राजनीतिक नेतृत्व जवाफदेही भएन भने सामाजिक रूपान्तरण नेताहरूको जप्ने मन्त्र मात्र बन्छ।
भरखरै ठूला र प्रभावशाली मानिएका दलको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। नेकपा (एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आ-आफ्नो राजनीतिक सोचबारे गाउँदेखि केन्द्रसम्म आन्तरिक बहस गरे। यसमा आम चासो भने दलहरूले ‘रूपान्तरण’ को अजेन्डालाई कसरी आत्मसात् वा कार्यान्वयन गर्छन् भन्ने नै हो।
नेपालमा धेरैजसो दल मार्क्सवादबाट नि:सृत प्रगतिशीलताको सिद्धान्त नै मान्ने छन्, यद्यपि केन्द्रबिन्दुबाट कुन दल कति वाम भन्ने विषयमा बेग्लै चर्चा हुन सक्छ। उनीहरूले परिवर्तन वा रूपान्तरणको प्रमुख अवयव आन्तरिक तत्त्वलाई नै मान्छन्। तर, कुनै पनि दलले आन्तरिक रूपान्तरण कसरी गर्ने भन्ने विषय स्पष्ट पार्न सकेका छैनन्।
विधान र राष्ट्रिय महाधिवेशन मार्फत एमालेले नीति, विधान र नेतृत्व निर्माण गर्यो। तर, नेकपा (माओवादी केन्द्र)सँग एकता गर्दा मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ को स्थगन गर्नु सही थियो वा थिएन भन्नेबारे प्रतिनिधिले विचार मन्थन गरेको देखिएन। पार्टी एकता केमा भएको थियो, नेताबीचमा वा नीतिमा? नीति मिल्न सिद्धान्तमा सामीप्य चाहिन्छ। त्यसलाई मनन गरिएको थियो वा थिएन? यसमा पनि विमर्श भएको सुनिएन।