कजना पण्डित थिए, वाचनकला राम्रो भएकाले तीन गाउँसम्म उनको ख्याति थियो। उनको स्टाइल फरक थियो। पुराण सप्ताह जे भए पनि जजमानको घरमा भोजन गर्दैन थिए। पण्डितप्रति धेरैको बुझाई थियो– श्रीमतिबाहेक अरुले छोएको खान्नन्। सोही कारण उनको मान अरुको भन्दा फरक थियो।
हिउँदका दिन पण्डितको दैनिकी प्रायः पुराण भनेर बित्थ्यो। एकदिन श्रीमती पनि घरमा काम भ्याएर श्रीमानको पुराण सुन्न गइन्। श्रीमानको प्रवचन सुनेपछि मात्रै उनले आँखा खुलेको महसुस् गरिन्। प्रवचनको क्रममा पण्डितले भनेका थिए ‘ब्राम्हणको कुलमा जन्मेपछि माछा मासु खान त के हेर्न पनि हुन्न।’
श्रीमान्को प्रवचन सुनेपछि श्रीमती लाग्यो ‘मैले त यस्ता महान पण्डितलाई दिनदिनै माछा मासु खुवाएर ठूलो अपराध पो गरेको रहेछु। श्रीमानप्रति कृतज्ञ पनि भइन्। ‘यस्ती पापीनी श्रीमतीलाई पनि असाध्यै माया गर्नु हुन्छ मेरो श्रीमान कति महान्।’ मनमनै मख्ख परिन्।