सरकारी नियुक्ति खाएर पार्टीको काम

प्रदेश २ सरकारबाट सरकारी नियुक्ति पाएका कर्मचारी तथा विभिन्न आयोगका सदस्यहरू पार्टीको काममा लाग्ने गरेका छन्।

हिमाल खबर

काठमाडौँ

प्रदेश २ को नीति आयोगका उपाध्यक्ष प्रदेश सरकारको कार्यशैली र वित्तीय अनुशासनको विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएपछि प्रदेश २ सरकारले डा. हरिवंश झा सहित सबै सदस्यलाई नीति आयोगबाट पदमुक्त गर्‍यो। त्यसपछि नीति आयोगको सदस्य नियुक्त भएकी प्रमिला सिंह भने जनता समाजवादी पार्टी (जसपा) को कार्यक्रममा सहभागी हुँदै आएकी छन्। उनी जसपाकै कोटाबाट आयोगको सदस्य नियुक्त भएकी हुन्।

नीति आयोगको सदस्य भएपछि पनि उनी जसपाको कार्यक्रममा सहभागी हुन थालेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरीद प्रकरणमा मुख्यमन्त्रीको कार्यालयमा छापा हानेपछि जसपाले विरोध प्रदर्शन गरेको थियो। त्यो प्रदर्शनमा पनि उनी सहभागी भइन्।

राजनीतिक नियुक्ति भएकाले पार्टीको काममा जाने गरेको उनको प्रतिक्रिया छ। नीति आयोगको निर्देशिकामा कतै पनि पार्टीको कार्यक्रम जानु वा भाग लिनु हुँदैन भन्ने नभएको सिंहको भनाइ छ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक जितेन्द्र यादव अहिले मुख्यमन्त्री लालबाबु राउतको प्रमुख स्वकीय सचिव छन्। जसपा निकट बुद्धिजीवी सङ्गठनका केन्द्रीय उपाध्यक्ष समेत रहेका सरकारीभन्दा पार्टीको काम र सङ्गठन विस्तारमा लागेका देखिन्छन्।

उनको दरबन्दी पूर्वाञ्चल विश्वविद्यालयमै छ। विश्वविद्यालयका उपनियन्त्रक युवराज धितालले यादव विश्वविद्यालयको उपप्रध्यापक पदमा कार्यरत रहेको बताए। 'उहाँ अहिले काजसरुवा गराएर मुख्यमन्त्री सचिवालयमा जानुभएको छ,' धितालले भने।
 

प्रकाशित मिति: : 2021-12-27 14:35:00

प्रतिकृया दिनुहोस्