दाङमा हिउँदे वर्षाले करोडौं मूल्यको काँचो ईटामा क्षेति पुर्याएको छ। मंगलबार र बुधबार परेको वर्षाले जिल्लाका ४२ वटा ईटा उद्योगमा भट्टीमा पोल्न तयार पारिएको काँचो इटामा क्षति पुर्याएको हो।
करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो ईटा हिउँदे वर्षाले नष्ट गरेपछि ईटा भट्टा संचालकहरु आर्थिक मारमा परेका छन्।
‘दुई दिन भएको वर्षाले तयार गरिएको काँचो ईटा मध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी ईटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले भने, ‘भट्टीमा पोल्नका लागि तयार पारिएको करीव सवा २ करोड काँचो इँटा तयारी गरिएकोमा करोड बढी ईटामा क्षति भएको छ।
अध्यक्ष वलीका अनुसार जिल्लामा पोल्नका लागि तयार पारिएको १ करोड ८० लाख काँचो ईटा काम नलाग्ने गरी क्षति भएपछि ७ करोड २० लाख रुपैयाँ प्रत्यक्ष घाटा लागेको छ। एउटा काँचो ईट्टा तयार गर्न चार रुपैयाँ खर्च लाग्ने गरेको उनले बताए। बैंकबाट ऋण लिएर तयार गरिएको करोडौँको इटा नष्ट हुँदा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको वलीको भनाई छ।
यति ठूलो रकम बराबरको ईटा उठाउनै नमिल्ने गरि क्षति भएको उनले बताए। गत वर्ष पनि हिउँदे वर्षाका कारण ठूलो मात्रामा ईटा क्षति भएको थियो। ईटाको क्षतिपूर्ति राज्यले नदिने भएप्छि व्यवसायीहरुले आर्थिक भारलाई समायोजन गर्न केही प्रतिशत भएपनि तयारी ईटाको मूल्य बढाउने तयारी गरेका छन्।
‘चिम्निमा पोल्न तयारी अवस्थामा राखिएको करोडौं ईटा पानी परेर नष्ट भयो, अध्यक्ष वलीले भने, ‘यसले जिल्लामा ईटाको बिक्रि मूल्यमा असर गर्ने निश्चित छ, केही प्रतिशत भएपनि मूल्य बढाएर घाटापूर्ति गर्नेछौँ, तर यसले सबै क्षतिलाई व्यहोर्न सक्ने अवस्था रहन्न।’
उनले सरकारलाई कर तिरेर, आन्तरिक रोजगारी सिर्जना गरेर, विकास निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थका रुपमा रहेको ईटा उत्पादनमा खटिएका ईटा व्यवसायीहरु जहिले पनि मारमा पर्ने गरेको दुखेसो पोखे। सरकारले काँचो ईटाको बीमा नगरि दिँदा आफुहरु वर्षादको विपत्तिमा पर्नुपर्ने अवस्था रहेको बताउँदै उनले ईटा व्यवसायीहरुको लगानीको सुरक्षामा राहत दिने विषयमा सरकारले सोँच्नुपर्ने धारणा राखे।
दाङमा हाल ४२ वटा ईटा उद्योग छन्। जसमा तुलसीपुर क्षेत्रमा १५ वटा, घोराही क्षेत्रमा १५ वटा र देउखुरी क्षेत्रमा १२ वटा ईटा उद्योग रहेको छ। आजभोली ईटा उत्पादनको सिजन चलेकाले हरेक ईटा उद्योगमा दैनिक लाखौँ ईटा उत्पादन हुने गरेको छ। एक ईटा उद्योगमा करीव २ सय भन्दा बढी कामदारले ईटा उत्पादन गर्दै आएका छन्।