सन्दर्भ : मेलमिलाप दिवस, के थियो विराटनगरको खोर्सानी काण्ड?

पहिलोपोष्ट

काठमाडौँ

राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइराला २०३३ पुस १६ मा नेपाल भित्रनु भयो। बीपीको निधन २०३९ सालमा भयो। हामी अहिले पनि उत्तिकै श्रद्धा, निष्ठा र उत्साहका साथ मेलमिलाप दिवस मनाउँदैछौँ। तर मेलमिलाप दिवसका सन्दर्भको आजभन्दा ३८ वर्षअघि अर्थात् २०४१ पुस १४ गतेको घटना सम्झँदा म अहिले पनि आत्तिन्छु। भयभीत हुन्छु र धेरै बेर टोह्लाउँछु। त्यो घटना, पञ्चायती कालरात्रिको अत्यन्त क्रूर, बर्बर, अमानवीय र पाशविक उदाहरण थियो। तानाशाही निरङ्कुश व्यवस्थाले गर्ने दमन र दिने यातनाको सबैभन्दा तल्लो स्तरको घटना थियो त्यो। त्यस घटनामा मलगायत हामी ४ जनाको मलद्वारमा १ घण्टा निरन्तर खोर्सानी कोचिएको थियो। दुःख लाग्छ, त्यस घटनाका ४ पीडितमध्ये ३ को दुःखद निधन भइसकेको छ। यति बेला ममात्र त्यस घटनाको जिउँदो साक्षी बाँकी छु। प्रजातन्त्रको पुनःस्थापनाका क्रममा मैले धेरै पटक धेरै यातना पाएँ, २०६० सालमा त मलाई प्रहरीले गोली नै हान्यो। भाग्यले गोली लागेन। म मोटर साइकलमा थिएँ र भागेर बाँच्न सफल भएँ। तर खोर्सानी काण्डले मलाई अहिले पनि उद्वेलित बनाइरहन्छ।

त्यस बेला नेपाली कांग्रेस मोरङका सभापति बद्रीनारायण बस्नेत र सचिव अशोक कोइराला हुनुहुन्थ्यो। सभापति बस्नेतले हामीलाई पार्टीका जिल्ला सचिव अशोक दाइका नेतृत्वमा मेलमिलाप दिवसको पोस्टर टाँस्न पठाउनु भयो। म नेविसङ्घ मोरङको सभापति थिएँ।

हामीले विराटनगरको बीच बजार काली मन्दिरको छेउबाट पोस्टर टाँस्न सुरु गर्यौँ। समूहमा हामी ४०–४५ जना थियौँ होला। त्यतिबेला एउटा काममा ४० जना जुट्दा पनि गर्वको विषय हुन्थ्यो। कार्यक्रम पूर्ण सफल भएको अनुभूति हुन्थ्यो। कति पटक त हामीले ८–१० जनाको जुलुस पनि निकालेका छौँ। तर हिजोआजको ५० हजारको भेला र जुलुसभन्दा पनि त्यो ४० जनाको समूह सशक्त र प्रभावकारी थियोजस्तो लाग्छ। आखिर परिवर्तनकारी शक्ति त त्यही थियो।

प्रकाशित मिति: : 2021-12-31 10:27:00

प्रतिकृया दिनुहोस्