कांग्रेस नेताहरूलाई लक्षित गरी घरमा आगजनी

नेपाली कांग्रेस रोल्पाका उपसभापति हरि पुन र सचिव शेरबहादुर थापालाई लक्षित गरी गए राति मोटरसाइकल र घरमा आगजनी भएकाे छ। 

पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रमको शिलशिलामा सोमबार गंगादेव गाउँपालिका– ५ पुगेका उपसभापति र सचिवले खाना खाएर सवार मोटरसाइकल पार्किङ गरेको स्थानीय नदु डाँगीको घरमा अज्ञात समूहले आगजनी गरेको हो।

आगजनीबाट रा ५ प ९५२१ नम्बरको मोटरसाइकल र घरमा क्षति पुगेको छ। संयोगले पुन र थापा भने डाँगीकै अर्को घरमा सुतेका थिए। ‘हामी खाना खाएर उहाँकै अर्काे नजिकैको घरमा सुतेका थियौं,’ सचिव थापाले भने,‘खाना खाएकै घरमा सुतीरहेका छन् भन्ने अनुमानले आगजनी गरिएको रहेछ।’

राती पौने १० बजे मोटरसाइकलमा आगलागी भए लगत्तै स्थानीय सबैको सक्रियतामा घरमा थप क्षति हुनबाट बचाएका थिए। राती नै इलाका प्रहरी चौकी घर्तीगाउँ र स्थानीय प्रहरी चौकीमा खबर भएको थियो।

घटना स्थलमा इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक सुधीर खड्काको नेतृत्वमा टोली घटना स्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन्। साथै घटनाको अनुसन्धान भइरहेको पनि डिएसपी घिमिरेले बताएका छन्।

यसैबीच नेपाली कांग्रसका नेताहरुले दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन्। केही व्यक्तिहरु दिउँसैदेखि सो क्षेत्रमा संकास्पद तरिकाले हिँडिरहेको भएकाले उनीहरुले नै उक्त घटनामा संलग्न हुन सक्ने भन्दै उक्त व्यक्तिहरुलाई तत्काल पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि उपसभापति पुन र थापाले प्रहरीसँग माग गरेका छन्।

प्रकाशित मिति: : 2021-12-28 09:13:00

प्रतिकृया दिनुहोस्