नाम सोध्दा सहजै गौरसिंह भनेका उनी त्यसपछि एकछिन अड्किए, अनि अलि दबेको स्वरमा भने, ‘सार्की हो।’ शुक्लाफाँटा नगरपालिका– ४ आसापुरका सार्कीले भैँसीको ध्यू बिक्रीका लागि बजार घुम्दै हिँडेपनि बिक्री गर्न सकेनन्। त्यसको कारण एउटै हो, उनको जात।
“म सार्की हुँ भन्ने थाहा पाएका कतिपय मानिसहरु आउँदै–आउँदैनन्, कति आएपनि खरिद नगरी फर्कन्छन्”, थर लुकाउनुको व्यथाबारे गौरसिंहले सुनाए, “त्यसैले सकेसम्म मेरो जात भन्दिनँ। व्यापार भएन भने मैले कसरी परिवार पाल्नु ?”राम्रोसँग तताएको भैँसीको शुद्ध दुई किलो ध्यू बेच्नका लागि झलारी बजारमा निकै घुमे तर दलित भएका कारण बिक्री गर्न सकिएन, उनले बताए। “होटेल, पसल, डेरीमा लगे पनि बिक्री भएन”, उनले भने, “सबै जनाले ध्यू चाहिदैन भनेर फर्काए।” झलारी बजारमा सबैले दलित समुदायको व्यक्ति भनेर चिनेका हुदा खरिद नगरेको बताउछन् उनी। “नचिनेको बजार महेन्द्रनगर पु¥याएर ध्यू बिक्री गरेको छु।”,उनले भने।
डेरी सञ्चालक भने सबै समुदायको विभेद्रहित तरिकाले दूध राख्दै बताउछन्। “दलित भएकै आधारमा दुग्धजन्य पदार्थ खरिद नगरिएको होइन। खपतनै कम भएपछि कसरी राख्ने डेरी सञ्चालकले भने।”
“भैँसीको दूध बिक्रीका लागि बजारमा लगेपनि कसैले खरिद गर्दैनन्”, पदम दमाइँले भने। “डेरी सञ्चालकले समेत व्यक्ति हेरेर दूध खरिद गर्ने गरेका छन्। दलित समुदायका व्यक्तिले दूध बिक्रीका लागि ल्याए खपत कम छ। चाहिदैन भन्छन्। दलित समुदाय बाहेकका व्यक्तिले दूध ल्याए सहज रुपमा राख्ने गरिन्छ।दलित समुदायलाई समाजमा हेर्ने दृष्टीकोणमा फरक नआउँदा अझै थिचोमिचो सहनु परेको छ,“ उनको भने।
“दलित समुदायले पालेका गाईभैँसी खरिद गरेर कथित उपल्लो जातका व्यक्तिले लगेमा त्यसकै दूध दुहेर खान्छन्। तर दुहेर दूध बजारमा बिक्री गर्न लगे बिक्री हुदैन”, उनले बताए । “दलित समुदाय शिक्षामा अगाडि नहुदाँ र आर्थिक रुपमा सम्पन्न नहुँदाको परिणाम भोग्दै आएका छौं।” गलत कुरीतिका कारण गरिबलाई गुजारा चलाउन समेत मुस्किल रहेको उनले दुःखेसो पेखे। “समाजले अझै समान व्यवहार गर्दैन, खोइ के भनुम्”, पदम दमाइँ बोल्दाबोल्दै रोकिए।
समाज परिवर्तन भयो भनियो तर दलित भएकै कारण गौरसिंहहरूले भोगेका अथाह पीडाले कहिल्यै राज्य सञ्चालक गर्नेहरूलाई छोएन, न मर्दापर्दा काम लाग्ने भनिएका छिमेकीले नै कहिल्यै सम्मानको अनुभूति र आभास दिलाए।
कथित तल्लो जात भएकै कारण गौरसिंहहरूले भोगेका पीडाहरू बाहिर आउँदैनन्, आए पनि सबैलाई सामान्य लाग्न थालेको छ। उनले भने, “म आफू कसैलाई भेदभाव गर्दिनँ, अरूले गर्छन् भने केही छैन।” अहिले पनि लगभग त्यस्तै छ, नयाँ पुस्ताले त खासै भेदभाव गर्दैनन्, पुराना मान्छेहरूको सोच र व्यवहार फेरिएको छैन,पदम दमाइँले भने।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन २०६८ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाती, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा छुवाछुत गर्न पाइदैन। यस्तो भेद्भावजन्य कार्य गरे कानुन बमोजिम दण्डनीय हुने व्यवस्था छ।
जातीय रुपमा छुवाछुत गर्नेलाई रु २५ हजारदेखि रु एक लाखसम्म जरिवाना र एक महिनासम्म कैदको व्यवस्था समेत गरेको छ। राष्ट्रिय हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दलित समुदायले उत्पादन गरेको दूध बजारमा बिक्री नहुनु मानव अधिकारको चरम उल्लङ्घन भएको बताए।
“मानव भएर मर्यादित रुपम बाच्न आवश्यकपर्ने सबै प्रकारका अधिकारको ग्यारेण्टी हुनुपर्छ”, उनले भने।
“कानुन बनाएर मात्रै हुँदैन। कार्यान्वयन गरिनुपर्छ। पेशा व्यवसायलाई मर्यादित रुपमा गर्न नपाउँदासम्म मानव अधिकारको प्रत्याभूत हुनसक्दैन।” जीवनको निम्त नभइ नहुने गाँस, बास, कपास र विकासको निम्त नभइ नहुने शिक्षा, स्वास्थ्य र रोजगार संरक्षणका लागि नभइ नहुने शान्ति सुरक्षा र समानता नै मानव अधिकार भएको उनको भने। दलित समुदायमाथि पेशा व्यवसाय अपनाएकै आधारमा हुने विभेद्, दलित समुदायका बालिबालिकाले उच्च शिक्षाका लागि सहरमा पढन जाँदा दलित भएकै कारण डेरा नपाउने समस्यासमेत मानव अधिकारको उल्लङ्घन भएको उनको भने।
“संविधानले दलित समुदायलाई सम्मानजनक रुपमा समाजमा बस्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ”, उनले बताए। “यसलाई कार्यान्वयन गर्नुपर्ने आजको चुनौती छ। रुढीवादी समाजका कारण दलित समुदाय वर्षौदेखि अधिकारबाट वञ्चित भएका छन्।
अब यसप्रति सबै सचेत हुनुपर्छ।” नेपाल छुवाछूतमुक्त घोषणा भएको, संविधानको प्रस्तावनामै जातीय भेदभाव गर्न नपाइने उल्लेख गरिएको, जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ आएको पदम दमाइँलाई थाहा छ। सँगै के पनि थाहा छ भने कानुन त बनाइयो तर त्यसको प्रभावकारी कार्यान्वयनमा राज्यले चासो देखाएन, दलितमाथि अन्याय भइरह्यो, दोषीले छुटकारा पाइरहे। तपाईं त यसवारे जानकार हुनुहुन्छ । छुवाछूत कसरी अन्त्य होला रु भन्ने प्रश्न गर्दा पदमले भने “मानिसले मानिसलाई प्रेम गर्न सिकाउनुपर्छ, भेदभाव आफैं हराएर जान्छ।