाउन लाग्नुपर्छ। यो कार्यको लागि सभापति जति जिम्मेवार छन् त्यति नै जिम्मेवार शेखर पनि छन्।

कांग्रेसले कांग्रेसलाई नै जोड्न सकेको छैन। कांग्रेसले कांग्रेसमा अपनत्व गराउन सकेको छैन। कांग्रेस यस्तो पार्टी थियो, जसकाे लागि ज्यान दिएका थिए। ज्यान दिन तयार हुन्थे। अहिलेको कांग्रेस कांग्रेसकै ज्यान लिन तयार छन्। ज्यान लिनु भनेको मार्नु, हत्या गर्नु मात्रै हाेइन। आफ्नो निहित स्वार्थ, आफ्नो अभिष्ट पूर्तिको लागि, सहयात्रीलाई निस्तेज गर्नु, नेतृत्वबाट विस्थापित गर्नु, पार्टीबाट पलायन पार्नु, उदासीन गराउनु पनि हत्या गर्नु, ज्यान लिनु सरह नै हो। अहिले पार्टीमा यस्तै विचार मौलाइरहेको छ। सायद डा. शेखरले यही कुरा आफ्नो समूहमा "मर्यादाको क्रम" र "सदस्यको मनोनयन" विषय उठाएका हुन्।

अहिले युवा पुस्ताको कुरा उठाइरहेका छन्। नेतृत्व युवा पुस्तामा आउनुपर्छ भनिरहेका छन्। पुस्तान्तरणको कुरा पनि यही होला। तर युवा पुस्ताले यो भनिरहँदा, यो कुरा उठाइरहँदा गुटभित्रै रहेर यो कुरा उद्घाटन गरिहेका छन्। देउवा, रामचन्द्र, कृष्ण सिटौला ठूलो वृक्षको रुपमा कांग्रेसमा देखिएका छन् र त्यही वृक्षको छायामा युवा पुस्ता हुर्किरहेका छन्।

छायामा रहेर युवा पुस्ताले नेतृत्वको कुरा गर्नु, पुस्तान्तरणको कुरा गर्नु आफैँमा स्वस्थ राजनीति मान्न यस कारणले सकिँदैन की यसमा गुटउपगुट जीवित देखिन्छ। छायाबाट मुक्त हुनुपर्छ। छायामा बसेर नेतृत्व विकास हुँदैन। छायामा बसुञ्जेल, रहुञ्जेल सधैं पुड्काे हाेइन्छ। त्यहाँ विकसित हुने वातवरण वृक्षले रोक्छ, जसरी ठूला वृक्षको छायामा अन्य वनस्पती मौलाउँदैन, फस्टाउँदैन, सेपमा पर्छ अहिलेको युवा पुस्ता त्यस्तै सेपमा छन्।

प्रथम त युवा पुस्ता त्यो छायाबाट मुक्त भइ विपी विचारको कांग्रेस भएर अगाडी बढ्नुपर्छ। विपीकाे विचार, विपीको चरित्र र संस्कार आफूमा रुपान्तरित गरेर विचार, चरित्र र संस्कारलाई पोषित गर्दै शुद्धीकरण गरेर अगाडि बढे पुस्तान्तरण पनि हुन्छ र रुपान्तरण पनि। अन्यथा युवा पुस्तामा विपीले जन्माएको कांग्रेसमा नेतृत्व लिने क्षमताको विकास हुँदैन, संगठनमा शुद्धीकरण आउँदैन र गुटउपगुटको अन्त्य हुँदैन।

सबै एक जुट हुनुपर्छ, गुटउपगुटको अन्त्य हुनुपर्छ। कांग्रेसको गठनलाई संगठित गर्दै पार्टी विधि/विधानले चलाएको अवस्थामा कांग्रेसले एकअर्कामा अपनत्व सृर्जना गर्न सक्छ। कांग्रेसले एकअर्कामा जोड्न सक्छ। यो कार्य गर्नअरु हाेइन सभापति देउवा नै लाग्नुपर्छ र अरु साथीहरुले पनि यो कार्यमा सहयोग गर्नेछन्।

अब हुने तीनै तहको निर्वाचनमा "कांग्रेस एक्लै चुनावमा सहभागी हुनुपर्छ" यो कुरा केही नेताहरुबाट उद्घाटित भइरहेको छ। तर यो कुरा आइरहँदा तीनै तहको निर्वाचनमा उम्मेदवारी खडा गरिरहँदा सकेसम्म विवाद रहित रहने उम्मेदवार दिनुपर्छ। अहिले केन्द्रीय सदस्य र मर्यादाको क्रम हेर्दा संस्थापन इतरबाहेक पार्टी सभापति एक्लै अगाडि बढ्ने अवस्था देखिनुले आगमी निर्वाचनमा कांग्रेसले सोचे जस्तो नतिजा आउने संसय देखिन्छ।

तीनै तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सभापतिको मात्रै प्रयास पूर्ण छैन, यसमा अहिले संस्थापन इतरको नेतृत्व लिएका डा. शेखर कोइरालाको पनि त्यति नै प्रयास हुनुपर्छ।

प्रकाशित मिति: : 2022-01-10 13:10:00

प्रतिकृया दिनुहोस्