'हामीले न्याय लेख्न सिकी सक्यौँ सरकार, तपाईंले न्याय कहिले लेख्नुहुन्छ' [भिडियाे]

निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रूबी खानसहित १६ जना महिला अधिकारकर्मीहरू माइतीघरमा मंसिर ९ गतेदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्।

कुर्मी हत्याका दोषीलाई उन्मुक्ति दिइएको र घटनामा कांग्रेसनिकट एक नेताकाे हात रहेको उनीहरूको आरोप छ। उक्त घटनाको छानवीन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्नुपर्ने माग गर्दैआएका छन्।

उनीहरूले गरिरहेकाे याे दाेस्रो चरणको आन्दोलन हो। साेमबारसम्म आन्दोलनले ३३ दिन टेकिसकेकाे छ।

तर, न्यायका लागि एक महिनादेखि धर्ना बसेका उनीहरूको संघर्षबारे राजनीतिक दलका महिला संगठनहरू मौन छन्। धर्नामा रहेकी अधिकारकर्मी रूबी खानले भनिन्, ‘आश्वासन मात्र आयो, समाधान आएन।’

उनीहरूले राजनीतिक दलका महिला संगठनहरूबाटसमेत सहयोग नपाएको दुखेकाे गरे। दलका महिला संगठनहरूले यस्ता मुद्दालाई राजनीतिक आँखाले हेर्ने गरेको खानको भनाइ छ।

महिला अधिकारकर्मी बाँकेकी रूबी खानले सुरूदेखि नै नेतृत्व गर्दैआएकी छिन्। न्यायका लागि लड्दैआएको यो समूहले अहिलेसम्म धेरै अन्याय खेप्नुपरेको र सरकारको उदासीनले झन् पीडा थपिएको उनीहरू बताउँछन्।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्त बुझ्दो अनुसन्धान आन्दोलनकारीको आरोप छ। विगत एक महिनादेखि आन्दोलन गरिरहेका अधिकारकर्मी खानको नेतृत्वमा १६ जनाको टोली निरन्तर दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म माइतीघर मण्डलामा न्यायको आशामा छन्।

उनीहरूको आन्दोलनमा नागरिक समाज, अधिकारकर्मी र सामाजिक अभियन्ताहरूले ऐक्यबद्धता जनाउदैआएका छन् तर अहिलेसम्म सम्बन्धित पक्षले कुनै पनि सुनुवाई नगरेको खानाले बताइन्।

खानसहितको टोलीले मानवअधिकार आयोगसमक्ष गुहार मागिसकेको छ। आयोगले पनि आश्वासन दिएको भएपनि सरकार नै बेखबर जस्तो गरि गैरजिम्मेवार देखिएकाले पीडितमाथि झन् पीडा थपिएको महसुस भएको आन्दोलनकी अगुवा खानले बताइन्।

आन्दोलनकारीका मागहरू–

१. राष्ट्रिय छानबिन समितिले गृहमन्त्री ज्यूलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्।

२. निर्मला कुर्मीको सम्पत्ति छानबिनका लागि सी.आई.बी‍.सहित विज्ञ टोली बनाई तत्काल निर्मला कुर्मी को सम्पत्ति छानबिनका लागि पठाइयोस।

३. निर्मला कुर्मी हत्याको पुन निष्पक्ष अनुसन्धान छिटो छरितो रूपमा गरियोस्।

४. मुख्य अभियुक्तलाई अहिले सम्म संरक्षण गर्ने बाँकेका एस.पी श्याम कृष्ण अधिकारी तथा डी एस पी मधु सुदन न्यौपानेलाई तत्काल विभागीय कारबाही गरियोस्।

बिएल नेपाली सेवासँग कुरा गर्दै खानले भनिन्, 'बिहान १० बजेबाट हामीले अनिश्चितकालीन आन्दोलनको घोषणा गरी धर्नामा बसेका छौँ। अहिलेसम्म सरकार मौन छ। हामीलाई अन्य अधिकारकर्मी साथीहरूबाट पनि हौसलाको उर्जा मिलेको छ। जबसम्म न्याय मिल्दैन, तबसम्म निरन्तर हामी यही छौँ।'

एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक कर्तव्य ज्यान मुद्दामा सत्यतथ्य छानवीनका लागि सरकारले पठाएको समितिले ०७८ कार्तिक १४ गृहमन्त्री समक्ष प्रतिवेदन बुझाइसकेको छ तर प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएकाे छैन।

प्रतिवेदन कार्यान्वयनका लागि गत कार्तिक २६ देखि दोस्रो चरणको आन्दोलन स्वरूप दैनिक एकघण्टा जिल्ला प्रशासनअघि धर्ना कार्यक्रम गर्दैआएको थियो।

पीडितले आठजनाको किटानी जाहेरी दिएकोमा सातजना आरोपित पक्राउ परे पनि एक जना मुख्य अभियुक्त पूर्वसांसद बादशाह कुर्मीलाई पक्राउ नपरेको भन्दै परिवारसहित महिला अधिकारकर्मी न्यायको लागि निरन्तर आन्दोलनरत छन्।

प्रकाशित मिति: : 2021-12-27 18:25:00

प्रतिकृया दिनुहोस्