के कविले बाटो बिराएका हुन्? 

‘कविले बिराएको बाटो’ शिर्षकको बहस रोल्पामा भइरहेको सुनिल स्मृति साहित्य महोत्सवको प्रथम सेसन हो। 

यस सेसनमा कवि तथा गीतकार श्रवण मुकारुङ, पत्रकारिता र साहित्यलेखनमा सक्रिय हरिहर अधिकारीले कविले बिराएको बाटोबारे बोलेका थिए भने सहजकर्ताको भूमिकामा प्युठानका कवि घनश्याम अस्तित्व रहेका थिए।

चार दशक लामो साधना गरेका मुकारुङको 'अनाम योद्धा', 'शब्दको बयान', 'पुरानो मानिस' लगायत कविता चर्चित छन्। 'माथि माथि सैलुंगेमा', 'तिमी तारे भीर म त लहरा' पनि उनका परिचित गीत रचना हुन्। मुकारुङका अनुसार पछिल्ला कविताले 'सबाल्टर्न' अर्थात् पछाडि परेका, दुःखमा भएका र आवाजविहीनहरूको आवाज बन्ने काम गरेको छ। 

तीसको दशकदेखि पत्रकारिता र साहित्यलेखनमा सक्रिय श्यामलको पत्रकारिता भने ‘मातृभूमि’ पत्रिकाबाट सुरू भएको हो। करिब चार दशकबाट वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमद्वारा समग्र नेपाली समाजको रूपान्तर गर्ने अभियानमा सक्रिय श्यामलको प्रमुख विधा भने कविता र निबन्ध नै हो। 

सडक सबैभन्दा भरसिलो ठाउँ हो

कार्यक्रमका प्रमुख अतिथि नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्यले आफूले जनयुद्ध अगाडि शिक्षकको रुपमा रहेको बताएका थिए। 

महराको सोही टिप्पणीमा टेकेर कवि श्यामलले शिक्षकले आज पनि लुतो कन्याईरहनु परेको बताए। महरा शिक्षक हुँदा आफू पनि डोल्पामा शिक्षकको भूमिकामा रहेको श्यामलको उदघोष थियो।

शक्तिशाली कवि आफ्नो शक्ति देखाउन सडकमा किन जान्छ भन्ने अस्तित्वको प्रश्नमा बहसका अर्का वक्ता मुकारुङले भने, ‘लेखकको मात्रै होइन, नेताहरूको पनि र नेताहरूको मात्रै पनि होइन, जनताहरूको पनि शक्तिको पहिलो स्रोत भनेकै सडक हो। सडक भनेको माटो हो, धर्ति हो। जहाँ आफ्ना आवाजहरूलाई हामीले प्रस्तुत गर्न सक्छौं । शब्द भन्नका लागि सबैभन्दा भरसिलो ठाउँ भनेकै सडक हो।'

मुकारुङले शक्तिशाली कवि हुन् मात्रै नभएर शक्तिशाली नेता पनि सडकमा जानुपर्ने बताए। एउटा असल लेखक सडकदेखि धेरै टाढा हुँदै जाँदा उसको सीर्जनशिलता मार्दै जाने मुकारुङको टिप्पणी थियो। ‘तपाइँ जति उभो उभो जानुहुन्छ, उतिउति जमिन छोड्दै जानुहुन्छ’ उनले अटल विहारी वाजपेयीको कवितासमेत संस्मरण गरे।

रोल्पाका जनताले पाएको दु:खले रोल्पा उठेको हो 

रोल्पा जनताको स्वतन्त्रता एवं जनताले कम दुख पाउन भन्नका निमित्त लडाई लडिएको भूमि रहेको श्यामलले बताए। ‘रोल्पाली जनताले पाएको दु:खले रोल्पा उठेको हो', उनी अगाडि भन्छन्, ‘राणाले दिएको दु:खका कारण ०७ सालमा क्रान्ति उठेको हो। अब कुनै दलले दु:ख दिन्छ भने हामी कवि-कलाकार नै उठ्नेछौँ।'

मानिसको दिमागमा रोल्पा अझ टाढा रहेको र यसलाई नजिक ल्याउनको लागि यस्ता कार्यक्रमहरू हुनुपर्ने श्यामलको जिकिर थियो। उनले भने, ‘क्रान्ति एकैक्षणमा पैदा हुँदैन, त्यसका कार्यभारहरू बदलीदै जान्छन्। मानिस पनि एक्कासि बदलीदैन, विस्तारै बदलिन्छ। त्यसलाई बदल्ने काम कला-साहित्यले गर्दछ।'

आफूले २४ वर्ष पहिले हिडेको गोरेटो बाटो आज आफूले भेट्न नसकेको बताउँदै श्यामलले भने, ‘परिवर्तनका आयामहरू देखिएका छन्, क्रमिक सुरुवात भएको छ। कतिपय मामलामा रोल्पा दैलेख भन्दा अगाडि छ। रोल्पामा बाटो पुग्दा दैलेखमा बाटो पुगेको छैन।'

साहित्यकारहरूले मानिसिक रुपमा मानिसहरूलाई तयार गर्ने बताउँदै श्यामलले भने,  ‘विस्तारै विस्तारै मानिसहरू मुटु कमाउन छोड्छन्। मानव न अन्तरमुखी भएर सम्भव, न बहिर्मुखी भएर।' रोल्पाका लोकगीतहरू आफूले लेखिरहेका कविताहरूभद्ना शक्तिशाली रहेको उनको टिप्पणी थियो। यसको पुस्तान्तरण हुन् नसकेको दुखेसो पनि उनको रहेको छ।

के कविले बाटो बिराएका हुन् ? 

मुकारुङले कविता लेख्नु कठिन कर्म रहेको बताउँदै भने, ‘किसानले एउटा हलो बनाउदा जुन जर्नी रहन्छ, त्यो पीडा एक सिर्जनाकर्मीले पनि गर्दछ। राम्रो कविता लेखनको अभ्यास चाहिने र एकैचोटी राम्रो कविता लेख्न नसकिने मुकारुङले बताए। उनी अगाडि भन्छन्, ‘आज कुनै थिम आयो भने कविता लेख्ने हैसियामा म पुगेको छु। यो अभ्यासकै बलमा भएको हो।'

स्वतन्त्रताको उपभोग र अनुशासन कविसँग परस्पर जोडिएको मुकारुङको मत छ। उनले स्वतन्त्रताको उपयोग मात्रै गरेको खण्डमा कवि-लेखकले बाटो बिराउने बताए। यसैगरी, कविता लेखेर मैले आफ्नो कर्तय्व निवार्ह गरेको श्यामलले बताए। अर्काको दु:खमा आफूलाई एकाकार गर्दै आएको बताए। 

असल कविहरू समाजका वैरी हुन् नसक्ने बताउँदै श्यामले भने, ‘मैले अरूको दु:खलाई आफूमा एकाकार गराएर कविता लेख्दै आइरहेको छु। कविता लेख्नु मेरो रुची मात्रै नभएर सामाजिक भूमिका निभाउने प्रयास पनि हो।'

श्यामलले भूपी शेरचन र हरिभक्त कटुवाललाई ‘जाँड’ सँग बरोबर जोड्ने परिपाटीको विरुद्धमा बोल्दै भने, ‘भट्टीपसलमा जाने सबै कवि हुन् त उसो भए ?' आदत (सूर्ती, रक्सी) भन्दा पनि आचरण या विचारमा बाटो नबिराउनु चाहिँ कवि हुनु हो। व्यक्तिगत स्वतन्त्रताको प्रयोग गरेर रक्सी खाउन् तर सामाजिक दखल नपुर्याउन। ‘म रक्सी खाएर कसैलाई पिट्दिन। अपमान गर्दिन। पढ्छु, लेख्छु', उनी अगाडि भन्छन्, ‘अरूले जाँड खाएको हामी देख्दैनौं तर कविले खाएको देख्छौं। भनेसी कविप्रति समाजको संवेदनशील छ। उसलाई निगरानी गरिरहन्छ।' उनले कविमाथि समाजले आश गरिरहेको बताए।

कविहरू बाटो बिराउदै नबिराउने भन्ने नहुने श्यामलको मत छ । ‘कवि पनि मानिस हुन्, कहिलेकाही बाटो बिराउलान् तर सच्चिनु तयार पनि हुनुपर्दछ । तर, काठमाडौंमा बसेर जुम्लामा कविता लेख्नेहरूले चाहिँ बाटो बिराएकै हुन् । रोल्पा नआइकन रोल्पाबारे लेख्नेहरूले चाहिँ बाटो बिराएकै हुन्।' 

यसैबीच सहजकर्ता अस्तित्वले मुकारुङ कांग्रेसमा प्रवेश गरेको प्रसंग उप्काए। कुनै पनि पार्टीमा पस्नु, विचारधारा-दर्शनसँग (देखिने-नदेखिने) गरि आबद हुनु ‘च्वाइस’को कुरा रहेको मुकारुङको मत रह्यो।  

उनले अगाडि भने, ‘पार्टीमा एउटा लेखक पस्नु भनेको बाटो बिराउनु भनिहाल्न मिल्दैन होइन। कवि हुने कि नेता या दुवै हुने, व्यक्तिको च्वाइस र क्षमतासँग जोडिने कुरा रहेछ। विपी कोइरालाले बाटो बिराएका थिएनन्। कवि नेता बन्नु र नेता कवि बन्नु, दुवै बाटो बिराउनु होइन। मानिसदेखि मानिससम्म पुग्नको लागि बाटो बन्ने हो। कविले नेता बनेर त्यो बाटो बनाउँछ या नेताले कवि बनेर त्यो बाटो बनाउँछ उसले बाटो बिराउदैन।'

मुकारुङले कुनै पनि कविले कमजोर कविता लेख्नु चाहिँ बाटो बिराउनु रहेको बताए। यसैगरी, श्यामलले हाम्रा कवितामा ‘जनता सुस्केरा छैनन्’ भने हामीले बाटो बिराएका भन्न मिल्ने बताए। उनले छन्दमा कविता लेख्ने परम्परा छुट्दै जानुलाई कविले बिराएको बाटोको रुपमा व्याख्या गरे।

अँध्यारो पनि गाइएला नि त गीतहरू? 
हो, गाइनेछन्, गीतहरू अध्यारोमा, 
अध्यारोकै बारेमा
'

ब्रतोल्त ब्रेख्तको कविता याद गर्दै श्यामले भने, ‘कुनै पनि विचारसम्म कला पुग्नुको लागि सोझो बाटो मात्रै नभएर केही गम्भीर बाटो पनि हिड्नुपर्छ । यो सजिलो रहँदैन तर कविले त्यो आँट गर्नुपर्दछ।' 

कविता-लेखकहरू लामबद्ध किन भइरहेका छन् ? 

देशको अर्थ-सामाजिकस्वरूप बिग्र्दा कवि-लेखकहरू ‘लामबद्ध’ हुने अवस्था पुग्न बाध्य हुने मुकारुङको बुझाइ छ।  ‘कुन प्रतिभा कहाँ-कसरी संघर्ष गरिरहेको छ ? ती प्रतिभालाई सम्बोधन गर्न आफ्नो भूमिका के रहन्छ भन्नेबारे राज्यले सोचेको छैन। विदेशतिर कवि-लेखकको नाममा संग्राहलय निर्माण भएका छन्, टिकट काटेर भित्र छिर्नुपर्छ हाम्रा नेताहरू  कवि भनेको समेत बुझ्दैनन् भने कविता के बुझ्लान ? कविताको महत्व के रहन्छ कसरी बुझ्लान् ? 

मुकारुङले कला-साहित्यले व्यवसायको रूप लिन नसकेको समेत बताए। उनी अगाडि भन्छन्, ‘एउटा लेखकले लेखेर जीविकोपार्जन गर्न सक्ने वातावरण बनिसकको छैन। यस अवस्थामा गुजाराको लागि ऊ वैकल्पिक मार्ग खोज्न बाध्य हुन्छ। यहि बाध्यताले नि कवि लेखकहरू लाम लागिरहेका हुन् कि ?' 

उनले राष्टरको महत्वपूर्ण संस्थाहरू (भाषा-संस्कृति- साहित्य)का क्षेत्रहरूमा कवि-लेखकहरूले आफ्नो पनि हकदाबी छ भनेर लाग्नुलाई चाकडीको रुपमा बुझ्न नहुने बताए। ‘रोल्पाले पनि आफ्नो दक्षताअनुसार आफ्नो ठाउँ खोज्नपर्यो', उनले भने। 

कवि श्यामल पनि मुकारुङसँग सहमत देखिए। उनी भन्छन्, ‘जनता एवं कवि-लेखकहरू चिन्ने काम नेताहरूको हो। राज्यले हेर्ने कुरामा, राज्यले आफूलाई चाहिएको पात्र छान्न जान्नुपर्छ, यसमा बरोबर राज्य चुकिरहेको छ। कविले भन्दा नेताले बढी र नेता भन्दा बढी कार्यकर्ताहरूले बाटो बिराइरहेका छन्।'

प्रकाशित मिति: : 2022-01-08 19:29:00

प्रतिकृया दिनुहोस्