दुबई विमानस्थलमा नेपालीलाई आइफोन र सिक्री दिनेको लर्काे !

धादिङकी शान्ती राना मगर ७ वर्षे वैदेशिक रोजगारी समाप्त गरी गत सोमबार हिमालय एयरलाइन्सको ‘एच९ ५६६’ विमानबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकपोस्टको चेपुवामा परिन्।

जसको कारण थियो उनीसँग भएको सुनको सिक्री र महँगो आइफोन। भन्सारका कर्मचारीले उनी सिक्री र आइफोनको मालिक नभई भरिया मात्रै भएको पत्ता लगाउन कत्तिपनि समय लगाएनन्।

सोही विमानबाट आएका खोटाङका ज्ञानेन्द्र खाती र सर्लाहीका हरिबोल चाैलागाईं पनि भन्सार चेकपोस्टमा अड्किए। उनीहरुसंग पनि दुबई विमानस्थलमा अरुले बोक्न दिएको आइफोन र सिक्री थिए।

दुबै जनाको आइफोन र सिक्री भन्सार चेकपोस्टका कर्मचारीले नियन्त्रणमा लिई भर्पाई रसिद थमाइदिए। सामान बुझ्न विमानस्थलको प्रतिक्षालय बाहिर कुरेर बसेका ‘तस्करका एजेण्ट’ हरुलाई के जवाफ दिने भन्दै दुबै ना रित्तोहात विमानस्थलबाट बाहिरिए।

यसबाहेक उक्त दिन भिजिट भिजामा दुबई पुगेर फर्किएका अन्य दर्जनौं युवाहरुको साथबाट थुप्रै आइफोन र सुनको सिक्रीहरु भन्सार चेकजाँचमा खटिएका कर्मचारीले नियन्त्रणमा लिए।

तीमध्ये कैयौंले आफ्नो सामान नभएको बताइरहेका थिए भने केहीले आफ्नै प्रयोगका लागि ल्याएको जिकिर गरिरहेका देखिन्थे। तर भन्सार कर्मचारीले ती सबै यात्रुलाई ७ दिनभित्र कर तिरेर सामान बुझिलिने व्यहोराको भर्पाई रसिद थमाइदिए।

कानुनले दिएको सुविधा दुरुपयोग गर्दै सुन आयात अत्यधिक हुन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले झिटीगुण्टा सम्बन्धी ऐनले तोकेभन्दा बढी परिणामको सुन, मोबाइललगायतका सामानहरु ल्याउनेहरुलाई कडाईका साथ कर लिन थालेपछि सुन तस्करी र कर छलिमा संलग्न व्यक्तिहरुले फरकफरक तरिका अपनाउन थालेका छन्।

तस्करीमा संलग्नहरुले विगतमा सुन तन्काएर बाला जस्तो आकृति बनाई नेपाल फर्कने यात्रुहरुलाई बोकाउने गरेका थिए। अहिले भने त्यसको स्वरुप फेरिएको छ। हिजोआज सुन तस्करीमा संलग्नहरु युएईका विभिन्न विमानस्थल छेउछाउ भेटिने गरेका छन्।

विशेषगरी दुबई र अबुधाबी विमानस्थलमा सुनको सिक्री, औंठी र आइफोनको भरिया खोज्ने सुन तस्करका एजेण्टहरुको लाइन लाग्न थालेको छ।

दुबईमा ट्राभल्स, रेष्टुरेन्ट सञ्चालन गर्नेहरुदेखि लिएर नेपालका विभिन्न राजनीतिक दल निकट प्रवास संगठनमा आवद्धहरुले विमानस्थलमा भरिया खोज्न तलबी एजेण्ट नै राखेका छन्। विभिन्न जिल्लागत नेपाली संघसंस्थाहरुमा आवद्ध व्यक्तिहरु समेत यस्तो कार्यमा संलग्न रहेका छन्।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अबुधाबीबाट यात्रु ओसार्न संचालन गर्दै आएको निशुल्क सटल बसको ढोकासम्मै पुग्ने गरेका छन् सुन तस्करका एजेण्टहरु। उनीहरुले बसभित्रै पसेर यात्रुहरुसंग आइफोन र सिक्री लगिदिन भाडामा बार्गेनिङ गर्ने गरेका छन्।

सामान लगिदिए बापत यात्रुले नेपाली १५ हजारदेखि २० हजार रुपैयाँसम्म भाडा पाउँछन्। एजेण्टले यात्रुको सम्पूर्ण विवरण लिएपछि मात्रै सामान र भाडा दिने गरेका छन्।

पछिल्लो समयमा युएईमा भिजिट भिजामा आएर अलपत्र पर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ। यसको समेत सुन तस्करहरुले फाइदा उठाइरहेका छन्।

तस्करहरुले कैयौंलाई हिमालय एयरलाइन्स र एयर अरेबियाको सस्तो टिकट काटिदिएर सुन र आइफोन पठाउने गरेका छन्। तस्करीमा संलग्नहरुले समेत त्यसरी समस्यामा परेका नेपालीहरु खोज्ने गरेका छन्।

प्रकाशित मिति: : 2022-01-06 19:08:00

प्रतिकृया दिनुहोस्