समानताको ‘लङ’ मार्चमा हिँडेका योद्धा अर्थात् बद्री पुन

Breaknlinks
Breaknlinks

नागरिकतामा डिलु बुदुजा। समानताको लडाईंमा बद्री पुन। यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हकहितका लागि अग्र मोर्चामा खटिरहेका उनलाई धेरैले बद्री पुनकै नामले चिन्छन्। हो, भूतपूर्व भलिबल खेलाडी समेत रहेका पुनको परिचयको सीमा समानताको लङ मार्चमा पैताला अघि बढाउनेहरुका लागि नौलो होइन।

म्याग्दी स्थायी ठेगाना भई समानताको लडाईं लड्दै गरेका पुन तेस्रो लिङ्गी हुन्। राज्य सत्तासँग पुनले अधिकार माग्दै थुप्रै लडाईं लडिसकेका छन्। ०४६ सालको बहुदल ल्याउने अभियानमा समेत अग्र मोर्चामा खटिएका उनलाई पक्राउ गर्न वारेन्ट समेत निकालिएको थियो।

‘बहुदल ल्याउने अभियानमा थियौं। लड्दा, कुट्दा बहुदल ल्याउने अभियानमा लागेपछि वारेन्ट आयो,’ उनले बहुदल अभियानमा लाग्दाको किस्सा सुनाउँदै भने,‘भाग्दै काठमाडौं पुगेँ। काठमाडौं पुगेको १६ दिनमा त बहुदल आयो।’

पुन राष्ट्रिय भलिबल टिममा पनि थिए। राष्ट्रिय टिममा भइसकेपछि साथीहरु पनि धेरै थिए, काठमाडौँमा। बहुदल आइसकेपछि काठमाडौंमै थिए। खेलका साथीहरुसँग भेटघाट चलिरहन्थ्यो। साथी संगत हुँदा एउटा ग्रुपसँग भेट भयो, बद्रीको। लैंगिक अल्प संख्यकहरुको हक हितमा काम गर्ने ग्रुप रहेछ त्यो ग्रुप। तर, उनी खेलाडी भनेर गएका थिए रे। त्यहाँ गएपछि एउटा कपलसँग भेट भयाे। ५ जनाको। त्यो ग्रुप बाहिरबाट आएको कपल आएको रहेछ। खेलको हिसाबले साथी बनि हाले। कोठमा ल्याएर खाना पनि खुवाए।

कुरा चल्दै जाँदा ग्रुपमध्ये एक जना साथीले केटी साथी भगाएर ल्याएका रहेछन्। पछि उनका आमा–बुवाले खोसेर आफूहरुसँगै लगे।

ल, खोज्न जाम् त नि।

साथीहरुबीच सल्लाह भयो। बाहिर निस्केका मात्र के थिए, तीन जनालाई प्रहरीले समाई हाल्यो। थानामा लगेर प्रहरीले यतिसम्म कुटे कि शरीर सुन्निएर आफ्नै हो कि अरुको छुट्याउन पनि मुश्किल परेको उनी बताउँछन्।

‘पुलिसले यति कुट्यो। कान त,...म आफैं बक्सर। भलिबलको राष्ट्रिय खेलाडी। कान पनि यत्रो भयो,’ उनले सुनाए,‘जम्मै टाइकन्डो खेल्ने। मैले बक्सिङ ९ महिना सिकेको थिएँ। पुलिसले धुट्टो पारेर पिट्यो।’

प्रहरीले समाउन त समायो। तर, के कारण समायो कसैलाई थाहै थिएन। बिना कुनै गल्ति सजाय भोग्नु परेको छ। बद्रीले प्रहरीलाई आफूहरुलाई सजाय दिइनुको कारण सोधे। ‘किन के कारण पिटाइ खाइयो भन्दा त्यो केटी लिएर आएकाले कुटाई खाइएको रहेछ,’ उनले सुनाए।

'राजनीतिप्रति वितृष्णा थियो। दुनियाँले पढेर प्रगती गर्‍यो। तैले ताईं न तुईंको राजनीति गरिस्।' घरमा सधैको गुनासो। घरको चित्त बुझाउनकै लागि भए पनि विदेश जाने मनशायले काठमाडौंमा डेरा गरेर बसेका थिए, उनी। त्यहीबेला केटी साथीले केटी साथी बिहे गरेको कसुरमा कुटाई खानु परिरहेको थियो।

‘धेरै कुटाईं खाएपछि अन्तिमा किन तपाईंले कुट्नु हुन्छ भनेर प्रश्न गर्दा। आइमाई भएर आइमाईं भगाउने ? संसारमै नभएको काम गर्ने तिमीहरु भन्ने जवाफ आयो,’ उनले अघि सुनाए, ‘हामीले कुटाईं खानु परेको कारण त यो पो रहेछ।’

‘त्यो बेला नेपाल अधिराज्यभर जम्मा ७ सय जना जति थियौं। ठुटे कपाल पारेको। जम्मै खेलाडी। मलाई एकदम डाउट भयो। राजनीतिले होला भनेको पिटाई खाने कारण यो पो रहेछ,’ बद्री भन्छन्।

त्यसकाे केही समयपछि विदेश गए। त्यहाँ पनि उही किसिमका मान्छेहरु भेट भयो। त्यहाँको परिवेश फरक पाए, बद्रीले। भन्छन्,‘त्यहाँ पुगेपछि उनीहरुको जिन्दगी यति बबाल राम्रो। त्यस्ता कपल कति–कति।’

विदेशमा त्यति धेरै कपल भएर हिँड्दा पनि राज्यले केही पनि गर्दैन। जर्मनमा, साउथ  अफ्रिका, ताइवान, बैंकक लगायतका धेरै देशमा पुगे। त्यहाँ झनै–झनै राम्रो व्यवस्था थियो।

‘त्यो सबै देखेर आएपछि जो जुनसुकै सँग बसोस्। यत्रो लामो जिन्दगी जिउनका लागि जो सित बसे पनि हुन्छ। किन कुट्न पर्‍यो भन्ने लाग्यो ?’ उनी अघि भन्छन्,‘भरे त यो इस्यु यति डरलाग्दो रहेछ। अहिले जिन्दगी यसैमा फालियो।’

महिलाको अंग लिएर जन्मेपछि किन पुरुषसँगै बिहे गर्नुपर्ने ? महिलासँग गर्न किन नहुने ?

कति जनालाई जर्बजस्ति बिहे गरिएको छ। जर्बजस्ति करणी गरिएको छ। बिहेपछि बच्चा पनि जन्मिए। बच्चा नहेर्ने। आफ्नै तरिकाले हिँड्ने पनि गरेका भेटिने गरेको उनले सुनाए। समाजमा यो पनि ठूलो समस्याको रुप हो भन्ने थाहा पाईसकेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा काम गरिरहेको ‘बुलडाइमन सोसाइटी’ नामक संस्थामा आबद्ध भए उनी। अनि, सुरु भयो समानताको लडाईं।

०००

नेपाल सरकारले नागरिकताको किसिम मै छुट्याएको छ। महिला, पुरुष अलवा तेस्रो लिंग भएकाहरुले समेत नागरिकता पाउने व्यवस्था छ। सोही व्यवस्था अनुरुप बद्रीले नागरिकता पाएका छन्।

‘मेरो त महिलाको नागरिकता थियो। जति गर्दा पनि नटरेपछि अधिकार लिनुपर्छ भनेर। २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दियो,’ नागरिकता देखाउँदै उनले सुनाए, ‘उनीहरुलाई परिचय दे। परिचय दे भनेको के हो भने उनीहरुलाई नागरिकता दे। ०६४, ०६५ पछि पहिचानको नागरिकता। पुरुष पनि होइन। महिला पनि होइन। तेस्रो नागरिकता पाउने भयो।’

आदेश त आयो। तर, परिपत्र जारी भएन। पछि विजयकुमार गच्छेदार गृहमन्त्री भएको बेलामा परिपत्र पनि जारी भयो। परिपत्र जारी नहुँदै कास्कीबाट विष्णु अधिकारीले ढिकुरपोखरी नौडाँडाबाट नागरिकता लिईसकेका थिए। बद्रीले म्याग्दीबाट। ०६७ मा नयाँ नागरिकता लिए। लिंगमा महिला भन्नेलाई खारेज गरेर तेस्रो नागरिकता लिए।

नागरिकता त लिए। तर, पासपोर्ट लिनँ पाएनन्। पासपोर्ट लिन नपाएपछि फेरि मुद्दा मामिला गर्नु पर्‍यो। त्यो लडाईं पनि जिते, उनले।

‘यो पहिचान छ। अहिले हामीलाई यो पहिचान अनुसारको नागरिकता त दियो। परिपत्र पनि आयो। पासपोर्ट पनि दियो,’ उनी अघि सुनाउछन्, ‘तर, पासपोर्ट दिए पनि सरकारले बाहिरी मुलुकसँग सर्कुलेट गर्नुपर्छ। हामी अहिले नेपालमा रोजगार भनेको गल्फ कन्ट्री र कोरिया जापानमा छ। जहाँ काम पाइन्छ। त्यहाँ हामीलाई एलाउड छैन।’

गल्फ कन्ट्रीमा अप्राकृतिक मैथुन गर्छ भनेर गलत नजिर बस्यो। त्यहाँ त अप्राकृतिक मैथुन गर्नेलाई फाँसी दिइन्छ। सबैले अप्राकृतिक मैथुन नगर्ने उनले सुनाए। तर, कोरिया जापान जस्ता मुलुकमा काम गर्न जान पनि मिलेन। अहिले त्यही लडाईंमा छन्, बद्री।

०००

बद्रीलाईं शिक्षक बनाउने आमाको धोको थियाे। तर, भई दियो अर्कै। ‘आमाले मास्र्टनी भएर आउनु भनेर पठाउनु भएको थियो। तर, फाइटर बनाएर निस्कियो। तर, मरेको छाला ठोक्ने भयो। हामी त गाउँमा मुखिया खानदानको थियौं,’ बद्रीले विगत सम्झिए।

परिवारमा काका पनि शिक्षक भएकाले शिक्षक भएपछि समाजमा रुपान्तरण हुन्छ भनेर आमाले शिक्षक बनाउन चाहेकी थिइन्, उनलाई। काठमाडौं आएपछि कि इज्जतिलो, कि पैसा कमाउने काम गर्न आमाले सम्झाई रहिन्। अनि, विदेश जाने निर्णय लिएर काठमाडौं आए।

सुरुआतमा जातीय लडाईंमा पनि अघि सरे, बद्री। त्यो लडाईं अहिले बिना सुत्रको लाग्छ रे, उनलाई। ‘बिना सुत्रको लडाईं अनर्थ हुँदो रहेछ। केही कुरामा गिल्टी फिल हुन्छ। सुत्र बिनाको लडाईं गरिएछ भन्ने लाग्छ,’ उनी अघि सुनाउँछन्।

ठूलो ब्रिफकेसमा पैसा हाल्ने र मैदानमा भाषण गर्ने मात्र सिपाही हुँदैन। बहुदल ल्याउने सिपाहीमध्येको आफू पनि एक भएको तर्क गर्छन्, बद्री।

बहुदल आएपछि जिन्दगीले अर्को मोड लियो। कोठामा एउटा केटीले अर्को केटी भगाएर ल्याएको भनेर कुटाईं खायो। पुलिसलाई सोध्दा संसारमै नभएको काम गरेको भनेर कुटेको उत्तर पाए। कसरी विकृति भयो भनेर प्रश्न राख्दा, कपालमा रातो डोरी लगाएर बिहे गरेर जाने बेलामा भाति–भाति गर्छस् ? भन्ने उत्तर पाएका थिए रे।

महिला भएर पुरुषसँग जानुपर्छ भन्ने कहाँ छ ?

हामी आफ्नो अधिकार बाँच्न नपाउने ?

बद्री प्रश्न गर्छन्। विश्वका विभिन्न सात राष्ट्र पुगेर आएका बद्री बुलडाइमण्ड सोसाइटी साथै मितेनी नेपालसँग जोडिए। त्यहाँ जोडिँदै अहिले नागरिकतासम्म पुगे।

आमाको शिक्षक बनाउने सपना पूरा गर्न त सकेनन्। अर्को आर्थिक सक्षम हुने चाहना पनि त्यत्तिकै थियो।

विदेश जान नपाउने। विदेश जान नपाउने भए पनि राजनीति त फेरि पुर्नताजकी गराउन पर्‍यो। पछि राजनीतिलाई पुर्नताजकी गराउन पोखरे बगर अन्नपूर्ण गाउँपालिका, म्याग्दी प्रमुख, उपप्रमुख जे भए पनि उठ्ने निर्णय लिए। तर, नागरिकतामा तेस्रो लिंग भएकै कारण उनलाई उम्मेद्वार उठ्न दिइएन्।

‘म पनि सक्षम व्यक्ति छु। म पनि राजनीतिक ब्याग्राउन्डबाट आएको। मेरो फ्याम्लीको पनि राजनीतिक ब्याग्राउण्ड छ भनेर जाँदा। मेरो नागरिकताको कारण उपप्रमुख प्रमुख जे भए पनि उठ्छुभन्दा त्यो  पनि उठ्न दिएन,’ भन्छन्,‘राज्यले दिएको नागरिकता छ मैले राजनीतिक रुपमा उम्मेदवार हुन किन नपाउने ?’

पछि, निर्वाचन आयाेग पुगे। त्यहाँबाट पार्टीमा पठाइयो। पार्टीमा राजनीति सिकाउने थममाया पुनले पार्टीलाई नै मुद्दा आउने भन्दै उम्मेदवारी नदिन सुझाव दिइन्। उनले  नै बुझेकी रहिन्छिन् नागरिकता किन दिइयो ?

‘मौलिक हकमा धारा १८, १२ हेर्नुस्। मेरो मौलिक हक प्रष्ट हुँदा हुँदै थममाया दिदी पनि अलि प्रष्ट हुनु भएन, सायद,’ बद्री भन्छन्,‘त्यहाँ मौलिक हक प्रष्ट हुुँदा हुँदै अधिकारबाट बञ्चित गराइएपछि सुप्रिम कोर्ट गएँ। मलाई राजनीतिक अधिकारबाट बञ्चित गराइयो भनेर भनि सकेपछि त्यहाँ राम्रो सँगै अध्ययनै नगरी मलाई हराइयो। त्यसको लडाईं अर्को बाँकी छ।’

मेरो राजनीतिक भविष्य खोई ?

पहिचानको भविष्य खोई ?

फ्याम्ली भविष्य खोई ?

मेरो आमाले देखेको सपना खोई ?

मेरो आफ्नो सपना खोई ?

यी सबै अधिकार राज्यले खोसेको छ। त्यसैले यो अभियानमा जोडतोडका साथ लागेको बद्री सुनाउँछन्।

अहिले राष्ट्रिय जनगणनामा आफ्नो समुदाय गणनामा नपर्नु मुख्य कमजोरी रहेको उनी बताउँछन्। अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छुट्टै जनगणना गरिरहेको छ। जनगणनमा परिणाम के आउछ ? त्यसैको पर्खाइमा छन् उनी।

‘राजनीतिक अधिकार मेरो नैसर्गिक अधिकार हो। संविधान धारालाई टेकेर म फेरि उम्मेद्वार बन्नेवाला छु,’ उनी भन्छन्।

समानुपातिक, प्रत्यक्ष अथवा तीन तहको सरकार जुनसुकै तहमा औचित्य खोज्दै छन्, बद्री। आफू असक्षम होइन। सक्षम रहेको प्रमाणीत गर्न आफैं जनता भएर लिडर भएर यहाँसम्म आएको उनको तर्क छ। अहिले बद्री राजनीतिमा भविष्य खोजिरहेका छन्।

बद्रीको नेतृत्वमा समावेशी मञ्च नेपाल नामक संस्था पनि स्थापना भएको छ। विगत १० वर्षदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक हितको क्षेत्रमा काम गरिरहेका बद्री आफ्नो संस्था मार्फत हरेक क्षेत्रमा काम गरिरहेको बताउँछन्।

आफूहरुको मानव अधिकारमाथि राज्यले ढोेका लगाएको बद्रीको तर्क छ। बुझ्नुपर्ने राज्यले नबुझेपछि समाजले त खिसीटिउरी गरिहाल्छ। त्यो हटाउनका लागि अहोरात्र खटिरहेको बद्री बताउँछन्।

‘अब म आउनुपर्छ। म आउछु। अब स्थानीय तहको चुनावमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक हितका लागि काम गछौं,’ उनले सुनाए।

प्रकाशित मिति: : 2022-01-10 11:40:00

प्रतिकृया दिनुहोस्